काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको बहुप्रतिक्षित निर्वाचनको मतदान सकिएको छ । हिजो बिहान ९ः१५ बाट सुरु भएको मतदान पुस ३ गते बिहान सकिएको हो । मतदान ९८.४ प्रतिशत मात्र भएको छ ।
अब मतगणनाको प्रक्रिया सुरु गर्न बैठक बसिरहेको छ । बैठक सकिनासाथ मतगणना सुरु हुने र साढे १२ बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलले भन्नुभयो । उहाँका अनुसार ‘कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्यो भने पनि हाम्रो लक्ष्य १२ बजेसम्ममा रिजल्ट आउट गर्ने तयारी छ । उहाँले भन्नुभयो, ‘८० वटा मेसिन लक गर्नुपर्छ । यी ८० वटा मेसिन १० वटा कमाण्डबाट चलेका छन् । एउटा कमाण्डमा ८ वटा मेसिन छन् । ती मेसिनमा एक–एक वटा चिप्स हुन्छ । ती चिप्सहरुमा लाहा छाप लगाएर सुरक्षित राख्ने प्रक्रिया पूरा गर्छौं, त्यसपछि उम्मेदवार र उम्मेदवारहरूको प्रतिनिधिहरूको रोहवरमा काउन्टिङको प्रक्रिया सुरु हुन्छ ।’
भृकुटीमण्डपमा ८० वटा विद्युतीय मेसिनमार्फत् भोटिङ भएको थियो । २ हजार २६३ प्रतिनिधिहरुमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् । यसअनुसार ३६ जना अनुपस्थित भएका छन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेका केहीले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो ।
एमालेले भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखेको छ ।
मतदान नगर्नेहरूमा :
‘नो भोट’को सदुपयोग भन्दै केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफैंला भोट हाल्नु भएन । गुल्मीबाट प्रतिनिधि भएर आउनु भएका अर्यालले ‘नो भोटको सदुपयोग’ भन्दै मतदान नगरेको बताउनु भएको छ । अर्याल प्रेस चौतारीका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
केन्द्रीय सदस्य बसन्त नम्वाङ पनि मतदानमा नगर्नेमा हुनुहुन्छ । उहाँ बिरामी परेका कारण मतदानमा उपस्थित नभएको उनीनिकट स्रोतले जनाएको छ । यसअघि केन्द्रीय सदस्यहरू रहेका मुकुन्द न्यौपाने, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशीले पनि मतदानमा भाग लिनु भएन ।
यसैगरी? अनुशासन आयोगको पूर्वसदस्यहरू पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीप प्याकुरेल पनि अनुपस्थित रहनु् भयो ।
यसैगरी, झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधनप्रसाद सिंह, पर्साका राजेन्द्र प्रसाद यादव, अंशु आनन्द, मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर, महोत्तरीका जितेन्द्र चौधरी अनुपस्थित रहेको जानकारीमा आएको छ । यसैगरी, दानबहादुर विक, बब्लु सिवाकोटी, सिर्जना नेपाली, अशिम कोइराला, दिनेशकुमार बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल, गोमा नेपाली अनुपस्थिथि रहे।
समीर नेपाल, रचना राजोपाध्याय, अशोक केसी, घनश्याम कोइराला र सञ्जीव रोकाहाले पनि मतदान नगरेको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८२ पुष ३, बिहीबार ०९:२३ गते