राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा आज

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर १४ गते आईतबार ०६:२८

रास्वपा केन्द्रीय समितिको विशेष बैठक (भर्चुअल) ले विवेकशील पार्टीसँग एकीकरण गर्ने प्रस्ताव सहर्ष स्वागत गर्दै मंसिर १२ गते साँझ बसेको बैठकले एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको थियो ।

यो एकतामा विवेकशील साझा पार्टीको अध्यक्ष र महासचिव महिलाबाट रहेको हुँदा उक्त निर्णय प्रशंसित बनेको थियो । अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रञ्जु दर्शना हुनुहुन्छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा हुने भएको छ । त्यसको औपचारिक कार्यक्रम आज मंसिर १४ गते दिउँसो २ बजे राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा एकता घोषणा सभा गर्ने तयारी पुरा भएको छ ।
१३ वर्षअघि अभियानबाट सुरु भई दल बनेको विवेकशील साझाले ४० महिना अघि जन्मिएको रास्वपासँग एकता गर्न तयार भएको हो । विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपासँग एकताको निर्णय मंसिर ९ गते गरेको हो । सो पार्टीले रास्वपाको नाम, नेतृत्व र चुनाव चिन्ह स्वीकार गरी निसर्त एकताको घोषणा गर्ने निर्र्णय पार्टी बैठकबाट भएको थियो ।
विवेकशील साझा पार्टीका उपाध्यक्ष एवम् उक्त दलका वार्ता टोलीका संयोजक परियारका अनुसार पाँच चरणमा दुई पक्षमा संवाद गरेर एकताको टुंगो लागेको हो । रास्वपाबाट संवादमा उपसभापति स्वर्णिम, सहमहामन्त्री विपीन आचार्य र नेता शिशिर खनाल संलग्न थिए । विवेकशील साझाबाट उपाध्यक्ष परियार र महासचिव रञ्जु दर्शना सहभागी थिए ।
विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा तथा अर्का नेता रञ्जु दर्शनाले त्यस कार्यमा विशेष भूमिका निभाउनु भएको स्रोतको भनाइ छ ।
रास्वपा केन्द्रीय समितिको विशेष बैठक (भर्चुअल) ले विवेकशील पार्टीसँग एकीकरण गर्ने प्रस्ताव सहर्ष स्वागत गर्दै मंसिर १२ गते साँझ बसेको बैठकले एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको थियो ।
दुबै दलले एकले अर्कोलाई मित्रशक्तिका रूपमा परिभाषित गर्दै आएका थिए । वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरू एकीकरण गर्ने नीति दुबै दलले बनाएका थिए ।
कस्तो होला रास्वपा र विवेकशील साझाको एकता मोडल ?
वैकल्पिक शक्तिको रूपमा उभ्याउँदै आएका दुई शक्ति रास्वपा र विवेशकील साझा पार्टीबीच लोकतान्त्रिक चरित्रको शक्ति बन्ने योजना अनुसार ध्रुवीकरण भएको हो ।
२०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको विवेकशील अभियान सुरु भएको थियो । त्यस लगत्तै २०७० सालमा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सुरु गरेको थियो ।
हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रपक्षसँग एकता गरेसँगै दलको नाममा विवेकशील साझा पार्टी बनाइएको थियो ।
यो एकतामा विवेकशील साझा पार्टीको अध्यक्ष र महासचिव महिलाबाट रहेको हुँदा उक्त निर्णय प्रशंसित बनेको थियो । अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रञ्जु दर्शना हुनुहुन्छ ।
कसरी पुगे यी दुई दल एकताको यो स्थितिमा ? यसका लागि दुबै पार्टीले अंगालेको नीति र दुई दलमा रहेका नेताहरूको सामिप्यतालाई जोडेर हेर्नुपर्दछ । रास्वपाले गठन गरेको उच्चस्तरीय संवाद समितिको संयोजक डा. स्वर्णिम वाग्लेको विवेकशीलका संस्थापक दिवंगत उज्ज्वल थापासँगको निकटता बूढानीलकण्ठ स्कूलदेखि थियो । बूढानीलकण्ठ स्कूलमा अध्ययन गरेका स्वर्णिम र उज्ज्वलको सम्बन्ध नेपालदेखि अमेरिकासम्मै घनिष्ठ थियो ।
गत जेठको १८ गते विवेकशील साझाले संस्थापक उज्ज्वलको स्मृतिमा राखेको कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल सहभागी हुनु भएको थियो । उहाँले लिखित मन्तव्यमा विवेकशील साझासँग ध्रुवीकरण वा एकीकरणको प्रस्ताव राख्नु भएको थियो ।
उक्त प्रस्तावलाई विवेकशील साझाले सकरात्मक प्रस्तावका रूपमा ग्रहण ग¥यो । दुई दल थप नजिक बनाउने अर्को जग विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले निर्माण गर्नुभयो । रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेको बेला गत असार २५ मा उहाँलाई भेट्न कारागार पुग्नु भयो ।
जेनजी आन्दोलनले दल गठन, एकता, विलय हुने क्रम ह्वात्तै बढ्यो । यसै क्रममा वैकल्पिक शक्तिहरूको एकता वा संवादका लागि ती दलहरूले कार्यदल गठन गरेर संवाद सुरु भयो ।
रास्वपाले उपसभापति डा. स्वर्णिम र विवेकशील साझाले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा उच्चस्तरीय संवाद समिति बनाएका थिए ।
दुबै पक्षले एकताका लागि ऊर्जामन्त्री कुलमान घिसिङसँग छलफल गरेपनि मिलनबिन्दु पहिल्याउन भने सकेनन् । कुलमान छुट्टै अघि बढ्न खोजेपछि रास्वपा र विवेकशील साझाले संवाद भने टुटाएनन् ।
दुई दलबीच एकता गर्ने टुंगो लागेसँगै विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक बसेर एकतालाई अनुमोदन ग¥यो । उक्त बैठकमा ३५ मध्ये २५ जना केन्द्रीय सदस्य सहभागी थिए । बैठकमा ६ जना भर्चुअल सहभागी रहेको उपाध्यक्ष परियारले बताउनु भयो । उहाँका अनुसार तीन जनाले लिखित सहमति गरेर एकताको पक्षमा उभिएका थिए । उहाँले भन्नुभयो, ‘उक्त बैठकले वैकल्पिक राजनीतिक दलबीचमा ‘वृहत्तर ध्रुवीकरण÷ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको थियो । ‘सर्वसम्मत रूपमा एकताको निर्णय गरिएको हो । एकतामा असहमति राख्ने कोही हुनुहुन्न ।’
वैकल्पिक राजनीतिका संस्थापक उज्ज्वल थापाको स्मृतिमा प्रत्येक जेठ १८ मा केन्द्रीय रूपमा स्मृति दिवस मनाउने समझदारी बनेको जानकारीमा आएको छ ।
स्मरणीय छ, दुई दलको मिलनमा विगतको पृष्ठभूमिले आधार निर्माण गरेको नेताहरूको दाबी छ । दुई पक्षको संवादमा जोडिने नेताहरूको वैकल्पिक दल हुनुअघि नेपाली कांग्रेसमा आस्था राख्नेहरू थिए ।

प्रकाशित मिति २०८२ मंसिर १४, आईतवार ०६:२८ गते
हजुरको प्रतिक्रिया