बेसीशहर– यात्रुसँग निर्धारित दर करमभन्दा बढी भाडा लिने गरेको बसलाई जिल्ला प्रहरी कार्यालय अन्तरगतको ट्राफिक कार्यालयले गरेको छ । बेसीशहरदेखि सिउँडीबारसम्म ६५ रुपैयाँ भाडा निर्धारण भएको स्थानमा एक सय रुपैयाँ असुल्ने काम गरेपछि त्यस्तो बस कारवाहीमा मंसिर २६ गते परेको हो ।
लमजुङ नेपालमै सबैभन्दा महंगो बस भाडा हुने जिल्लामा दर्ज हुँदै आएको छ । तर त्यसमा पनि निर्धारित बस भाडा भन्दा बढी लिने क्रम यस जिल्लामा यातायात सेवा सुरु भएदेखिकै हो । त्यो प्रवृत्तीमा अझै पनि सुधार हुन सकेको छैन । त्यसरी पटक पटक प्रयास गरेका पनि सर्वसाधारण जिल्लिने क्रम जारी नै छ । यही क्रममा बेसीशहरबाट सिउँडीबारसम्म ६५ रुपैयाँ भाडा रहेकोमा एक सय रुपैयाँ लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि उक्त बसलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक गरी बसभाडा दर कायम गरिएको तीन महिना पनि बितेको छैन । सो बैठकले जिल्लामा चल्ने लामो वा छोटो दुरीका सबै बसहरूले अनिवार्य रुपमा सबै यात्रुहरूले प्रष्ट देख्ने गरी भाडा दर टाँस गर्नु पर्ने निर्णय भएता पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
नारायणगढ– डुम्रे– बेसीशहर चल्ने कुँवर सफारीको डिलक्स ग १ ख ९३५५ नंबरको बसले त्यस्तो कार्य गरेको बताइएको छ । ‘हिजोआज त बसभाडा घटेको छ रे नि ?’ भन्ने यात्रुहरूको प्रश्नमा बसका कण्डक्टरले तेलको भाउ बढेर आकाश छोइसक्यो तपाई भाडा घट्ने कुरा गर्नु हुन्छ ? भन्दै जवाफ दिएको यात्रुहरूले बताएका छन् । ती यात्रुले भने, ‘हामी दुई जना थियौं, बेसीशहरबाट बस चढेर सिउँडीबार ओर्लियौं, खुद्रा पैसा थिएन, पाँच सय रुपैयाँ दिएको तीन सय मात्र फिर्ता दिए ।’
त्यो बसले बढी लिएको भाडा फिर्ता गर्न लगाई थप कारबाही (जरीवाना) गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालयमा सोही दिन निर्धारण गरिएको बेसीशहर– सुन्दरबजार– विमिरे भञ्ज्याङ– भोर्लेटारको बस भाडा दर २५० रुपैयाँ कायम गरिएको भएता पनि त्यो रुटमा चल्ने बसहरूले यात्रुहरूसँग प्रतिव्यक्ति ३५० रुपैयाँ असुल्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन् ।
प्रकाशित मिति २०८२ मंसिर २७, शनिबार ०७:४९ गते