काठमाडौँ– मुलुक निर्वाचनमय बन्दै गएको छ । निर्वाचन हुन्छ कि हुन्न भन्ने आशंकाका बीच आज राजनीतिक दलहरू आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दौडादौड गरिरहेका छन् । बन्द सूचि बुझाउने आज पुस १४ गते अन्तिम दिन हो ।
निर्वाचन आयोगले बन्दसूची बुझाउने समय आजसम्मका लागि तोकेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नथपिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । उहाँका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आयोगको कार्यालयमा पुगेका दलहरूलाई भोलि बिहान १० बजे पनि सेवा दिइने तयारी छ ।
उहाँले भन्नुभयो, ‘आयोगमा प्रतिनिधि पठाएर निस्सा लिने तर बन्दसूची समयमै पेस नगर्दा समस्या भएको हो ।’
समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन आज कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा भिडभाड छ । यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी निर्वाचन कार्यालय पुगको छ भने त्यसअघि ९ दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाई सकेका थिए ।
बन्द सूचिलाई अन्तिम रुप दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
यसैबीच नेपाली कांग्रेसका मीन विश्वकर्मा रसिद काटेर आयोगबाट बाहिरिनु भएको छ भने नेकपा नेता राजेन्द्र पाण्डे आयोग परिसरमै देखिनु भएको छ ।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन आइतबार र सोमबार गरी दुई दिनको समय दिइएको थियो ।
उता, मुलुकको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बैठक सुरु भएको छ । आन्तरिक प्रतिस्पर्धा तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रूप दिन केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।
रास्वपाले समानुपातिकतर्फका ३८७ आकांक्षी उम्मेदवारको अन्तिम सूची पुस ११ गते सार्वजनिक गरेको थियो । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अहिले बैठक चलिरहेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
राजनीतिक दलहरूले समानुपातिक सूचीमा दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत समेट्नुपर्ने अनिवार्य व्यवस्था छ ।
प्रकाशित मिति २०८२ पुष १४, सोमबार १८:१९ गते