बेसीशहर — लमजुङमा कर्तव्य ज्यान मुद्दाका करिब आठ महिना देखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनी चितवन जिल्ला साविक बछौली गा.वि.स–१ हाल रत्ननगर नगरपालिका–७ निवासी ४७ वर्षीय बुद्धीराम दराईलाई नेपाल प्रहरीले मंसिर १९ गते सार्वजनिक गरेको हो ।
उनलाई नेपाल प्रहरीले नेपाल–भारत सिमाबाट पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार दराईलाई पक्रिएर लमजुङमा चलिरहेको मृत्यु प्रकरणको कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
उनी रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका–१ बेलहिया नजिक विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (CBI) काठमाडौँको सहयोगमा नियन्त्रणमा लिइ लमजुङ ल्याइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरिक्षक रेशम बोहोराले बताउनु भयो । उहाँका अनुसार उनलाई प्रहरी कार्यालयमा ल्याइएपछि लमजुङ जिल्ला अदालतबाट म्याद थप गरेर पहिलो पटक ७ दिनको म्याद लिइ अनुसन्धान भइरहेको छ ।
दराई लमजुङको बेसीशहर नगरपालिका– २ भकुण्डेमा बसोबास गर्दै आएकी ४६ वर्षीया पूर्व प्रहरी हवल्दार सीता कडेल आफ्नै घरभित्र मृत भेटिएको घटना संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् ।
एकल महिलाको रूपमा रहेकी सीता कडेलको विदेशमा रहेका एकमात्र छोराले ४ दिनदेखि आमासँग कुराकानी गर्न नपाएको भन्दै छिमेकीहरूलाई घरमा बुझ्न पठाएका थिए । उनीहरूले घरमा गई बुझ्ने प्रयास गर्दा हरियो झिँगा घुमिरहेको र दुर्गन्ध आएको देखेपछि २०८१ साल चैत ३१ गते प्रहरीलाई खबर गरेका थिए ।
सो जानकारी पाए पछि एक प्रहरी टोली सीताको घरमा पुगेर खोजतलास गर्दा उनको सुत्ने कोठामा रहेको लोबेड भित्र त्रिपालले बेरिएको अवस्थामा कडेलको शव भेटिएको प्रहरीले जनाएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा संकलित विभिन्न तथ्य र प्रमाणका आधारमा बुद्धीराम दराई घटनामा संलग्न हुनसक्ने आशंका रहेको प्रहरीले बताएको छ ।
प्रहरी अनुसन्धान हालसम्म पनि जारी रहेको प्रहरी भनाइ छ ।
प्रकाशित मिति २०८२ मंसिर १९, शुक्रबार २०:५० गते