काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तेस्रो महिनाको अन्तिम चौथो पटक मन्त्री परिषद विस्तार भएको छ । विस्तारित मन्त्री परिषदमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्रीमा माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्रीमा राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा कुमार इङ्नाम रहनु भएको छ ।
नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ । नियुक्ति लगत्तै शपथग्रहण गराइएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्तहरूको शपथ ग्रहण गराउनु भएको हो ।
चुनाव गराउने कार्यभार लिएर आएको सरकार मन्त्री परिषद विस्तारमा लागेपछि समयमा निर्वाचन नहुने हो कि भन्ने आशंकालाई बल मिलेको देखिएको छ । पूर्वराजदूत निलाम्बर आचार्यले चुनावको मुखमा मन्त्री परिषद विस्तार गरेर यो सरकारले कतै चुनाव नगराउने हो कि आशंका उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको मन्त्री परिषद विस्तारले फागुन २१ गते चुनाव हुँदैन कि ! भन्ने शंकालाई बल पु¥याएको छ । नत्र केही आवश्यक मन्त्री बनाएर चुनावको तयारीमा लाग्नुपर्ने सरकार मन्त्री बनाउनमै लागेको छ ।’
प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल अझै विस्तार गर्ने तयारी गरिरहेको बुझिएको छ । मन्त्री परिषद विस्तारलाई लिएर जेनजी समूहबीच नै एकरुपता देखिँदैन ।
अचानक मन्त्री परिषद विस्तार हुँदा तोकिएको समयमा चुनाव हुनेमा आशंका व्यक्त भइरहेको छ । अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘मन्त्री परिषद विस्तार र चुनाव अलग– अलग कुरा हो, मन्त्री परिषद विस्तार हुँदैमा चुनाव हुँदैन भने होइन तर यो छोटो समयका लागि किन मन्त्री परिषद विस्तार भएको हो भन्ने प्रश्न चाहिँ गर्न सकिन्छ ।‘
पहिलो चरणमा मन्त्री परिषद गठन गर्दा प्रधानमन्त्री कार्कीले यो चुनावी सरकार भएकाले ११ सदस्यीय मन्त्री परिषद बनाउने घोषणा गर्नु भएको थियो । तर यतिबेला मन्त्री परिषद १४ सदस्यीय भइसकेको छ । यसअघिको सरकारमा २१ सदस्यीय थियो ।
प्रकाशित मिति २०८२ मंसिर २६, शुक्रबार २०:५४ गते