
कुन्छा(लमजुङ)– लमजुङको पुरानो सदरमुकाम रहेको सुन्दरबजार नगरपालिका– १ स्थित ऐतिहासिक थलो कुन्छामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । सो अधिवेशनमा झण्डै तीन दर्जन व्यक्तिले सो पार्टीको नयाँ सदस्यता मंसिर १९ गते लिए ।
रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य एवम् सो दलका संस्थापक जिल्ला संयोजक धर्म केसी, केन्द्रीय प्रवास विभागका सदस्य तोयराज अधिकारी, गण्डकी प्रदेश संगठन विभागका प्रमुख कृष्ण लम्सालले संयुक्त रुपमा सो अधिवेशनको घण्टी बजाएर उद्घाटन गर्नु भएको थियो । आफ्नो उद्घाटन मन्तव्यमा नेता के.सी.ले विगतमा ३६ वर्षसम्म सत्तामा बसेर राज्यको दोहन गर्नेहरुले अब चुनाव लड्ने हैन मुद्दा लड्नु पर्छ त्यस्ता अपराधीलाई भोट हाल्ने हैन जेल हाल्नु पर्छ भन्नु भयो । उहाँले कुन नेताले के कति भ्रष्टाचार गरेको छ भन्ने गएको भदौ २३ र २४ गतेको आन्दोलनले समेत पुष्टि गरेको हामीले थाहा पाइसकेका छौं, त्यसैले ती हाम्रो भोटका हकदार छैनन् भन्नुभयो । अब तिनका पछि लाग्ने भनेको तीबाट दाना पानी पाउने मात्र हुन् । त्यो दानापानी पनि आउदो चुनावपछि सिद्धिने छ, त्यसपछि मुलुकमा सुशासनको श्रीगणेश हुनेछ भन्नू भयो ।
अर्को एक प्रसङ्गमा पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आवश्यक पर्ने योग्यतामध्ये जेलयात्रा पनि हो र त्यो पनि पूरा भएको छ र उहाँलाई हामी प्रधानमन्त्री बनाएरै छाड्ने छौं भन्नु भयो ।
कार्यक्रमका विशेष वक्ता तोया अधिकारीले पार्टीको स्थापनाकालमा योगदान गर्नेहरुको उच्च मूल्यांकन हुन जरुरी छ, म उहाँहरु सबैलाई सम्मान गर्न चाहन्छु भन्नु भयो । उहाँले विरोधीहरुले सोध्ने प्रश्नमा प्रष्ट जवाफ दिन सक्ने हुनुपर्छ, त्यसका लागि अध्ययन जरुरी छ र त्यो गर्नु होला भन्ने निर्देशन दिनुभयो । उहाँले विश्वमा २ सय देश रहेको र तीमध्ये १५० मुलुकमा ५ हजारभन्दा वढी नेपाली रहेका छन्, तीमध्ये ३८ देशमा शाखा विस्तार गरेर अधिवेशन समेत गरेको स्थिति रहेको जानकारी दिनुभयो ।
यसैगरी, गण्डकी प्रदेश संगठन विभागका प्रमुख कृष्ण लम्सालले रास्वपा उन्नत लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो भन्नुभयो । उहाँले गण्डकीका अधिकांश क्षेत्रमा आफू संगठन विस्तारको क्रममा पुगेको र ती सबै क्षेत्रमा घण्टीको जित हुने स्थिति बलियो बन्दै गरेको जानकारी दिनुभयो । उहाँले पार्टीको जलेश्वर बैंकले पार्टीको नीति, सिद्धान्त र विधान पारित गरेको स्मणरण गर्दै वेभसाइटमा पाइने ती दस्तावेजको अध्ययन गर्न अनुरोध गर्नुभयो ।
रास्वपाको सोही वडाका सभापति प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले आफू पार्टीमा डे वान देखिनै लागेको र संगठन विस्तारको काम कति कठिन हुने रहेछ भन्ने नजिकबाट अनुभूति गरेकोे उल्लेख गर्दै आजको दिन ल्याउन सहयोग गर्नुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्दछु भन्नुभयो ।
सो अवसरमा शुभकामना मन्तव्य राख्नेहरुमा रास्वपाका गण्डकी प्रदेश महिला विभागका उपप्रमुख सन्तोषी गौली, जिल्ला सभापति अशोक सापकोटा, उपसभापति प्रकाश थापा, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, सुन्दरबजार नगरका सभापति विमल अधिकारी, भानु नगरका सभापति विष्णु पोखरेल, मध्यनेपाल नगरपालिकाका सभापति तिर्थराज पराजुली, रास्वपा नेता शिव खनाल, संगठन विभागका जिल्ला प्रमुख वावुराम अधिकारी, जिल्ला र्याट विभागका प्रमुख श्याम केसी लगायत हुनुहुन्थ्यो ।
सो अवसरमा पार्टीमा नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख व्यक्तित्व धर्म के.सी. लगायतले पार्टीको लोगो पहिराउदै स्वागत गर्नु भएको थियोे । नवप्रवेशी मध्यनेपाल नगरपालिका– १, जिताबेसी निवासी सुभद्रा पौडेलले देशमा व्याप्त भ्रष्टाचार, अराजकता, वेथिति, बेरोजगारीले देश गाजिएको र त्यसबाट मुक्तिका लागि र देश जोगाउनका लागि आफू रास्वपामा प्रवेश गरेको बताउनु भयो । भोलिका दिनमा यिनीहरू पनि उस्तै रहेछन् भन्ने दिन नआओस् भन्ने कामना गर्नुभयो ।
सो अधिवेशनबाट जगत सेढाईको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय वडासमिति गठन गरिएको छ । समितिको उपसभापति ईश्वरी गौली, सचिव कृष्ण(वल)बहादुर गुरुङ निर्वाचित हुनु भएको छ । समितिको सदस्यमा हर्कबहादुर भुजेल, कामना दुरा, पद्मा ठडराई, अञ्जु सेढाई, रमेश कंडेल, कल्पना न्यौपाने र चन्दन मौरती रहनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई संगठन विभाग प्रमुख लम्सालले सपथ ग्रहण गराउनु भएको थियो ।
सोही वडाका उपसभापति जगत सेढाईले स्वागत मन्तव्य राख्नु भएको सभाको सञ्चालन शुभचिन्तक ज्ञानेन्द्र शर्माले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ मंसिर २०, शनिबार ०९:४६ गते