काठमाडौँ– नेपाली साहित्य भण्डारमा आज फेरि अर्को कृति थपिएको छ । ‘हामी र हाम्रो कृति समाज’ले आफ्नो २३औँ कृतिका रुपमा सरस्वती भित्रकोटीको मुक्तकसङ्ग्रह ‘प्रेमपत्र’ लोकार्पण भएसँगै नयाँ कृति मंसिर १३ गते थपिएको हो ।
नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ साहित्यकार एवम् मुक्तककार वियोगी बुढाथोकीको प्रमुख आतिथ्यतामा लोकार्पण कार्यक्रम भएको हो । यहाँको बालुवाटार स्थित लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहलमा लोकार्पण कार्यक्रम गरिएको हो ।
विशिष्ट अतिथिहरूमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा, हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारी र कृतिकारका दाजु नरेन्द्र भित्रकोटी रहनु भएको थियो । विमोचित कृतिका समीक्षक एवम् प्रखर राजनीतिक विश्लेषक, इतिहासविद् तथा वरिष्ठ समालोचक प्रा.डा. गोविन्द मानसिंह कार्कीले विमोचित कृतिका बारेमा व्याख्या र विश्लेषण गर्नु भएको थियो । विमोचित कृतिका कृतिकार सरस्वती भित्रकोटीले छोटो समयमा पुस्तक तयार पारेर लोकार्पण गरिदिनु भएकोमा हामी र हाम्रो कृति समाजका सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष मदनप्रसाद नेपालले संस्थाले गर्ने भावी कार्यक्रमको बारेमा अवगत गराउनुका साथै हाम्रो संस्थालाई विश्वास गर्नुहुने देशका जुनसुकै कुनामा रहनु भएका सर्जकहरूको कृति विमोचनको लागि यस संस्था सदैव तयार रहेको बधाई तथा शुभकामनाका साथमा विश्वास दिलाउनु भएको थियो । त्यसैगरी, प्रमुख अतिथि वियोगी बुढाथोकी र विशिष्ट अतिथि विजयध्वज थापाले हामी र हाम्रो कृति समाजले साहित्यको उन्नयनका निम्ति गरेको कार्यप्रति प्रशंसा गर्दै यसको निरन्तरताको कामना गर्नुभएको थियो ।
सो अवसरमा शुभकामना मन्तव्य दिनुहुनेहरूमा सुनिल अधिकारी र नरेन्द्र भित्रकोटीले कृतिकारलाई बधाई दिँदै हामी र हाम्रो कृति समाजले गरेको कार्यप्रति प्रशंसा गर्नुभएको थियो । ५५ जना उपस्थित साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रममा अधिकांशले रचना वाचन गर्नु भएको थियो । रचना वाचन गर्नुहुनेहरूमा मानन्धर अभागी, तिलक गाउँले, शशीश्री आचार्य, प्रमुना दहाल, दलबहादुर नेपाली, निना श्रेष्ठ, मीना चौलागाईँ, नानु राणा थापा, डिल्ली भुषाल, कृष्णकुमार वैद्य, नम्रता उप्रेती, बद्री उप्रेती, गीता अर्याल, सुजन डोटेल, नारायण विश्वकर्मा, रामेश्वर के.सी. लब खड्का, रनबहादुर बुढाथोकी र उदयराज भण्डारीले विमोचित कृतिबाट र आफ्ना रचनाहरू वाचन गर्नु भएको थियो ।
अन्त्यमा, कार्यक्रमका सभाध्यक्ष कर्ण दयाल ‘सोराडी’ले आजको कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहनेमा दुईमत नरहेको प्रष्ट पार्नुभयो । उक्त कृतिका कृतिकार सरस्वती भित्रकोटीलाई बाधाई तथा शुभकामना दिँदै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा बिसर्जन भएको जानकारी गराउनु भएको थियो ।
दीप प्रज्वलनका साथै राष्ट्रिय गान सहित सुरु गरिएको उक्त कार्यक्रमको हामी र हाम्रो कृति समाजका आजीवन सदस्य कर्ण दयाल ‘सोराडी’को अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा सोही संस्थाका संस्थापक सचिव बद्री उप्रेतीले दिनुभएको थियो भने सञ्चालन संगीता खरेलले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८२ मंसिर १३, शनिबार २१:१६ गते