भोटेओडार(लमजुङ)– आउँदो फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङवाट प्रत्यक्षको एक सिटमा प्रत्यासीहरू १३ जना र समानुपातिकतर्फ १५ जनाको नाम जिल्लाको बैठकमा पेश भएको छ । सो दलको जिल्ला समितिको पुस ९ गते सम्पन्न पूर्ण बैठकमा ती नाम पेश भएको हो ।
प्रत्यक्षतर्फ उमेदवार हुन इच्छा व्यक्त गर्नेहरूमा देवप्रसाद गुरुङ, पारसमणि पौडेल, देवेन्द्र पराजुली, इजन बराल, ऋषि कट्टेल, मधु अधिकारी, उर्मिला माझी, मेषबहादुर भण्डारी, हरिजंग तामाङ, चन्द्रकान्त न्यौपाने, लिलिजंग गुरुङ र यम बहादुर गुरुङ रहनु भएको जिल्ला इन्चार्ज रामबाबु अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार समानुपातिकतर्फ दयाशागर घिमिरे, कृष्णबहादुर सुनार, सरस्वती भट्टराई, नन्दबहादुर कुमाल, मुरारी भुजेल, हिमकुमारी सुनार, इन्दिरा पोख्रेल, सुनिल सुनार, वासुदेव मिश्र, यशोदा न्यौपाने, होमराज तामाङ, अजय तामाङ, देवबहादुर दुरा र मातृकाप्रसाद खनाल हुनुहुन्छ ।
पार्टी केन्द्रको सर्कुलर अनुसार फौजदारी अभियोग नलागेको, एउटा निर्वाचन क्षेत्रबाट एक जना महिला सहित ५ जनाको नाम सिफारिस गर्नुपर्ने छ । यसैगरी एउटै परिवारका एक भन्दा बढी सदस्य सिफारिस नगर्ने, राजश्व नतिरेका र कालोसूचीमा परेका व्यक्ति उमेदवारमा अयोग्य हुने, हरेक निर्वाचन क्षेत्रबाट एक जना अनिवार्य नवयुवा, युवा पुस्तालाई उमेदवार सिफारिस गर्नुपर्ने सर्कुलरमा उल्लेख गरिएको बताइएको छ ।
सो मापदण्डको आधारमा नेकपा लमजुङले ती व्यक्तिहरू माध्यवाट सिफारिस गर्नेछ । सुन्दरबजार नगरपालिका– ९ को पैह्रेमा सम्पन्न भएको उक्त बैठकमा दुवै इन्चार्जहरू पारसमणि पौडेल र रामबाबु अधिकारीको संयुक्त प्रमुख आतिथ्यता रहेको थियो । तत्काल एकीकरणका काम सम्पन्न गर्न बाँकी भएको हुँदो यो स्थिति बनेको हो अधिकारीले जानकारी दिनुभयो ।
पार्टी केन्द्रको सर्कुलर अनुसार एउटा निर्वाचन क्षेत्रबाट एक जना महिला सहित ५ जना प्रत्यक्षमा र दुई जना महिला सहित ४ जना समानुपातिक उमेदवार छनोट गर्न निर्देशन दिएको थियो । आकाङ्क्षीहरू धेरै देखिएपछि बाँकी मिलाएर केन्द्रमा पठाउन लमजुङ जिल्लाबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गरेका नेतृत्वलाई जिम्मा दिइएको छ । यही पौष ११ गतेसम्म सबै निर्वाचन क्षेत्रबाट उमेदवार सिफारिस गरिसक्नु पर्ने केन्द्रले पठाएको सर्कुलरले भनेको अर्का जिल्ला इन्चार्ज पारसमणि पौडेलले बताउनु भयो ।
सो दल एकीकरण पछि दुई पार्टीका इन्चार्ज हाल जिल्ला इन्चार्ज छन् । जिल्ला इन्चार्ज रामबाबु अधिकारीले भने उम्मेदवारीमा दावी नगरेको उल्लेख गरे । उहाँका अनुसार म तत्काल पार्टी निर्माणका काममा लाग्छु । उहाँले भन्नुभयो, ‘ऐलेको पदीय भागवण्डामा म लाग्ने सोचमा छैन, त्यसैले साथीहरूको आग्रह भए पनि मैले दावी गरिन ।’
बैठकमा पार्टी केकसहरु पराजुली, अधिकारी र पौडेलले पार्टी एकता, आगामी निर्वाचन, समसामयिक राजनीतिक परिथिति लगायतका विषयमा विचार राख्नु भएको थियो ।
प्रकाशित मिति २०८२ पुष १०, बिहीबार १७:११ गते