३० औं सिर्जना कप फुटबल तथा माघी मेला २०८२ को तयारी युद्धस्तरमा

३० औं सिर्जना कप फुटबल तथा माघी मेला २०८२ को तयारी युद्धस्तरमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस २० गते आईतबार ११:१९

मेलाका अवसरमा ३० औं सिर्जना कप फुटबल प्रतियोगिता, छोलो प्रतियोगिता, मिनी म्याराथुन प्रतियोगिता, ठाडोभाकाको प्रस्तुतिका साथमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

साताव्यापी सो माघी मेला पुस २७ गते सुरु भइ माघ ३ गते समापन गर्ने कार्यतालिका रहेको आयोजकको भनाइ छ ।

बेसीशहर– लमजुङको मर्स्याङदी गाउँपालिका– ६ को ठूलाबेसीमा सञ्चालन हुँदै आएको सिर्जना कप फुटबल तथा माघी मेलाको तयारी यु्द्धस्तरमा भइरहेको छ । सोशी वडा स्थित सिर्जना युवा क्लबको आयोजनामा हुने सो प्रतियोगिता तथा मेलाको कार्यक्रम बारेमा यहाँ पत्रकार सम्मेलन गरी पुस १९ गते जानकारी दिइएको हो ।
साताव्यापी रुपमा मनाइने उक्त माघी मेलाका अवसरमा खेलाइने फुटबल प्रतियोगिताको यो वर्ष ३० औं शृंखला भएको जानकारी दिइएको थियो । क्लबका अध्यक्ष देवीराज अधिकारीले चार पेज लामो कार्यक्रम तालिका पत्रकारहरूका बीचमा प्रस्तुत गर्दै यो वर्षबाट खेल मैदान विस्तार गरी ६० मिटर लम्बाई र ३० मिटर चौडाई बनाएर ३० औं सिर्जना कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनु भयो ।
सो मेलामा करिब पाँच हजार दर्शकहरूले हेर्ने आंकलन गरिएको बताउँदै अध्यक्ष अधिकारीले मेलाको पृष्ठभूमिका बारेमा समेत जानकारी दिनु भएको थियो । उहाँका अनुसार विभिन्न जातजातिका करिब १५० घरपरिवारको बसोबास रहेको ठूलीबेसी गाउँमा विगतको २९ वर्षदेखि सो प्रतियोगिता र मेला गर्दै आएको हो । फुटबल प्रतियोगिताका लागि पहिलो पुरस्कार एक लाख ५० हजार रुपैयाँ, सिर्जना कप, स्वर्ण पदक र प्रमाणपत्र, दोस्रो हुने टिमलाई ७५ हजार नगद, रजत पदक र प्रमाणपत्र, सेमीफाइनल चरणमा प्रवेश गर्ने टिमका लागि १५ हजार रुपैयाँ, सर्बोत्कृष्ठ खेलाडीलाई सात हजार र ट्रफी, सर्वोत्कृष्ठ गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ५/५ हजार रुपैयाँ र ट्रफि दिइने कार्यक्रम रहेको सो प्रतियोगिताका खेल संयोजक करण थापाले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा १६ टिमलाई मात्र सहभागी गराइने जानकारी दिदै फस्ट कम फस्टलाई प्राथमिकता दिइने छ ।
मर्स्याङदी गाउँपालिका भित्रका धावकका लागि मिनिम्याराथुन :
उक्त अवसरमा १० किमि दुरीको मर्स्याङदी गाउँपालिका भित्रका धावकका लागि मात्र पालिकास्तरीय मिनी म्याराथुन प्रतियोगिता (पाँचौं) समेत गरिने भएको समेत जानकारी आयोजक क्लबका सचिव रामप्रसाद परियारले बताउनु भएको छ । उहाँका अनुसार सो प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुनेलाई क्रमशः १०, ७ र ५ हजार नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गर्ने तयारी छ । उहाँले भन्नुभयो, ‘मिनी म्याराथुन प्रतियोगिता मेलाको पहिलो दिन पुस २७ गते बिहान गरिने र त्यसको दुरीस्थल ठूलीबेसीदेखि खुदी बजारसम्म सञ्चालन गरिने बताइएको छ ।’
यसैगरी, उक्त अवसरमा माघ १ गतेका दिन खुला छेलो प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ । सो प्रतियोगितामा पहिलो पुरस्कार १०, ५ र ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र दिइने जानकारी दिनुभयो ।
ठाडोभाकाको प्रस्तुति रहने :
यो वर्ष पुस ३० गतेका दिन बेलुका अर्थात राती(८ बजेदेखि ११ बजेसम्म) ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङ (संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र उहाँका गायन जोडी एवम् प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुरालगायत)को टिमको ठाडोभाका प्रस्तुति रहने भएको आयोजक क्लबका संस्थापक अध्यक्ष एवम् सल्लाहकार तथा ठाडोभाका लोककला प्रतिष्ठानका आजीवन सदस्य बेलबहादु्र थापाले बताउनु भएको छ । उहाँका अनुसार सोही अवसरमा स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रम(नृत्य)का साथमा झाँक्री नाच समेत देखाउने तयारी छ । उहाँले भन्नुभयो, ‘फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सुरुका वर्षदेखिनै सँगसँगै सञ्चालन हुँदै आएको छ ।’
साताव्यापी उक्त माघी मेलाको माघ ३ गते समापन गर्ने कार्यतालिका रहेको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८२ पुष २०, आईतवार ११:१९ गते
हजुरको प्रतिक्रिया