बेसीशहर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङ जिल्लाबाट १० जना महाधिवेशन प्रतिनिधिहरू छनोटका लागि आजका लागि तय भएको मतदान जारी छ । मतदान कार्यको समय आज मंसिर १४ गते अपराह्न ४ बजेसम्मका लागि निर्धारण गरिएको छ ।
महाधिवेशन प्रतिनिधि १० जना छनोट हुनेमा खुलातर्फबाट ४ जना, महिलातर्फ ३ जना, दलिततर्फ २ जना र युवा क्लस्टरबाट १ जना प्रतिनिधि चयन हुने प्रावधान अनुसार सबै क्लष्टरका लागि मतदान चलिरहेको छ । महाधिवेशन प्रतिनिधिका लागि लमजुङमा कोटाभन्दा धेरै आकांक्षीहरू भएपछि मतदान हुने स्थिति उत्पन्न भएको हो । एमालेले देशैभर एकै तिथि मितिमा महाधिवेशन प्रतिनिधिहरू चयनको काम मंसिर १० गते सुरु गरेको थियो ।
एमालेको लमजुङमा कुल संगठित सदस्य संख्या पाँच हजार ४७३ जना रहेको छ । तीमध्ये दलितको संख्या ७५८ जना रहेका छन् । दलितका हकमा छुट्टै प्रावधान बनाई खुलातर्फ दलितले भोट दिन नपाउने र दलितलाई खुलाले भोट दिन नपाउने प्रावधान रहेको एमालेका जिल्ला सदस्य एवम् कार्यालय सचिव सरोज विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार यदि कोही दलित खुलातर्फ जान चाहेमा जान सक्ने र त्यसको म्याद मंसिर ६ गतेसम्म रहेको थियो । उहाँले भन्नुभयो, ‘त्यसरी एकजना दलित खुलातर्फ जानु भएको छ ।’
लमजुङबाट खुल्ला तर्फ ४ जनाका लागि १८ जनाको दावी परेको छ । नमिा सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी, राजकुमार विष्ट, प्रेमबहादुर घले, ईश्वर पौडेल, गोविन्द बस्नेत, सिंहवहादुर थापा, भीमवहादुर गुरुङ, अर्जुन गुरुङ, वुद्धीबहादुर खडका, रञ्जित कुमाल, मोहनहरी पौडेल, लोकराज पाण्डे, आलोक गुरुङ, अञ्जनकुमार हिमाली, जितबहादुर गुरुङ र जनकराज मिश्र हुनुुहुन्छ ।
महिला क्षेत्रतर्फबाट निर्वाचित हुने जनामा ८ जना प्रत्यासीहरू हुनुहुन्छ । उहाँमा यशोदा रिमाल, विष्णुमाया राना, बुनाकुमारी रिमाल, कल्पना थापा बोहरा, लक्ष्मीदेवी अधिकारी, भवानी के.सी., पदमा गुरुङ र पवित्रा थापा राना हुनुहुन्छ ।
यसैगरी, युवा क्षेत्रतर्फ एक जना प्रतिनिधि चयन हुनेमा जुनवहादुर तामाङ, राजेन्द्र अधिकारी र प्रेम(रोशन) तामाङ प्रत्यासी हुनुहुन्छ भने दलिततर्फ २ जना छनौट हुनु पर्नेमा प्रत्यासी संख्या तीन रहेको छ । जसमा नन्दराम विक, विवश बुढाथोकी र हिरालाल विश्वकर्मा रहनु भएको छ ।
कुल १० जना महाधिवेशन प्रतिनिधि चयन हुनेमा ४० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । जसमा खुल्लातर्फ २१ जना, महिलातर्फ १० जना, दलितमा ५ जना र युवातर्फ ४ जना आकांक्षीहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । हिजो साँझसम्म रहेको मनोनयन फिर्ता गरी उल्लेखित संख्याका प्रत्यासी अन्तिममा रहनु भएको हो । महाधिवेशन प्रतिनिधिका लागि एमालेमा जिल्ला अध्यक्षले समेत निर्वाचित भएर जानु पर्ने प्रावधान रहेको हुँदा जिल्ला अध्यक्ष राजकुमार विष्टसमेत महाधिवेशन प्रतिनिधिको प्रत्यासी हुनुहुन्छ ।
आज निर्वाचित हुने १० जना महाधिवेशन प्रतिनिधि बाहेक एमाले लमजुङबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य एवम् अनेमानसंघका केन्द्रीय अध्यक्ष टुका हमाल, एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले, डा. भिष्म अधिकारी, कल्पना थापा, केन्द्रीय अनुसासन समितिका सदस्य मायानाथ अधिकारी समेत छ जना स्वतः महाधिवशेन प्रतिनिधि हुने पार्टी जिल्ला अध्यक्ष राजकुमार विष्टले बताउनुभयो । उहाँका अनुसार जिल्लाबाट कुल १६ जना महाधिवशेन प्रतिनिधिले भाग लिने छन् ।
ऐले दिउँसो १२ः३० बजे यो समाचार तयार गर्दासम्म कुल सात सय मत खसेको एमालेका जिल्ला सचिव राजेन्द्र बोहराले बताउनु भयो ।
एमालेको ११औं महाधिवेशन काठमाडौँमा यही मंसिर २७ देखि २९ गतेसम्म हुने तयारी छ ।
प्रकाशित मिति २०८२ मंसिर १३, शनिबार १२:४६ गते