
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ७ को मनाङे चौतारामा मुख्य कार्यालय रहेको सुनौलो भविष्य सहकारी संस्था लि.को ठगी मुद्दामा प्रमुख अभियुक्त रहेका सो संस्थाका उपाध्यक्ष अरुणकान्त घिमिरे आठ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । लमजुङ जिल्ला अदालतले उनलाई पुस २० गते त्यस्तो आदेश दिएको हो ।
प्रहरीकोमा छ लाख रुपैयाँ अनुसन्धान धरौटी राखेर रिहा हुने सुविधा पाएको घिमिरेले जिल्ला अदालतमा मुद्दा बुझाउँदाको दिनमा अनुपस्थित भएपछि उनले सो क्रममा प्रहरीमा राखेको छ लाख रुपैयाँ भूस भएको प्रहरी स्रोतले जनाएको छ । त्यसो त सो दिनमा अनुपस्थित हुने सबैको धरौटी ल्याप्स हुने कानुनी व्यवस्था रहेको बताइन्छ । सोही आधारमा घिमिरेको छ लाख भूसमा परिणत भएको हो ।
सो सहकारीको आन्तरिक लेखा परीक्षणबाट उपाध्यक्ष घिमिरेको जिम्ममा ४१ लाख रुपैयाँ रहेको देखिएको सो सहकारीका अन्य सञ्चालकहरूले बताएका छन् । त्यो रकम तिर्नका लागि सकार गरे पनि घिमिरेले पैसा दिन भने आलटाल गरिरहेको उनीहरूको भनाइ छ । यसरी आफू पटक– पटक जिम्मेवार पदमा रहेका घिमिरे सञ्चालक रहेको सहकारीका विरुद्धमा ठगी आरोपको मुद्दा चलिरहदा उनी भने चिनको सयरका तल्लिन रहेको भन्दै आफूहरूले आक्रोश पोखेपछि उनलाई प्रहरीले पक्रन बाध्य भएको पीडितहरू बताउँछन् ।
घिमिरे बेसीशहर नगरपालिका– ३ को मूलपानी गाउँमा घर भएका नेपाली काँग्रेसका जिल्ला उपसभापति श्रीकान्त घिमिरेका छोरा हुन् । श्रीकान्त घिमिरे पनि यसअघि लमजुङ विद्युत उपभोक्ता संस्था डुवाउने नायकका रुपमा परिचित छन् ।
श्रीकान्तका सुपुत्र अरुणकान्त घिमिरे सुनौलो भविष्य सहकारीको २०६९ मंसिरमा भएको पहिलो अधिवेशनबाट निर्वाचित कार्यकारी सदस्य, २०७१ मा कोषाध्यक्ष तथा लेखा समितिको संयोजक, २०७४ मा सचिव, २०७७ तथा ०७८ को पुस महिनादेखि हालसम्म उपाध्यक्ष रहेको सो संस्थाको रेकर्डमा उल्लेख छ ।
त्यसरी प्रहरीमा राखेको धरौटी भुस्याउनेमा भक्ति नमूना माविका प्रावि शिक्षक थकित यात्री समेत रहेको स्रोतले जनाएको छ ।
उक्त मुद्दामा कुल विगो करिब छ करोड ८५ लाख दावी गरिएको अभियोगल पत्रमा उल्लेख छ । तर पक्राउ परेका सञ्चालक समितिका अध्यक्ष समेत रहेका व्यक्तिहरूले भने लाख धरौटीमा रिहा हुने अवसर पाएका छन् ।
जिल्ला अदालतको आदेशले सबैभन्दा बढी धरौटी तिर्नेमा समेत अरुणकान्त घिमिरे दरिएका छन् । यसअघि सबैभन्दा बढी ७ लाख रुपैयाँ धरौटी राख्नेमा सो सहकारीमा प्रवन्धक रहेर पछि अध्यक्ष समेत भएका पदम रावललाई जिल्ला अदालतले आदेश दिएको छ । जब की उनलाई वर्तमान सञ्चालक समितिका अध्यक्ष ऋषि अधिकारीबाट झण्डै चार करोड तिर्नु पर्ने देखिएको हुँदा सो रकम सहकारीमा बुझाउनु होला भन्दै पत्र लेख्ने काम समेत भएको थियो ।
प्रकाशित मिति २०८२ पुष २१, सोमबार ०८:४२ गते