एकै थलोमा दोर्दीका १४ जना किसान सम्मानित

एकै थलोमा दोर्दीका १४ जना किसान सम्मानित

प्रमिला रेग्मी

@antaranganews

२०८२ पुस १० गते बिहिबार ०६:०३

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले लमजुङ जिल्ला प्राकृतिक रुपमा मात्र सुन्दर र सम्पन्न नभई सांस्कृतिक विविधिताले भरीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले हाम्रो धर्म र संस्कृति, भेषभुषा, राष्ट्र र राष्ट्रियता संरक्षणमा सबै एकतावद्ध हुनुपर्ने जोड दिनुभयो ।

कृषिका विभिन्न विधाबाट छनौट भएका सम्मानित हुने कृषकहरूलाई जनही ५ हजार रुपैयाँ नगद, प्रमाणपत्रले सम्मान गरिएको हो ।

नौथर(लमजुङ)– लमजुङमा एकै दिन एउटै मञ्चमा १४ जना किसान सम्मानित भएका छन् । जिल्लाको दोर्दी गाउँपालिकाले सञ्चालन गरेको प्रथम दोर्दी सांस्कृतिक महोत्सव २०८२ मा पालिकाका कृषि क्षेत्रका विभिन्न विधाबाट उत्कृष्ठ किसान छनोट गरी सम्मान गरिएको हो ।
सम्मानित हुने किसानहरूमा पशुपालन र कृषि तथा तरकारी खेती गर्ने किसान पुरस्कृत भएको सो गाउँपालिकाको कृषि शाखाका प्रमुख निराजन पौडेलले बताउनु भयो । उहाँका अनुसार यसरी सम्मानित हुने कृषकहरूलाई जनही ५ हजार रुपैयाँ नगद, प्रमाणपत्रले सम्मान गरिएको हो ।
उहाँले भन्नुभयो, ‘बोका प्रदर्शनीमा दोर्दी– २ स्थित अधिकारी मल्टी एग्रो फर्म सञ्चालक रविन्द्र अधिकारी, भैस्वाँरा बाख्रा फर्मका लालप्रसाद गुरुङ, दोर्दी– १ को रुपा मौरी फर्मका प्रेमबहादुर अधिकारी, दोर्दी– १ स्थित प्यार्दी कृषि फर्म दलबहादुर भुजेल सम्मानित भएका छन् ।’
सम्मानित हुने अन्य किसानमा दोर्दी– ४ मा विआइ कृषि फर्ममार्फत किवी खेती गर्नु हुने केरसिङ घले, दोर्दी– ८ मा कृष्णा बाख्रा फर्ममार्फत बाख्रापालक कृष्णा तामाङ, दोर्दी– २ कैजले भैंसी फर्ममार्फत भैंसीपालन कार्य गर्ने सिर्जना मरेटा, दोर्दी– ९ भिरकुना कृर्षि फर्ममार्फत मौरीपालन गर्ने चित्रबहादुर गुरुङ र दोर्दी– २ कालिका मिलिजुली कुखुरा तथा माछा फर्म–कुखुरापालन कार्य गर्ने भरत कँुवर छन् ।
यसैगरी, अन्य सम्मानित कृषकहरूमा दोर्दी– ३ श्रीमन्जाङ कृषि फर्म– भैंसीपालनकर्ता धनबहादुर गुरुङ, दोर्दी– ३ मै नमुना कृषि फर्म– मिश्रीत खेती गर्ने कुलप्रसाद श्रेष्ठ, दोर्दी– ४ सुकराम मौरीपालन तथा तरकारी फर्म– तरकारी खेती गर्ने सुकराम गुरुङ, दोर्दी– ४ मिलिजुली कृषि तथा पशुपालन फर्म– तरकारी खेती धनबहादुर तामाङ, दोर्दी– ४ का दोर्दी कृषि तथा पशुपालन फर्म– तरकारी खेती गर्ने सावित्री पाण्डे सम्मानित भएको कृषि शाखाका प्रमुख पौडेलले जानकारी दिनु भयो ।
प्रथम दोर्दी खेलकुद कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव– २०८२ को उदघाटन कार्यक्रममा महोत्सवको मूल समारोह समितिका संयोजक एवम् दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उदघाटन गर्दै खेलको माध्यमबाट युवाको सहभागिता सँगै, विभिन्न जातजाति र समुदायका फरकफरक कला संस्कृति प्रस्तुति तथा कला संस्कृति संरक्षण र स्थानीय उत्पादनको बजारिकरण तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सवले सहयोग गर्ने विश्वास लिएको बताउनु भयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले लमजुङ जिल्ला प्राकृतिक रुपमा मात्र सुन्दर र सम्पन्न नभई सांस्कृतिक विविधिताले भरीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले हाम्रो धर्म र संस्कृति, भेषभुषा, राष्ट्र र राष्ट्रियता संरक्षणमा सबै एकतावद्ध हुनुपर्ने जोड दिनुभयो ।
महोत्सवमा आएका पाहुनालाई मायाको चिनो स्वरुप अकबरे खुर्सानी र भिर मौरीको मह दिइएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले आयोजना गरेको महोत्सवमा अतिथिहरूलाई मायाको चिनो स्वरुप अकबरे खुर्सानी र भीर मौरीको मह दिएको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो ।
महोत्सवको उदघाटन सत्रमा गाउँपालिकाका कर्मचारीहरूले स्वागत नृत्य, बन्सार माझगाउँ आमा समूहको नृत्य, ढोडेनी बालुन समूहको बालुन, तल्लो पाचोकको मारुनी नृत्य, श्रीमञ्ज्याङको सेर्का नाचसँग कलाकार रेशम गुरुङ समूहले मौलिक नृत्य प्रस्तुत गरेका थिए । गाउँपालिकाका प्राविधिक मनोज यादवको गायन प्रस्तुति रहेको थियो ।
महोत्सवमा पहिलो दिन कृषि प्रर्दशनीतर्फ रैथाने उत्पादन अकबरे खुसार्नी, गोलभोडा, कागती पिंडाल, भुइँकटहरलगायतका उत्पादनहरू र कुखुरा, खसी बोका र भैंसी राखिएको छ ।
आमा समूहहरूको खुला नृत्य प्रतियोगिता तथा पालिकास्तरीय फुटबल प्रतियोगितासमेत सञ्चालन गरिएको छ । महोत्सवको औपचारिक उदघाटन अघि, जातीय भेषभुषा, सांस्कृतिक झाँकी र बाझागाजा सहित ¥याली निकालिएको थियो ।

प्रकाशित मिति २०८२ पुष १०, बिहीबार १८:०३ गते
हजुरको प्रतिक्रिया