३५औँ प्याब्सन दिवसमा विविध कार्यक्रम : स्पोर्टस मिटमा युनिभर्सल एकेडेमीको ह्याट्रिक

३५औँ प्याब्सन दिवसमा विविध कार्यक्रम : स्पोर्टस मिटमा युनिभर्सल एकेडेमीको ह्याट्रिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस २५ गते शुक्रबार ०९:१५

यसवर्ष पनि स्पोर्टस् मिट र अन्य समयमा भएका प्रतियोगितामा भाग लिएर सबैभन्दा धेरै विधामा उत्कृष्ट हुने विद्यालय मध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कृत गरिएको प्याव्सन लमजुङका सचिव विनोद गुरुङले बताउनुभयो ।

उत्कृष्ट व्यवस्थापन समितिका अध्यक्षका रूपमा मनकामना बोर्डिङ स्कुलका अध्यक्ष गोविन्द खड्कासहित विभिन्न विद्यालयका १८ जना शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

बेसीशहर– लमजुङका निजी तथा आवासीय विद्यालयहरूको साझा संस्था(प्याब्सन) लमजुङले आफ्नो ३५औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा मनाएको छ । सो अवसरमा घोषित स्पोर्टस मिटमा बेसीशहरको युनिभर्सल एकेडेमीको ह्याट्रिक हासिल गर्न सफल भएको छ । फूलबारी मञ्चमा आयोजित प्याव्सन दिवस मुल समारोह कार्यक्रम प्याब्सन केन्द्रीय महासचिव कटवालले भदौ २४ गते उद्घाटन गर्नुभएको हो ।
औपचारिक कार्यक्रमको उद्घाटन गर्दै प्याब्सन केन्द्रीय महासचिव आरबी कटवालले निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको गुणस्तर वृद्धि, नवप्रवर्तन र समावेशी शैक्षिक वातावरण निर्माणमा जोड दिनुपर्ने बताउनु भयो । अभिभावकको लगानीमा यो उपलब्धि हासिल भएको उहाँको तर्क थियो । यस्ता सांस्कृतिक कार्यक्रममात्र नभई तालिम समेत निजी खर्चमै प्याब्सनहरूले सञ्चालन गर्नु परेको बताउनु भयो । यहाँ वितरण भएको पुरस्कार तथा सम्मान सबै अभिभावककै देन हो उहाँले उल्लेख गर्नु भयो । शिक्षा क्षेत्रलाई नयाँ दिशातर्फ अघि बढाउन प्याब्सन जिम्मेवार र परिणाममुखी छाता संगठनका रूपमा अघि बढिरहेको उहाँको तर्क थियो ।
सो अवसरमा शुभकामना व्यक्त गर्नु हुनेहरूमा जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष तथा प्याब्सनका जिल्ला सल्लाहकार अर्जुन गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, जिल्ला समन्वय समिति उपप्रमुख बुनादेवी रिमाल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्मा तथा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा प्याब्सनले एसईई परीक्षा २०८१ मा उत्कृष्ट अंक ल्याउने युनिभर्सल एकेडेमीका विद्यार्थी प्राप्ती सुयल र ल्यान्ड स्टार अंग्रेजी माध्यमिक विद्यालयका रोहन श्रेष्ठलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट व्यवस्थापन समितिका अध्यक्षका रूपमा मनकामना बोर्डिङ स्कुलका अध्यक्ष गोविन्द खड्कासहित विभिन्न विद्यालयका १८ जना शिक्षकलाई पनि सम्मान गरिएको थियो ।
प्याब्सन स्पोट्र्स मिटमा युनिभर्सल एकेडेमीको ह्याट्रिक :
प्याब्सन स्पोट्र्स मिटअन्तर्गत यस वर्ष बेसीशहरस्थित युनिभर्सल एकेडेमी पहिलो भएको छ । युनिभर्सलले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक हासिल गरेको छ । उपाधिसँगै विद्यालयले शिल्डसहित ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
यसैगरी, दोस्रो स्थान हासिल गरेको खुदीस्थित हिमचुली आवासीय माध्यमिक विद्यालयले २० हजार रुपैयाँ र तेस्रो स्थानमा रहेको भूपू सैनिक आवासीय माध्यमिक विद्यालय, बेसीशहरले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्याब्सन लमजुङले हरेक वर्ष निजी विद्यालयस्तरीय विभिन्न प्रतियोगिता तथा खेलकुद गतिविधिसहित प्याब्सन स्पोट्र्स मिट आयोजना गर्दै आएको छ ।
यसवर्ष पनि स्पोर्टस् मिट र अन्य समयमा भएका प्रतियोगितामा भाग लिएर सबैभन्दा धेरै विधामा उत्कृष्ट हुने विद्यालय मध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कृत गरिएको प्याव्सन लमजुङका सचिव विनोद गुरुङले बताउनुभयो ।
प्याब्सनका जिल्ला अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विमल अधिकारीले स्वागत मन्तव्य तथा कार्यक्रमको सञ्चालन सचिव विनोद गुरुङले गर्नु भएको थियो ।
औपचारिक कार्यक्रम अघि प्याब्सनमा आवद्ध सबै विद्यालयले आ–आफ्नो व्यानर सहित मनाङे चौताराबाट र्याली निकालिएको थियो । प्याव्सनमा आवद्ध जिल्लाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरूको सहभागितामा बाजागाजा सहित बेसीशहरको मनांगेचौताराबाट फूलबारी मञ्चसम्म र्याली निकालिएको थियो । र्यालीमा विद्यालयको व्यानर, शिक्षासँग सम्वन्धित विभिन्न सन्देशमूलक प्लेकाड सहित सहभागि विभिन्न विद्यालयका विद्यार्थीहरू विद्यालय पोशाकसँगै विभिन्न जातजातिको संस्कार सस्कृति र पहिचान झल्कने भेषभुषामा सजिएका थिए ।

प्रकाशित मिति २०८२ पुष २५, शुक्रबार २१:१५ गते
हजुरको प्रतिक्रिया