पुराना तीन दलबिच चुनावी मोर्चाबन्दी आवश्यक : उपाध्यक्ष गुरुङ

पुराना तीन दलबिच चुनावी मोर्चाबन्दी आवश्यक : उपाध्यक्ष गुरुङ

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस २० गते आईतबार ०७:४१

जेनजी आन्दोलनका बेलामा सरकारको प्रवक्ता समेत रहनु भएका गुरुङले त्यो बेलामा भएको देशका होनहार युवाहरू ७६– ७७ जनाको हत्या भएकोतर्फ सहानुभूतिसम्म व्यक्त नगरी त्यो बेलामा भएको आगजनीतर्फमात्र उहाँले स्रोताको ध्यानाकषर्ण गर्ने कार्य गर्दै सहानुभूति लिने प्रयार गर्नु भएको थियो ।

कुनै दिन एकल निर्वाचन लडेर बहुमत ल्याउने हुँकार गर्ने एमालेका उपाध्यक्ष गुरुङले तीन दलीय मोर्चाका सम्बन्धमा मुक्तकण्ठले प्रशंसा गर्नु भएबाट विगतमा सरकारमा बसेर उहाँहरूले के कति उपलब्धिपूर्ण कार्य गर्नु भएको रहेछ ? भन्ने विश्लेषण हुन थालेको छ ।

बेसीशहर– नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आउँदो फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस, नकेपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पुराना तीन दलबिच मोर्चाबन्दी आवश्यक रहेको बताउनु भएको छ । नेकपा (एमाले) लमजुङले जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरेको ११ औं महाधिवेशनबाट निर्वाचितहरूको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेता गुरुङले पुस १९ गते त्यस्तो बताउनु भएको हो ।
रास्वपा, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह र उज्यालो नेपाल पार्टीबिच एकता भएपछि पुराना दुई दलबिच चुनावी गठबन्धनबारे छलफल चल्न थालेको उहाँले बताउनु भएको हो ।
जेनजी आन्दोलपछि पहिलो पटक जिल्ला आउँदा गुरुङले ‘त्यो आन्दोलनले सबैभन्दा बढी घाटा रास्वपालाई भयो, रास्वपा त खरानी भो !’ भन्ने उदघोष गर्नु भएका नेता गुरुङले त्यसको महिना दिन वित्न नपाउँदै ऐले भने सोही दलका कारण आफूहरू पनि मोर्चाबन्दीमा लाग्नु पर्ने भएको बताउनु भएको हो ।
मन्तव्यका क्रममा उहाँले भन्नुभयो, ‘प्रारम्भिक रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भइरहेको छ । छलफलमा नेकपा पनि मिसिएको छ । प्रचण्डहरूलाई पनि मिसाएर लैजाने हुनसक्छ ।’ नयाँ दलहरूले देखाएको गैरजिम्मेबार रवैया, जेनजीको असन्तुष्टिलाई उक्साएर आन्दोलन हाइज्याक गर्ने प्रवृत्ति र त्यसैको आडमा राष्ट्रिय सम्पदा जलाउने तथा सार्वजनिक संरचनामाथि आक्रमण गर्ने घटनाले देशलाई अस्थिरतामा धकेलेको उहाँले बताउनु भयो । लोकतन्त्र र परिवर्तनका एजेन्डा बोकेका एमाले, कांग्रेस र नेकपाबिच चुनावी मोर्चाबन्दी गर्नुपर्ने अबस्था आउने वातावरण बन्दैगएको उहाँको तर्क थियो ।
उहाँले कांग्रेस र एमालेबिच यसअघि दुबैले जितेका आ–आफ्ना क्षेत्र लिने र बाँकी रहेका क्षेत्र भागवण्डा गर्नेगरि मोर्चाबन्दी हुनसक्ने उल्लेख गर्नु भयो । ‘नेकपालाई पनि मोर्चामा समेट्नु पर्ने भएमा कांग्रेस एमालेले ७०–७० र बाँकी २५ सिट नेकपालाई दिन सकिने ।’ उहाँको भनाइ छ ।
उपाध्यक्ष गुरुङले अराजक गतिविधिले लोकतन्त्र कमजोर बनाउने भन्दै गुरुङले अहिलेको परिस्थितिमा अनुभव, जिम्मेवारी र राष्ट्रिय प्रतिबद्धता बोकेका पुराना दलहरूबिच निर्वाचनमा मोर्चाबन्दी आवश्यक रहेको पनि उहाँको भनाइ छ । उहाँले भन्नु भयो, ‘यसरी निर्वाचनमा गएर बन्ने नयाँ सरकारले जनताको आशा र विश्वासलाई जित्नु पर्छ । विकास, सम्वृद्धि र सुशासन कायम गर्नु पर्छ ।’
सो अवसरमा गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, पूर्व केन्द्रीय सदस्य मायानाथ अधिकारी, जिल्ला अध्यक्ष राजकुमार विष्ट, अनेमसंघका जिल्ला अध्यक्ष पवित्रा थापा, मर्स्याङदी गाउँ कमिटीका जिल्ला अध्यक्ष प्रेम बस्नेतले केन्द्रदेखि टोलसम्म पार्टी एकजुट र एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।
उक्त कार्यक्रममा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित हुनुभएका उपाध्यक्ष गुरुङसहित केन्द्रीय सदस्य जमीन्द्रमान घले, टुकाभद्रा हमाल, कृष्णप्रसाद अधिकारी, भगवती थापा (कल्पना) र अनुशासन आयोगका सचिव राजेन्द्र घिमिरेलाई सम्मान गरिएको थियो ।
जेनजी आन्दोलनका बेलामा सरकारको प्रवक्ता समेत रहनु भएका गुरुङले त्यो बेलामा भएको देशका होनहार युवाहरू ७६– ७७ जनाको हत्या भएकोतर्फ सहानुभूतिसम्म व्यक्त नगरी त्यो बेलामा भएको आगजनीतर्फमात्र उहाँले स्रोताको ध्यानाकषर्ण गर्ने कार्य गर्दै सहानुभूति लिने प्रयार गर्नु भएको थियो ।
स्मरणीय छ, कुनै दिन एकल निर्वाचन लडेर बहुमत ल्याउने हुँकार गर्ने एमालेका उपाध्यक्ष गुरुङले तीन दलीय मोर्चाका सम्बन्धमा मुक्तकण्ठले प्रशंसा गर्नु भएबाट विगतमा सरकारमा बसेर उहाँहरूले के कति उपलब्धिपूर्ण कार्य गर्नु भएको रहेछ ? भन्ने विश्लेषण हुन थालेको छ ।
पृथ्वीसुब्बा गुरुङसहित ६ नेताको नाम सिफारिस :
यसैबीच, आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै एमालेको जिल्ला कमिटी बैठकले केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ नेताको नाम सिफारिस गर्दै केन्द्रमा पठाउने निर्णय गरेको हो ।
यहाँ स्थित मदन–आश्रित स्मृति भवन (पार्टी कार्यालय) मा बसेको जिल्ला कमिटीको दशौँ बैठकले पुस १९ त्यस्तो निर्णय गरेको हो । सो निर्णय अनुसार केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ नेताको नाम सिफारिस गर्ने निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले बताउनु भयो ।
बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेका नामहरूमा पृथ्वीसुब्बा गुरुङ, जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्णप्रसाद अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारी भएको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८२ पुष २०, आईतवार ०७:४१ गते
हजुरको प्रतिक्रिया