काठमाडौं– नेकपा (एमाले)को ११ औं महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना सुरू भएको छ । मत गणनाको सम्पूर्ण परिणाम पुस ३ गते एकै पटक आउने बताइएको छ । गणनाका लागि तीन घण्टा लाग्ने एमालेको केन्द्रीय निर्वाचन आयोगको भनाइ छ ।
बिहान सवा ७ बजे मतदान सकिएकोमा मुचुल्का र प्रतिनिधिहरूको सहमतिपछि १० बज्नै लाग्दा मतगणना सुरू गरिएको हो । कुल दुई २६३ मतदातामध्ये दुई २२७ मत खसेको थियो, ३६ जना अनुपस्थित रहेका थिए ।
नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भएको मतदानको गणना प्रारम्भ भएको छ । तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी मतगणना सुरु भएको एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । हिजो बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा चलिरहेको छ । सो पार्टीको शक्तिशाली मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेको १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०३ जना उमेदवार छन् ।
मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणना सुरु गरेको करिब तीन घण्टामा नतिजा सार्वजनिक हुने छ । उहाँले भन्नुभयो, ‘गणना सुरु भएर सकिएपछि एकैचोटि मत परिणाम आउँछ । सबैको एकैचोटि टेबलमा आउँछ, बीचमा भनिँदैन ।’
मतगणनाका समयमा उमेदवारका प्रतिनिधि, प्राविधिक र आयोगका सदस्यको उपस्थिति रहने व्यवस्था छ । ‘प्रतिनिधि उमेदवारको एक÷एकजना, आईटी पर्सनहरू हुनुहुन्छ चारजना, अनि, आयोगका साथीहरू बस्नुहुन्छ ।’ एमाले निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले जानकारी दिनुभयो ।
गत मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित चौरमा महाधिवेशन उद्घाटन गरिएको थियो । त्यसको भोलिपल्टदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु गरिएको थियो । मंसिर २९ गते महाधिवेशन सकाउने पूर्वनिर्धारित तालिका थियो । तर, मतदानमा ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो । पुस २ गते बिहान करिब सवा ९ बजेदेखि मतदान थालिएको थियो भने आज बिहान सवा ७ बजे मतदान सकिएको हो ।
प्रकाशित मिति २०८२ पुष ३, बिहीबार १०:२२ गते