
दोर्दी(लमजुङ)– दोर्दी गाउँपालिकाले आफ्नो पालिकाभित्र होमस्टे सञ्चालकहरूलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गरी गाउँमै रोजगारीको प्रवन्ध गर्नका लागि सो तालिम सञ्चालन गरिएको हो ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले तालिमको उद्घाटन गर्दै दोर्दी गाउँपालिकामा यसअघि होमस्टेलाई प्रवद्र्धन गर्न ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रमको सुरुवात भएकोमा अहिले होमस्टे सञ्चालकलाई व्यवस्थापन तथा खाना बताउने तालिम दिन थालेको बताउनु भयो । उहाँले पर्यटकलाई स्वागत गर्न र पर्यटकसंग बोल्दा नलजाउन आग्रह गर्नु भएको थियो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले पर्यटन प्रवद्र्धनका माध्ययमबाट गाउँघरका नागरिकलाई स्वरोजगार बनाउन, अर्गानिक उत्पादनप्रति आकर्षित गर्न, आर्थिक उपार्जन गराउन तथा गाउँका नागरिकलाई गाउँमै बस्ने वातावरण बनाउन गाउँपालिकाले होमस्टे सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्दै आएको बताउनु भयो । उहाँले गाउँको आर्थिक उन्नति र विकासका लागि गाउँमै स्वरोजगार आवश्यक रहेको उल्लेख गर्नुभयो ।
दीगो पर्यटन परियोजनाको समन्वयमा दोर्दी गाउँपालिकाले आयोजना गरेको होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम पुस १३ गतेसम्म समापन गर्ने कार्यक्रम छ । तालिममा होमस्टे महासंघ गण्डकी इन्चार्ज चुडामणि पौडेल र होटल व्यवस्थापन प्रशिक्षण केन्द्रका सञ्चालक मोहन गजुरेलले प्रशिक्षण दिनु भएको छ ।
दोर्दी गाउँपालिका– ७, माथिल्लो दैलुङमा ५ दिने तालिम जारी रहेको छ । सो तालिममा दोर्दी गाउँपालिका वडा नं. २, ३, ६, ७, ८ र ९ मा होमस्टे सञ्चालन थालेका गाउँका होमस्टे सञ्चालकहरूले भाग लिएका छन् ।
सो प्रशिक्षणमा ३० जना बढी होमस्टे सञ्चालकहरूले भाग लिएका छन् । यस प्रशिक्षण कार्यले ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा गुग्ने, अर्गानिक उत्पादनतर्फ आकर्षण गर्ने, बाँझो पल्टिदै गएका खेतीयोग्य जमिनको उपयोग हुने, गाउँको लोक संस्कार तथा कला संस्कृतिको संरक्षणमा बल पुग्नुका साथै गाउँमै स्वरोजगार बन्ने वातावरण सिर्जना हुने विश्वास गरिएको छ ।
दोर्दी गाउँपालिकामा वडा नं. २ को सल्लाबोट, ३ को श्रीमञ्ज्याङ लामागाउँ, ६ को ताँजे, ७ को लप्सीबोट र दैलुङ, ८ को टाप गाउँ र खिन्चोक गाउँ र ९ को माझगाउँ गरी ७ वटा गाउँमा होमस्टेहरू दर्ता गरी सञ्चालनमा ल्याइएका छन् ।
दोर्दी गाउँपालिकाको वडानं– १, ४ र ५ मा मात्र होमस्टे कार्यक्रम सञ्चालन हुन बाकी रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले गर्नु भएको थियो ।
– आश गुरुङको सहयोगमा ।
प्रकाशित मिति २०८२ पुष १२, शनिबार ०७:२० गते