काठमाडौँ– नेपालको राजनीतिमा हलचल पैदा गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’को सहमति भएको छ । ‘नयाँ शक्ति’ को रूपमा उदाएका दुई प्रभावशाली व्यक्तिहरुले अब एउटै झण्डा र एउटै चुनाव चिन्ह ‘घण्टी’ मुनि गोलबद्ध हुने घोषणा पुस १३ गते विहान भएको हो ।
आज विहान भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने तय भएको छ । रवि लामिछाने र बालेन शाह बीच भएको सहमति पत्रका दुवैको हस्ताक्षर रहेको सार्वजनिक गरिएको छ ।
सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ : रवि
रास्वपा) सभापति रविले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताउनु भएको छ ।
रविले आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सम्झौता भएपछि फेसबुकमार्फत् सो प्रतिक्रिया सार्वजनिक गर्नु भएको हो ।
बालेन शाह रास्वपामा आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राखिएको छ ।
उहाँहरूबीच पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनपछि संसदीय दलको नेता एवम् भावी प्रधानमन्त्री बालेन हुने सम्झौता भएको छ ।
सहमति पछि रवि र बालेन शाह एक अर्काले आफ्नो तस्वीर समेत शेयर गर्नु भएको छ । बालेन शाहले रवि लामिछानेसँगको फोटो शेयर गर्दै ‘शुभप्रभात’ लेख्नु भएको छ ।
रास्वपा र बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो । त्यसको श्रीगणेश रास्वपा बैठकले उपसभापति स्वर्णिम वाग्लेलाई दिएसँगै भएको थियो । रास्वपाका सभापति रवि रिहा हुनु भएपछि पुस ७ गतेदेखि दुवै नेताबिच निरन्तर भेटघाट र छलफल सुरु भएको थियो । पटक–पटकका औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिकोण, नेतृत्व संरचना र भावी कार्यदिशाबारे गहिरो विमर्श भएपछि अन्ततः यो सहमतिमा पुगिएको हो ।
रवि र बालेनले आफूहरूलाई पहिलो र दोस्रो पक्षको रुपमा प्रस्तुत गर्दै अब बृहत एकता गर्ने उद्घोष गरेका छन् । उहाँहरूले आफूहरूको अभियानलाई बैकल्पिक राजनीतिक शक्तिको नाम दिएर रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन आह्वान गर्नु भएको छ ।
उक्त ऐतिहासिक सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन, विशेष गरी भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ ।
रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्री :
सहमति पत्र अनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिको जिम्मेवारीमा रहने र बालेन्द्र शाह आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता र पार्टीको तर्फबाट ‘भावी प्रधानमन्त्री’को उम्मेदवार बन्ने उल्लेख छ ।
१० वर्षभित्र नेपाललाई ‘मध्यम– आय’ भएको राष्ट्र बनाउने संकल्प :
भविष्यको आशाका रुपमा हेरिएका दुई नेताबीच भएको ७ बुँदे सहमतिमा केवल सत्ता समीकरण मात्र नभई देशको आर्थिक र सामाजिक रूपान्तरणको स्पष्ट मार्गचित्र पनि समेटिएको छ । त्यसका लागि–
भ्रष्टाचारविरुद्धको साझा मोर्चा :
युवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनलाई स्वामित्व लिँदै शहीद र घाइते परिवारका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
आर्थिक मार्गचित्र :
अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक ‘मध्यम–आय’ भएको राष्ट्र बनाउन गहिरो नीतिगत र संरचनात्मक सुधार गर्ने उल्लेख छ ।
पहिचान र चिन्ह :
पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने, झण्डा साविककै रहने र चुनाव चिन्ह ‘घण्टी’ रहने भनिएको छ ।
दक्षता र योग्यता :
पार्टीको संरचनामा विज्ञहरू र युवा अभियन्ताहरूलाई योग्यता र सार्वजनिक छविको आधारमा उचित स्थान दिइने छ ।
वैकल्पिक शक्तिहरूलाई एकताको आह्वान :
अन्य परिवर्तनकारी र सुसंस्कृत राजनीतिक शक्तिहरूलाई पनि ‘घण्टी’ चिन्हमा गोलबद्ध हुन खुला आह्वान गरिएको छ ।
आम निर्वाचनलगत्तै यी सहमतिहरूलाई निर्वाचन आयोगमा औपचारिक रूपमा अद्यावधिक गर्ने दुई पक्षबीच सहमति भएको छ ।
बालेन्द्र शाह अब रास्वपा नेता : स्वर्णिम वाग्ले
रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ‘बृहत् एकता’को सहमति सार्वजनिक भएसँगै स्वर्णिम वाग्लेले बालेन शाह रास्वपा नेता भएको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत स्वर्णिम वाग्ले खुसी व्यक्त गर्दै त्यस्तो प्रतिक्रिया दिनु भएको हो ।
उहाँले लेख्नु भएको छ । ‘बालेन्द्र शाह : अब रास्वपा नेता, आज बिहान ४ः१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ ।’
दुई दिन अघि नै हुने भनिएको सहमति किन रोकिएको थियो ?
पुस ११ गते नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने सहमति १२ गतेसम्म आइपुग्दा थप अनिश्चित बनेको प्रचार गरिएको थियो । केही बिचौलियाहरू यो सहमति भाँड्न पनि उद्दत देखिन्थे । तर, संवाद जारी थियो । अन्तिममा उहाँहरू खासगरी बालेनले कुलमानजीलाई पनि सँगै लानुपर्छ भन्ने खालको कुरा गर्नुभयो । यसले थप अनिश्चय बढायो ।
बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय सहमतिका क्रममा ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि सँगै लानुपर्ने भनेपछि अन्तिम समयमा सहमति अनिश्चित भएको थियो ।
स्रोतका अनुसार पहिलो दिन दिनभर रास्वपा र बालेन पक्षका व्यक्तिहरू छलफलमा थिए । दुई पक्षीयमात्र हुँदा हिजै विषय टुंगिने सम्भावनाबारे स्रोत भन्छ, ‘दुई पक्ष मिलेर अहिले जाने, पछि कुलमानजीलाई कुनै तरिकाले ल्याउँला भनेको । पहिलो दिन त्रिपक्षीय नै छलफल गर्नुपर्ने भन्दै राति एक होटलमा तीन नेता ‘डिनर’का लागि बस्ने पनि करिब–करिब तय भएको थियो । तर, अन्तिम अवस्थामा ‘डिनर मिटिङ’ पनि भएन ।
जारी सम्वादबाट दुई पक्षीय सहमति भए बालेनलाई प्रधानमन्त्री दिने र सभापति रवि लामिछानेले पार्टीको नेतृत्व गर्ने, बालेनसँग पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै रहने सहमति भयो । जसले यो परिणाम दियो ।
उक्त सहमति भएसँगै दशकौँदेखि नेपाली राजनीतिमा जकडिएका पुराना दलहरूलाई ठूलो चुनौती दिने र आम नागरिकमा नयाँ आशाको सञ्चार गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति २०८२ पुष १३, आईतवार ०७:५४ गते