काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गरेको छ । अध्यक्षमा आफू निर्विकल्पका रुपमा स्थापिन हुने अध्यक्ष केपी शर्मा ओलीको चाहना(सपना) भने चकनाचुर भएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उहाँलाई चुुनौति दिदै अध्यक्ष पदमा उम्मेदवारी मंसिर २९ गते दर्ता गराउनु भएपछि ओलीको सपना चकनाचुर भएको हो । भावी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलका बीचमा प्रतिस्पर्धा हुदैछ । निर्वाचनका लागि आज पुस १ गते मतदानको तयारी चलिरहेकोछ ।
बीच नेतृत्वदेखि आयोगसम्मका सबै पदमा प्यानल प्रतिस्पर्धा हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन हुदैछ । प्रारम्भिक नामावली अनुसार अध्यक्षमा ईश्वर पोखरेल र केपी शर्मा ओलीले अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले बताउनु भयो । ओली पक्षमा भएको विद्रोहले पोखरेल पक्षलाई फाइदा हुने देखिएको छ । जसका कारण पोखरेल पक्ष बढी उत्साहित देखिएको छ र निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थिति उत्पन्न भएको छ ।
१९ पदाधिकारी सहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि ओली र पोखरेल दुबैले प्यानलसहित अगामी नेतृत्वका लागि मैदानमा उत्रिएका छन् ।
अध्यक्षका प्रतिस्पर्धी ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, गुरुप्रसाद बराल, पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । ओली समूहबाट उपाध्यक्ष प्रस्ताव गरिएका प्रदिप ज्ञवालीले उम्मेदवारी दर्ता नगरेपछि एक उपाध्यक्ष पद उहाँको समूहबाट खाली भएको छ ।
महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ, लेखराज भट्टले उम्मेदवारी दिएका छन् । यसैगरी सचिवमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, डा.राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई, महेश बस्नेत र भानुभक्त ढकालले उम्मेदवारी दिनु भएको छ । ओली समूहबाट केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा काशिनाथ अधिकारी, लेखा आयोगको अध्यक्षमा डा. पुष्प कँडेलले उम्मेदवारी दिनु भएको छ । भीम आचार्यले स्वतन्त्र रुपमा उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ ।
यसैगरी, पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीले उम्मेदवारी दिनु भएको छ । पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीले उम्मेदवारी दिएका छन । सचिवमा कर्ण थापा, रचना खड्का, गोकुल बाँस्कोटा, बिनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरै, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । दुबै समूहबाट सचिवका लागि १८ जना उम्मेदवार हुनुपर्नेमा २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
असन्तुष्टले छाडे ओलीको साथ :
११औँ महाधिवेशनको चुनावी माहोल तातीरहेकै बेलामा अध्यक्षका प्रतिस्पर्धी ओलीको साथ छोडने नेताहरूको संख्या पनि बढ्दै गएको छ । विगतमा ओलीलाई दरो साथ, सहयोग गर्दै आएका नेताहरूले खोजे जस्तै र रोजेजस्तै पदमा उम्मेदवारी दिन नपाएपछि ओलीसंग असन्तुिष्ट व्यक्त गर्दै साथ छोडेको खुल्न आएको छ । ओलीसंग अध्यक्षमा प्रतिस्पर्धा गर्नु भएका पोखरेल सुरुमा कमजोर जस्तो देखिए पनि यी नेताहरुले ओलीको साथ छोडपछि झनझन बलियो हुँदै जाँदा कडा प्रतिस्पर्धा हुने स्थिति बनेको छ ।
विगतमा ओली समूहमा रहेर पार्टी एवं राजकीय भुमिकामा समेत महत्वपूर्ण जिम्मेवारी पाउनु भएका प्रदिप ज्ञवाली, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, लालबाबु पण्डित, राजेन्द्र गौतम, अग्नि खरेल, लिला गिरी, कृष्ण राई, नवराज सिलवाल लगायतका नेताहरूले ओलीको साथ छोड्नु भएको हो ।
पार्टीको १०औं महाधिवेशनका उपमहासचिव बनेका ज्ञवालीले यसपटक महासचिवमा प्रतिस्पर्धा गर्न चाहेका थिए । ज्ञवालीलाई अध्यक्ष ओलीले उपाध्यक्षको उम्मेदवार बनाउन खोजेपछि उनले पदाधिकारीको कुनै पनि पदमा उम्मेदवारी नदिइ ओली गुटको गुण्डु बैठकबाट रुदै बाहिरिएको समाचार आइरहेको छ । ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए । ज्ञवाली ओलीका विश्वासपात्र नेता मानिनु हुन्छ ।
ज्ञवालीले भन्नुभयो, ‘म एमालेको पदाधिकारी थिएँ, अब कार्यकर्ता भए । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुनुपर्छ । एउटै व्यक्तिलाई दोहो¥याइ राख्ने प्रवृत्ति उचित भएन । मेरो मन एकदमै दुखेको छ ।’
यता, यसअघि आफ्नै क्याविनेटमा शिक्षामन्त्री बनेका पन्तले पनि ओलीको साथ छाडेर पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ ।
ओलीको प्यानलबाट सचिव उम्मेदवारका आकांक्षी रहेका गौतमले पनि स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिनु भएको छ । ओलीलाई फुटबलको प्लेसँग तुलना गरेर चर्चामा आएका श्रेष्ठले पनि ओलीको साथ छाडेका छन् । श्रेष्ठले पोखरेलको समूहबाट सचिवमा उम्मेदवारी दिनु भएको छ ।
त्यस्तै, यसअघि ओलीका विश्वास पात्र मानिएका बाँस्कोटा पनि ओलीबाट असन्तुष्ट देखिनु हुन्छ । केही समय पहिलादेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुल्दै आउनु भएका बाँस्कोटाले पोखरेल समूहबाट सचिवमा चुनाब लड्ने हुनुभएको छ ।
ओली समूहबाट अनुशासन आयोग उपाध्यक्षमा प्रस्तावित नेता गिरीले उक्त प्रस्ताव अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘मेरो नाम अनुशासन आयोगको उपाध्यक्षमा आएको देखेँ तर त्यसमा मेरो सहमति थिएन र छैन । म खुला क्षेत्रबाट केन्द्रीय कमिटीको उम्मेदवार हुँ ।’ गिरी यसअघि पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री रहिसक्नु भएको व्यक्तित्व हो ।
पदाधिकारी आकांक्षीमा नयाँ अनुहार :
एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने मध्ये ओली समूहबाट केही नयाँ अनुहारले पदाधिकारीमा उम्मेदवारी दिने अवसर पाएका छन् । ओली समूहले सचिवमा खगराज अधिकारी, यामलाल कँडेल, डा.राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई, भानुभक्त ढकाल, महेश बस्नेतले उम्मेदवारी दिनु भएको छ ।
उता, पोखरेल समूहबाट पनि केही नयाँ अनुहारका नेताले पदाधिकारी हुने अवसर पाएका छन् । पोखरेल समूहबाट पदाधिकारीमा अधिकांश उम्मेदवार नयाँ छन् । विगतमा स्थायी कमिटी, पोलिटव्यूरोसहितका कमिटीमा रहेर काम गरे तर पदाधिकारीको हकमा यी नेताहरू नयाँ हुन् । पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्की पदाधिकारीका लागि नयाँ हुनु्हुन्छ । यसैगरी उपमहासचिवमा उम्मेदवारी दिएका आनन्द पोखरेल र बैजनाथ चौधरी सचिवमा उम्मेदवारी दिएका कर्ण थापा, गोकुल बाँस्कोटा, पुरुषोत्तम पौडेल, बिनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरै, इन्द्रलाल सापकोटा, रचना खड्का सहित नेता पदाधिकारीका लागि नयाँ अनुहार मानिनु हुन्छ ।
मतदानका लागि ८० वटा विद्युतीय मेसिन :
एमालेमा नेतृत्व चयनका लागि ८० वटा विद्युतीय मेसिनको प्रयोग गरिदैछ । एक सय विद्युतीय मेसिन ल्याए पनि ८० वटा विद्युतीय मेसिनको प्रयोग गरिने तयारी रहेको निर्वाचन आयोगका अध्यक्ष ड. विजय सुब्बाले बताउनु भयो । उहाँका अनुसार यस अघि १०आँ महाधिवेशनमा एमालेले नेतृत्व चयनका लागि विद्युतीय मेसिनको प्रयोग गरेको थियो ।
महाधिवेशनमा २२ सय ६३ जना प्रतिनिधि सहभागी छन् । एक प्रतिनिधि अर्थात एक मतदातालाई ३० देखि ४० मिनेटसम्म मतदान गर्न समय लाग्ने बुझिएको छ । उम्मेदवारी दर्ता कार्यक्रम हिजो सम्पन्न गरेको महाधिवेशनमा आज अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ । यो संशोधन गरेर मतदानको समय तालिका हो ।
यसअघि भोलि बिहान ११ बजेदेखि ५ बजेसम्मका लागि मतदानको तय भएको थियो । यसमा मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म तय गरिएको थियो ।
महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।
केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशीलकुमार थापासहित केही पद निर्विरोध :
यसैबीच, नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध चयन भएको छ । उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन भएसँगै मंसिर २९ गते त्यस्तो पुष्टि भएको हो । ४० वर्षमुनिका खुला दुई पदमा रोकाया र थापा मात्रैको उम्मेदवारी परेसँगै उहाँहरू निर्विरोध हुनु भएको हो । ४० वर्षमुनिको युवाको दुई पदमा एक जना अमरकुमार यादवको मात्रै उम्मेदवारी परेको छ ।
त्यस्तै, मधेसी महिलाको ६ पदमा पाँच जनाको मात्रै उम्मेदवारी परेको छ । ज्वालाकुमारी साह, प्रतीक्षा तिवारी, रेखाकुमारी झा, सरिताकुमारी गिरी (यादव), सविता यादवको मात्रै उम्मेदवारी परेको हो । त्यहाँ एक पदमा उम्मेदवारी परेको छैन ।
श्रमिक महिला क्लस्टरको दुई कोटामा कमलादेवी तामाङ र बलदेव रेग्मीको मात्रै उम्मेदवारी परेको छ । पिछडिएको क्षेत्र महिलातर्फ एक पदमा बदमी क्वारी बुढा (बोहरा)को मात्रै उम्मेदवारी परेको छ । मुस्लिम महिलातर्फ पनि एक पदका लागि खाजिदा खातुन सिद्धकिको मात्रै उम्मेदवारी परेको छ ।
प्रवाश दक्षिण एसियातर्फ एक पद केन्द्रीय सदस्यका लागि हरिप्रसाद घिमिरेको मात्रै उम्मेदवारी परेको छ । केन्द्रीय अनुसान आयोगको अध्यक्षमा पा. डा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली, सचिव डा. राजेन्द्र घिमिरेको मात्रै उम्मेदवारी परेको छ ।
केन्द्रीय लेखा आयोगमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे, सचिवमा ईश्वरीप्रसाद खरेलको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
लमजुङबाट ८ जनाको दावी :
यसैबीच, एमाले महाधिवेशनको ११ औं अधिवेशनका अवसरमा विभिन्न पदमा लमजुङबाट ८ जनाको दावी(उम्मेदवारी) परेको छ । जसमा उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्यमा खुल्लातर्फ कृष्णप्रसाद अधिकारी, पूर्व केन्द्रीय सदस्य डा. भिष्म अधिकारी, जमीन्द्रमान घले, महिलामा टुका हमाल, यशोदा रिमाल, सम्पर्क समन्वय कमिटिबाट कल्पना थापा र दलितमा कलस्टरमा हिरालाल विश्वकर्माको उम्मेदवारी दिनु भएको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८२ पुष १, मंगलवार ०८:१६ गते