रास्वपा– विवेकशील साझा बीच एकता : वैकल्पिक शक्तिबिच एकताको शंखघोष

रास्वपा– विवेकशील साझा बीच एकता : वैकल्पिक शक्तिबिच एकताको शंखघोष

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर १५ गते सोमबार ०९:२०

सो अवसरमा रास्वपाले अंगीकार गरेका सिद्धान्त, झण्डा, चुनाव चिन्ह अंगीकार गर्ने गरी दुई पार्टीबिच पाँचबुँदे सहमतिमा हस्ताक्षर भएको थियो । हस्ताक्षरपछि रास्वपा र विवेकशील साझाका नेताहरूले घण्टी बजाएर एकताको शंखघोषका साथ स्वागत गरेका थिए ।

यी दुई दल बीचको एकताले देश र समाजमा सकारात्मक सन्देश मात्र प्रवाह गरेको छैन । मुलुक अब सुशासन र समुन्नतिको मार्गमा अग्रसर हुन्छ भन्ने आशा समेत पलाएको छ ।

काठमाडौँ– आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनाव आउन करिब तीन महिना बाँकी छ । सोही सन्दर्भमा स्थापनाकालदेखिनै आफूलाई वैकल्पिक शक्तिका रुपमा चिनाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीका बिच एकताको शंखघोष मंसिर १४ गते भएको हो ।
एकताको सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले तथा विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारको हस्ताक्षर छ ।
पुराना राजनीतिक शक्तिहरूलाई पराजित गर्न वैकल्पिक र नयाँ शक्तिहरू एकजुट हुनुपर्ने आवाज जनमानसबाटै उठिरहेको छ । जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीतिक शक्तिको चर्चा थप बढेको छ ।
यसैसन्दर्भमा राष्ट्रियसभा गृहमा आयोजित समारोहबिच यी दुई पार्टीले एकीकरणको घोषणा गरेका हुन् । दुवै पार्टीका नेताहरूले वैकल्पिक राजनीतिका संस्थापक दिवंगत उज्ज्वल थापाले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । एकता सभामा नेताहरूको थापाले देखेको सपनालाई पूरा गर्ने उद्देश्यले नै पार्टी एकता गरेको जिकिर छ । सो अवसरमा रास्वपाले अंगीकार गरेका सिद्धान्त, झण्डा, चुनाव चिन्ह अंगीकार गर्ने गरी दुई पार्टीबिच पाँचबुँदे सहमतिमा हस्ताक्षर भएको थियो । हस्ताक्षरपछि रास्वपा र विवेकशील साझाका नेताहरूले घण्टी बजाएर एकताको शंखघोषका साथ स्वागत गरेका थिए ।
रास्वपामा विलय भएपछि कार्यक्रममा निकै गम्भीर देखिएकी साविक विवेकशील साझाकी नेतृ बाँस्कोटाले यो एकता विलय नभई प्रलय भएको जिकिर गर्दै संस्थापक थापाले खोलेको वैकल्पिक राजनीतिको ट्र्याकलाई रवि लामिछाने नेतृत्वको रास्वपाले राजमार्ग बनाएको कथन छ । बास्कोटाले भन्नुभयो, ‘विवेकशील साझाले वैकल्पिक राजनीतिको ट्र्याक खोल्यो । रास्वपाले राजमार्ग बनायो । अब ट्र्याक खोल्ने र राजमार्ग बनाउने शक्ति सँगै छौँ । उज्ज्वल थापाले रोपेको फूल फल्न र फुल्न प¥यो, म कुनै पदका लागि आएको होइन । एक साधारण सदस्य भएर पनि बस्न सक्छु ।’
बास्कोटाले आफूले १० वर्षसम्म प्रयास गर्दा पनि संसद्मा तीन सिट मात्र ल्याउन सकिएको, तर रविले पाँच महिनामै २१ सिट जितेर भाग्यमानी सावित गरेको उल्लेख गर्नु भयो । विवेकशील साझाले एकताका लागि हार्दिकता देखाएको र रास्वपाले पनि त्यही अनुसार हार्दिकता दिनेमा उहाँले अपेक्षा छ । कार्यक्रममा बास्कोटाले आफूले संस्थापक थापाको फोटो नबेचेको जिकिर गर्दै उनकै सपना साकार बनाउन एकता प्रक्रियामा मिसिएको प्रष्टीकरण समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विकेकशील साझामा सधैं संक्रमण भयो । यसलाई खरानी बनाइयो । खरानीबाट उठेर उठ्न पनि आउँछ । मैले उज्ज्वलजीको फोटो बेचेको छैन । म निकै तनावमा थिएँ । उहाँकी धर्मपत्नीलाई सोधेँ । उहाँ भएको भएपनि यही गर्नुहुन्थ्यो भनेपछि म खुसी भएँ ।’ हामास्ले कुनै सर्त नराखी आफूले रास्वपासँग एकता गरेकाले विवेकशील साझाबाट आएका सदस्यहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन समेत दिनुभयो ।
रास्वपाका उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले विवेकशीलका संस्थापक थापासँग निधन हुनुअघि लामो समय सम्पर्कमै रहेको र उहाँले देखेको सपना सबै मिलेर पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘प्रजातन्त्रलाई कसरी उन्नत बनाउने ? एक थान चुनावका लागि मात्र लोकतन्त्र हो भन्ने भाष्यबाट मुक्त भएर संवैधानिक उदारवादमा आधारित हुन्छ । कानुनी राज्य, शक्तिको पृथकीकरण, प्रेस स्वतन्त्रताका कुरा छन् । यसमा ध्यान दिएनौँ भने अनुदार प्रजातन्त्र आउँछ भन्नेबारे हाम्रो छलफल भएको रहेछ, दूषित राजनीतिलाई सङ्ल्याउनेबारे २०१९ मा छलफल भएको रहेछ । त्यसकारण उहाँको सपना हामी सबै मिलेर गर्नुपर्छ ।’
नख्खु जेलमा रहनु भएका रास्वपाका सभापति रवि लामिछानेले एकता प्रक्रियामा आएकालाई मिडिया ट्रायलबाट सचेत रहन र थापाले अगाडि बढाएकै वैकल्पिक राजनीतिलाई अगाडि बढाउने सन्देश पठाएको वाग्लेले जानकारी दिनुभयो ।
साविक विवेकशील साझाकी महासचिव समेत रहनु भएकी रञ्जु दर्शनाले आफू थापाकै आदर्शबाट १७ वर्षकै कलिलो उमेरमै राजनीतिमा लागेको स्मरण गर्नु भयो । संस्थापक थापाले नाममा होइन, काम गरेर देखाउ भन्नेमा प्रेरणा दिने गरेको स्मरण गरिन् । आफू बिलाउन नभई मिलाउन आएको उहाँको उदघोष थियो ।
एकीकृत दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै, झन्डा साबिककै :
रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निःसर्त स्वीकार गर्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्ज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्ताबेजीकरण गरी मान्यता दिने सहमति भएको हो ।
एकीकरणपश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ । झन्डा पनि साबिककै रहने सहमति छ । दुवै पक्षबीच रास्वपाको पहिलो महाधिवेशनसम्मका निम्ति बनाइएको विशेष संयन्त्र ‘संघीय नेतृत्व मञ्च’मा विवेकशील साझाका तर्फबाट एकीकरणको प्रक्रियामा आउने नेताहरूलाई आपसी समझदारीमा मनोनयन गर्ने समझदारी बनेको छ ।
मन जित्ने विवेकशील र मत जित्ने रास्वपाको एकता सभाको परिदृश्य :
विवेकशील साझा पार्टी र रास्वपाको बीचमा आइतबार यस्तो एकता भयो, जहाँ कुनै शर्तहरू थिएनन् । एउटासँग विगतको वैकल्पिक विरासत थियो, अर्कोसँग वर्तमानको शक्ति र संख्या । एउटाले विगतमा साना–साना लो प्रोफाइलका अभियानहरूमार्फत नागरिकको मन जित्दै थियो, अर्कोले त्यसैको बलमा ०७९ चुनावको मत । एउटासँग पहिल्यै स्थापित नीति थियो, अर्कोसँग मतदाताले मानिसकेको नेतृत्व ।
त्यही विरासतको ताकतमा विवेकशीलले रास्वपासँग एकता गर्दैगर्दा आलोचकहरूले भने निको मानेनन् । तीमध्ये कतिपयले पर्याप्त गृहकार्य अनि शक्ति सम्झौताबेगर नै रास्वपासँग समर्पित हुन गएको कटाक्ष विवेकशील माथि गरिरहेका छन् । तर यसको पृष्ठभूमि भने अलिकति फरक छ ।
डा. तोसिमा कार्कीले स्वागत मन्तव्यका क्रममा भन्नुभयो, ‘वैकल्पिक शक्तिहरूलाई छरिएर रहने छुट छैन । किनभने, पुराना राजनीतिक दलले अब नेपाली समाजको चाहना र युवा पुस्ताको भावनाअनुसार मुलुकको नेतृत्व गर्न सक्दैनन् ।’
सभागृह परिसरमा भेटिएका आशुतोष प्रधानका शब्दमा– ‘मन केन्द्रित राजनीति उज्ज्वल थापाको नेतृत्वमा विवेकशीलले ग¥यो । मत केन्द्रित राजनीति अब रास्वपाबाट अघि बढ्छ ।’
नेपालका परम्परागत दल र पुराना नेताहरूको ‘सत्ता केन्द्रित’ राजनीति’को विरोध गर्दै विसं २०६९ मा थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भयो र चुनावमा भाग लिएको थियो । परिणाम भने आउन सकेन ।
रास्वपा र विवेकशील साझाबीच ५ बुँदे एकता सहमति :
रास्वपा र विवेकशील साझा पार्टीबीच ५ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर पत्रमा ‘रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्वल थापा एवं ’विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने’ उल्लेख छ ।
रास्वपाको राष्ट्रिय महाधिवेशनसम्मका लागि बनाइएको विशेष संयन्त्र ‘संघीय नेतृत्व मञ्च’ मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरूलाई आपसी समझदारीमा मनोनयन गर्ने सहमति छ ।
मञ्चका सदस्यको वरीयता केन्द्रीय समितिको सदस्य सरह हुने सहमति छ ।
विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने सहमति भएको हो ।
एकीकरण पश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति र दलको चिन्ह ‘घण्टी’ रहने सहमति छ ।
यी दुई दल बीचको एकताले देश र समाजमा सकारात्मक सन्देश मात्र प्रवाह गरेको छैन । मुलुक अब सुशासन र समुन्नतिको मार्गमा अग्रसर हुन्छ भन्ने आशा समेत पलाएको छ ।

प्रकाशित मिति २०८२ मंसिर १५, सोमबार ०९:२० गते
हजुरको प्रतिक्रिया