बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ सरोकारवालाहरूसँग खाद्य स्वच्छता सम्बन्धि ऐन नियम गुणस्तर कार्यान्वयन बारे अन्तरक्रिया गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली, तनहुँको आयोजनामा लमजुङ जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा पुस १८ गते सो कार्यक्रम गरिएको हो ।
जिल्लामा आउनु भएका नयाँ प्रजिअ उमेश ढुङ्गानाको प्रमुख आतिथ्यतामा सरोकारवालासँग खाद्य स्वच्छता सम्बन्धि ऐन नियम गुणस्तर कार्यान्वयनका लागि अन्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ उमेश ढुंगानाले पालिकाहरूले आफ्नो क्षेत्रमा लाई खाद्य स्वच्छता कायम अग्रसर हुनुपर्ने र जनशक्ति र संरचना बढाउनु पर्ने तर अहिलेको अवस्थामा प्रशासन र विज्ञ कार्यालयले जिम्मेवारीबाट हात झिक्न नमिल्ने, त्यहाँबाट सम्झिन नभ्याए आफैँ सम्झाउनु पर्ने बताउनु भयो । खाद्य स्वच्छता विज्ञानको विषय भएकोले विज्ञ कार्यालयको सहयोग अनिवार्य लिन पालिका र प्रदेश स्थित कार्यालयलाई निर्देशन दिनुभएको थियो ।
उहाँले जिल्लामा सहायक प्रजिअ नेतृवको अनुगमन समिति हुने र आफूले अनुगमन निरीक्षणलाई नियमित गराउने बताउनुभयो ।
सहायक प्रजिअ थमन सिंह गौतमले आफूले खाद्य डिभिजनसँग सहकार्य गरी नियमीत अनुगमन गरेको र यस क्रममा घ्यू जस्तो देखाउन अस्वभाविक मूल्य MRP) राख्ने बेकरी सर्टेनिङ्ग, मूल्य सूची नराख्ने होटल पसल, अनुमति पत्र नलिने खाद्य उद्योग, फोहोर जारमा पानी भर्ने उद्योगलाई सचेत र कारवाहीको दायरामा ल्याएको जानकारी दिनुभयो ।
खाद्य डिभिजनका प्रमुख ज्योति आचार्यले कार्यक्रममा एक कार्यक्रममार्फत विषयको प्रस्तुति राख्नु भएको थियो । उहाँले खाद्य स्वच्छता कायम राख्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खेलेको भूमिका, राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ र यसमा प्रावधानहरू बारेमा जानकारी दिनु भएको थियो ।
दूषित, न्यूनस्तर र ढाँटी झुक्याई जस्ता कसुर र सजाय, खाद्य अनुमति पत्र लिने प्रावधान, स्थानीय तह र प्रदेशलाई दिएको अधिकार र तीनै तह मिलेर कार्यगरे मात्र जनताले महशुस गर्ने गरी सुधार भएको देखिने उहाँको तर्क थियो । डिभिजन कार्यालयले प्रभावकारी अनुगमन गरिरहेको र यसलाई निरन्तर राखिने उहाँले बताउनुभयो । उहाँले खुला सत्रमा उठेका प्रश्नको समेत जवाफ दिनु हुँदै जम्मा तीन जना स्टाफले भाडाको घरमा बसेर तनहुँ, नवलपुर, गोरखा, लमजुङ र मनाङ हेरिरहेको जानकारी दिनु भएको थियो ।
उक्त अवसरमा डिभिजन कार्यालयका प्रास अनुषा खरेलले समाजमा रहेका खाद्य सम्बन्धि भ्रमहरू र तिनको वैज्ञानिक व्याख्याको बारेमा कार्यपत्रमार्फत जानकारी दिनुभएको थियो । उहाँले प्लाष्टिकको पिठो, चामल, अन्डा, दूध नहुने, पकाएर खानेकुरामा सिन्टेटिक रंग प्रयोग गर्ननहुने, मसीयुक्त पत्रपत्रिकाको सिधा सम्पर्कमा खानेकुरा राख्न नहुने, फलफूल पकाउन जभाभावी विषादीको प्रयोग गर्न नहुने बारे सचेतना गराउनु भएको थियो ।
सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष नवराज पहाडीले आफ्नो समिति धेरै वर्षको अन्तरालमा बनेको दुई महिनामात्र भयो, हामी सिक्दैछौं भन्नुभयो । यो कार्यक्रममा पनि केही सिकाई प्राप्त भएको भन्दै उहाँले अर्गानिकका नाउँमा बिक्रि गरिने खानेकुरा के कति गुणस्तरयुक्त छन् ? र तिनका नाममा लिइने मूल्य मनासिव कति छ ? भन्ने प्रश्न गर्नु गर्नु भयो । माना पाथी प्रथाले उपभोक्ता अझै पनि ठगीमा पर्ने जोखिम कायम रहेकोले यसतर्फ सम्बन्धित निकायले तत्काल ध्यान दिन र यस्तो हितकारी कार्यक्रम जनस्तरमा लगेर सर्वसाधारणलाई सचेत गराउन सुझाव दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष एवम् प्रतिनिधि तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८२ पुष १८, शुक्रबार १८:३८ गते