चिति, तिलाहार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काँग्रेस– एमालेको किल्लामा धाबा बोल्ने क्रम जारी राखेको छ । रास्वापाको बेसीशहर नगरपालिका– ११ को यहाँ आयोजित वडाधिवेशनका क्रममा आज ती दुवै दलबाट प्रबेश गर्नेको लर्कोले मंसिर २७ गते त्यस्तो छनक दिएको हो ।
सो अवसरमा एमाले काँग्रेसका हस्तिका रुपमा परिचित व्यक्तित्व समेत रास्वपामा खुलेर प्रवेश गरेबाट त्यस्तो पुष्टि भएको हो । सो कार्यक्रममा सोही स्थानको जनकल्याण माविमा लामो समय प्रधानाध्यपाक हुनु भएका तथा ६० वर्ष एमालेको राजनीति गर्नु भएका व्यक्तित्व ७८ वर्षीय शम्भुसाली पन्त समेत रास्वपामा प्रवेश गर्नु भएको छ । उहाँले आफ्नो मन्तव्यका क्रममा समाज अनुशासन हीन भएको चर्चा गर्दै भन्नुभयो, ‘हिजो आजको मास्टर विद्यार्थीसँगै बसेर चुरोट, रक्सी खान्छ, तास खेल्छ अनि समाज कसरी चरित्रवान्, इमान्दार अनि अनुशासित हुन सक्छ ?’
उहाँले उखान टुक्काले देश बन्दैन भन्दै आफूले एमालेमा ६० वर्षको जीवन अर्पण गरेको तर उपलब्धि भने शून्य रह्यो, आज आफ्ना दुई भाइ छोरा दुवै विदेशीन बाध्य छन् त्या ेकस्को कारणले हो ? भन्नुभयो । उहाँले अब पनि एमाले– काँग्रेसको पछि लाग्नु भनेको साँढेको झर्ला र खाउला भने जस्तै हो भन्दै अरु सबैले धरौटीमा निस्कन पाउने तर रविले किन नपाउने ? भन्दै कि त दोषी करार गर्न सक्नु पर्यो भन्नेमा जोड दिनुभयो । उहाँले स्वर्गजस्तो नेपाललाई बचाउने र विकास गर्ने नेता भनेको एकमात्र रवि हो भन्ने ठोकुवा गर्नु भयो ।
सोही अवसरमा माओवादी त्याग गरी रास्वपामा प्रवेश गर्नु भएका अर्जुन सेढाईले एमालेका ५० प्रतिशत कार्यकर्ताले त्यसको अर्थ जानेका र भन्न सक्नेवाला छैनन्, यस्तो चाकडीपनले देश उभो लाग्दैन । त्यसका विरुद्धमा चेतना फैलाउने काम रास्वपाले निलो क्रान्तिमार्फत गरिरहेको बताउनु भयो । उहाँले आवाजबाट परिवर्तन हुन्छ लुकेर हुँदैन भन्ने आह्वान गर्नु हुँदै समाजमा सचेतना फैलाउने काम रास्वपाले गरेको उल्लेख गर्नुभयो । निलो क्रान्ति रक्त विहीन हो, तर यस्तै अन्याय र अन्योल बढी रहने हो भने निलो क्रान्तिलाई रातोमा बदल्न सक्ने समार्थ पनि हामीले राख्नु पर्छ र राख्नेछौं उहाँले भन्नुभयो ।
नेपाली काँग्रेस त्याग गरी रास्वपामा प्रवेश गर्नु भएका तिलकबहादुर बस्नेतले ठूला भन्ने दललाई पटक पटक हेरियो, अब एक पटक रास्वपालाई केन्द्रदेखि स्थानीय तहसम्म मौका दिनु पर्छ, त्यसैले म पनि यो पार्टीमा प्रवेश गर्ने निधो गरेको हुँ भन्नुभयो । सो अवसरमा नौजवानहरूदेखि ८० वर्षका वयोबृद्धहरूले समेत रास्वपामा प्रवेश गर्नु भएको थियो ।
नवप्रवेशीहरूलाई पार्टीको लोगो रास्वपाको नेता एवम् केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी तथा रास्वपाको काठामाडौं निर्वाचन क्षेत्र नं ६ का उपसभापति कैलाश सिलवालले टिका लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
रास्वपाको नेता धर्म केसीले आफ्नो उदघाटन मन्तव्यका क्रममा आजको दिनमा यहाँ पार्टी प्रवेश गर्नु हुनेहरूले थप उर्जा प्राप्त भएको उल्लेख गर्दै स्वागत गर्दछु भन्नुभयो । हामीले रोपेको रास्वपा रुपि विरुवालाई राम्रो हेरचाह, मलजल गरेर फल लाग्ने बनाउनु पर्छ भन्नुभयो । उहाँले सर्वसाधारणले रास्वपाप्रति गरेको सरोसालाई टुट्न दिने छैनौं भन्ने प्रण गर्दै उहाँले ठूला भनिने पार्टीलाई अबका दिनमा विस्तारै २००७ साल अघि खुलेको प्रजा परिषद पार्टी जस्तै बनाउनु पर्ने बताउनु भयो ।
उहाँले कार्यकर्ताहरूलाई सचेत गर्दै भन्नुभयो हामीलाई गल्ती गर्ने छुट छैन । यसतर्फ सबै सचेत हुन जरुरी छ भन्नुभयो । सो अवसरमा सोही स्थानमा जन्म थलो हुनु भएका रास्वपा जनसम्पर्क विभागका सदस्य भोला शर्माले पार्टीमा प्रवेश गर्नुहुनेहरूको परिचय दिनु भएको थियो । उहाँले मन्तव्यका क्रममा हामीले चितिमा काँग्रेस– एमालेको किल्ला भत्काउन सुरु गरेका छौं र यो क्रम निरन्तर चलिरहने छ भन्नुभयो । उहाँले आफू सिसाको घरभित्र बसेर अर्कालाई ढुंगा हान्ने दुस्साहस नगर्न पनि काँग्रेस– एमालेलाई चुनौति दिनु दिनु भएको थियो ।
त्यस्तै, सोही स्थानमा जन्मथलो भई हाल काठामाडौं निर्वाचन क्षेत्र नं ६ का उपसभापति कैलाश सिलवालले पार्टी सभापतिले भ्रष्टाचारका २५ वटा फायलको धुलो टक्टक्याएर खोल्ने जमर्को गरेपछि उहाँलाई प्रतिशोध पूर्ण तरिकाले फसाउने प्रयास भएको हो, अन्यथा आजका दिनसम्म किन दोषी करार गर्न नसकेको भन्ने उल्लेख गर्नुभयो ।
सोही वडाका उपसभापति कृष्णबाबु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा रास्वपाका जिल्ला सदस्य होम राउत, सोही नगरका सभापति कृष्ण राउत, र्याट विभागका प्रमुख श्याम केसी लगायतले शुभकामना व्यक्त गरेको सभामा समाजसेवी हरिनिधि तिवारीले स्वागत गर्नु भएको थियो भने जिल्ला सचिव रमा खड्काबाट कार्यक्रम सञ्चालन गरिएको थियो ।
सोही वडाका उपसभापति कृष्णबाबु पाण्डेको सभापतित्वमा नयाँ समिति गठन गरिएको छ । समितिको उपसभातिमा कृष्णबहादुर भण्डारी, सचिव रामजी जोशी चयन हुनुभएको छ । सदस्यहरूमा सीता कार्की, भीमबहादुर कार्की, डम्बरबहादुर बस्नेत, भगवानबहादुर सिलवाल, लक्ष्मण तामाङ, मेनुका परियार, अरुणा परियार र रुपिला परियार चयन हुनु भएको निर्वाचन समितिका संयोजक एवम् सो दलका जिल्ला उपसभापति प्रकाश थापाले बताउनु भयो ।
नवनिर्वाचितहरूलाई जिल्ला सभापति अशोक सापकोटाले शपथ खुवाउनु भएको निर्वाचन समितिका सदस्य एवम् संगठन विभागका प्रमुख बाबुराम अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८२ मंसिर २७, शनिबार २२:३८ गते