बेसीशहर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङ जिल्लाबाट १० जना महाधिवेशन प्रतिनिधिहरू छनोटका लागि भएको निर्वाचन क्रममा मतगणना कार्य सम्पन्न भएको छ । घोषित मत परिणाम अनुसार चार क्लष्टरमा भएको निर्वाचनमा सबैभन्दा पपुलर मत पाउनेमा खुलामा सुभाष पौडेल, महिलातर्फ पदमा गुरुङ, युवामा जुन तामाङ र दलितर्फ हिरा विक रहनु भएको छ ।
खुलातर्फ सबैभन्दा बढी अर्थात पपुलर भोट निवर्तमान जिल्ला सचिव सुभाष पौडेलले ८८३ मतका साथ विजयी हुनु भएको छ । दोस्रो स्थानमा कृष्णप्रसाद अधिकारी(निवर्तमान जिल्ला अध्यक्ष)ले ८१६ मतका साथ हुनुहुन्छ भने तेस्रो स्थानमा ७६३ मतका साथ युवराज अधिकारी विजयी हुनु भएको छ । उहाँ दोर्दी गाँउपाकिलाको अध्यक्ष समेत हुनुुहुन्छ । जिल्ला अध्यक्ष राजकुमार विष्ट ७३४ मतका साथ चौथो स्थानमा विजयी हुनुभएको छ ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ मात्र सात सय मतले पाचौं स्थानमा ३४ मत अन्तरले पछि पर्नु भएको छ । त्यस्तै, प्रेमबहादुर घलेले ६९२ मत पाउनु भएको छ भने गोविन्द बस्नेतले ४१६ मत पाउनु भएको छ ।
त्यसपछि अन्यले दुई सयभन्दा कम मत पाउनु भएको देखिन्छ । जसमा क्रमशः मत पाउनु हुनेमा सुन्दरबजारका निवर्तमान नगर सभापति भीमवहादुर गुरुङ २०३ मत, एमालेका जिल्ला उपाध्यक्ष जितबहादुर गुरुङ १७७ मत, राइनास नगरपालिकाका निवर्तमान मेयर सिंहवहादुर थापा १६७ मत, पूर्वमाओवादी नेता मोहनहरी पौडेल १५५ मत, सुन्दरबजार नगरपालिकाका निवर्तमान मेयर जनकराज मिश्रले १३२ मत, ल्याण्डस्टार आमाविका प्रिन्सिपल ईश्वर पौडेलले १३१ मत र आलोक गुरुङ ११७ मत पाउनु भएको स्थिति छ ।
यसैगरी, एक सयभन्दा कम मत पाउनेहरूमा चार जान हुनुहुन्छ । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख लोकराज पाण्डे ९८ मत, पूर्वप्रधानाध्यापक वुद्धीबहादुर खडका ६२, रञ्जित कुमाल ४८ मत र अञ्जनकुमार हिमालीले २५ मत पाएको जानकारीमा आएको छ ।
महिला क्षेत्रतर्फबाट निर्वाचित हुनेमा पपुलर मत पाउने सूचिमा बेसीशहर नगरपालिकाकी उपमेयर पदमा गुरुङ ८५५ मतका साथ दर्ज हुनु भएको छ । दोस्रो स्थानमा प्रदेशसभा सदस्य यशोदा रिमालले ७८८ मत पाउनु भएको छ । त्यसपछि, बेसीशहर नगरपालिकाकी निवर्तमान उपमेयर लक्ष्मीदेवी अधिकारी ७२५ मतका साथ उहाँहरू तीन जना विजयी हुनु भएको छ । त्यसपछि निकटको मत पाउनेमा सोही नगरपालिका– ८ को वडाध्यक्ष समेत रहनु भएकी पवित्रा थापा राना ५९९ मतका साथ रहनु भएको छ । सुन्दरबजार नगरपािलिकाका उपमेयर भवानी के.सी.४६६ मत, समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमाल ३०८ मत, विष्णुमाया राना २६९ मत र कल्पना थापा बोहरा २२७ मत पाउनु भएको छ ।
यसैगरी, युवा क्षेत्रतर्फ एक जना प्रतिनिधि चयन हुनेमा जुनवहादुर तामाङले एक हजार २०३ मत पाउनु भएको छ भने अन्य प्रत्यासीहरू राजेन्द्र अधिकारी २८२ र प्रेम(रोशन) तामाङले ४९ मत पाउनु भएको छ ।
यसैगरी, लमजुङमा दलिततर्फ वाट नेकपा एमालेको महाधिवेशन प्रतिनिधिमा हिरालाल विश्वकर्मा र नन्दराम विश्वकर्मा विजयी हुनु भएको खबर छ । उहाँहरूले क्रमशः १७३ र १३७ मत पाई विजयी हुनु भएको हो भने अर्का प्रत्यासी विवश वुढाथोकी १३ मत कम अर्थात १२४ मत पाएर पनि पराजित हुनु भएको छ ।
कुल एक हजार ९१६ मत खसेकोमा २२३ मत दलिततर्फ परेको थियो । खुलातर्फ एक हजार ६९३ खसेको हो ।
लमजुङमा रहेको सदस्य संख्याको आधारमा महाधिवेशन प्रतिनिधि १० जना छनोट हुनेमा खुलातर्फबाट ४ जना, महिलातर्फ ३ जना, दलिततर्फ २ जना र युवा क्लस्टरबाट १ जना प्रतिनिधि चयन हुने सुनिश्चित भएको थियो । जसको कुल सदस्य संख्या पाँच हजार ४७३ जना रहेको बताइन्छ । त्यो संख्याको तुलनामा मतदान भने निकै कम कुल एक हजार ९१६ मत खसेकोमा २२३ मत दलिततर्फ र खुलातर्फ एक हजार ६९३ मत खसेको थियो ।
एमालेको ११औं महाधिवेशन काठमाडौँमा यही मंसिर २७ देखि २९ गतेसम्म हुने तयारी छ ।
प्रकाशित मिति २०८२ मंसिर १४, आईतवार १५:०६ गते