अन्ततः हुने नै भयो काँग्रेसको विशेष महाधिवेशन : नाम दर्ता सुरु, उद्घाटन दिउँसो १ बजे

अन्ततः हुने नै भयो काँग्रेसको विशेष महाधिवेशन : नाम दर्ता सुरु, उद्घाटन दिउँसो १ बजे

एजेन्सी

@antaranganews

२०८२ पुस २७ गते आईतबार ०९:३२

नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क १ हजार साथमा लिएर आउन पनि अनुरोध गरिएको छ । सो अधिवेशनमा राजनीतिक दलका नेतालाई निम्त्याइएको छैन ।

६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी, र्याली बिहान ११ बजेदेखि विभिन्न छ स्थानबाट निकालिने तयारी रहेको छ ।

काठमाडौं– अन्ततः नेपाली काँग्रेसको विशेष महाधिवेशन हुने नै भएको छ । पार्टीका सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको असहमतिबीच महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू माग अनुसार आज पुस २७ गते देखि विशेष महाधिवेशन सुरू हुने भएको हो ।
काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन पुस २७ र २८ गते चल्ने कार्यतालिका सार्वननिक भएको छ । आज दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ । त्यसअघि विभिन्न क्षेत्र ६ स्थानबाट निस्केको र्याली भृकुटीमण्डप पुगेपछि विशेष महाधिवेशनको औपचारिक कार्यक्रम सुरु हुनेछ ।
विशेष महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी हिजो भृकृटीमण्डपमा आयोजना थरिएको पत्रकार सम्मेलनमा दाबी गरिएको थियो । विशेष महाधिवेशनको माग गर्दा असोज २९ गते ५४.५८ प्रतिशतले हस्ताक्षर गरेका थिए । त्यो संख्या बढ्दो रहेको उनीहरूको भनाइ छ ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षमा अहिले पनि हस्ताक्षर गर्ने र खुल्ने क्रम जारी रहेको बताउनु भएको थियो ।
यसैबीच, सभापति देउवालाई लामो समय साथ दिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि विशेष महाधिवेशनका पक्षमा खुल्नु भएको छ । शिवाकोटीका अनुसार तनहुँ, झापा, धनुषा, रूपन्देही, मनाङ लगायतका जिल्लामा थप महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनका पक्षमा खुलेका छन् ।
बिहान ८ बजेदेखि नाम दर्ता :
यसैबीच, सुरु हुने महाधिवेशनका लगि अहिले बिहान ८ बजेदेखि नाम दर्ता सुरु भएकोे दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता हुने क्रम जारी छ ।
नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क १ हजार साथमा लिएर आउन पनि अनुरोध गरिएको उहाँको भनाइ छ ।
राजनीतिक दलका नेतालाई निम्त्याइएन :
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताउनु भयो । उहाँका अनुसार मञ्चको अगाडि खुला चौरमा छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको छ । अधिवेशन स्थल तथा मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
उद्घाटनका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने ¥यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको उहाँले जानकारी दिनुभयो । विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण गरिएको छैन ।
काठमाडौंका विभिन्न स्थानमा ३ हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले बताउनु भयो । उहाँका अनुसार थप २÷२ सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेका छैनन् ।
कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन माग भएको अवधिभित्रै यसअघि १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले यसको औचित्य स्वतः समाप्त भइसकेको तर्क गर्दै आएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको नयाँ मिति आगामी वैशाख २८ देखि ३१ गतेसम्म निर्धारण गरेको छ । उक्त विषयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताहरूले असहमति जनाउँदै यो महाधिवशेनको आह्वान गर्नु भएको हो । महमन्त्रीद्वय थापा र शर्माले कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि भन्दै विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आग्रह गर्नु भएको छ । उनीहरूले संयुक्त विज्ञप्तिमार्फत कांग्रेस विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेका छन् ।
गत असोज २९ गते कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । त्यस्तै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको राजनीतिक पृष्ठभूमिका विषयमा कांग्रेसमा समेत नेतृत्व परिवर्तनको आवाज उठेको थियो ।
त्यसअघि काठमाडौंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिनेछ । सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपन्डोलबाट निस्कने जुलुस भृकुटीमण्डप पुग्नेछ ।
२०१४ सालमा मोरङमा भएको पहिलो विशेष महाधिवेशनको उद्घाटनको सभापतित्व त्यतिबेला मोरङ सभापतिको हैसियतले गिरिजाप्रसाद कोइरालाले गर्नु भएको थियो । सोही अनुसार भृकुटीमण्डपको विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौंका सभापतिले गर्ने तय भएको बताइएको छ ।
विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्न सक्ने स्थिति छ । त्यसो त आयोजकले सभापति शेरबहादुर देउवालाई निम्ता दिएका छन् उहाँ अनुपस्थित रहे महामन्त्रीद्वयले नै उद्घाटन गर्नु हुनेछ ।
त्यस्तै, बन्द सत्रको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने भनिएको छ ।
जुलुसको रुपमा सुन्धाराबाट सुरु हुने पहिलो रुटमा चितवन, अर्घाखाँची र सुदूरपश्चिमका जिल्लाका साथै काठमाडौँका क्षेत्र नम्बर ८, ९ र १० का कार्यकर्ताहरू सहभागी हुनेछन् । यो जुलुस वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।
यस्तै, नुवाकोट, रसुवा र धादिङका कार्यकर्ताहरू रत्नपार्कमा भेला भएर भृकुटीमण्डप प्रवेश गर्नेछन् । तेस्रो रुट अन्तर्गत पद्मकन्या क्याम्पसबाट बाँके, बर्दिया र मधेश प्रदेशका जिल्लाका साथै काठमाडौँका क्षेत्र नम्बर ५, ६ र ७ का कार्यकर्ताहरू पुतलीसडक हुँदै अगाडि बढ्नेछन्।
भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक र काठमाडौँका क्षेत्र नम्बर २ र ३ का सहभागीहरू शंकरदेव क्याम्पसमा भेला भएर कार्यक्रम स्थल पुग्नेछन् । कमलपोखरीबाट सुरु हुने पाँचौँ रुटमा काठमाडौँ क्षेत्र नम्बर १ र ४ का कार्यकर्ताहरू डिल्लीबजार र पुतलीसडक हुँदै जुलुसमा सामेल हुनेछन् ।
छैटौँ रुट अन्तर्गत ललितपुर र मकवानपुरका कार्यकर्ताहरू कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर र रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्ने तय भएको आयोजकको भनाइ छ ।
गण्डकीका जिल्ला सभापतिहरू आधा–आधा :
कांग्रेसको विशेष महाधिवेशनले देशव्यापी चर्चा ल्याएको बेलामा गण्डकी प्रदेशमा महाधिवेशनको पक्ष र विपक्षमा जिल्ला सभापतिहरू विभाजित भएका छन्, जसले पार्टीमा कित्ताकाट देखाएको छ । केही जिल्लाका सभापति विपक्षमा उभिए पनि, क्षेत्रीय र पालिका सभापति विशेष महाधिवेशनकै पक्षमा देखिएका छन्, जसले आन्तरिक द्वन्द्व निम्त्याएको छ ।
यतिबेला कांग्रेसहरू प्रस्ट दुई कित्तामा विभाजित छन् । रातारात महाधिवेशन प्रतिनिधि र समर्थकहरू जिल्ला जिल्लाबाट काठमाडौँ छिरेका छन् । गण्डकीका ११ जिल्लामध्ये जिल्ला सभापतिहरूको समीकरण ‘४–४–३’ को अवस्थामा पुगेको छ । महाधिवेशनको पक्ष र विपक्षमा देखिएको यो रस्साकस्सीले गण्डकी कांग्रेसमा स्पष्ट कित्ताकाट देखिएको हो ।
पक्षमा ४ जिल्ला :
विशेष महाधिवेशनको समर्थनमा गण्डकीका चार जिल्ला सभापतिहरू खुलेरै लागेका छन् । गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, कास्कीका किशोरदत्त बराल, नवलपुरका महेन्द्रध्वज जिसी र पर्वतका युवराज जोशी विशेष महाधिवेशनको पक्षमा उभिनु भएको हो ।
उहाँहरूले आ–आफ्ना जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन सार्वजनिक रूपमै अपिल गरेका छन् । यी जिल्लाहरूमा संस्थापन इतर समूहको प्रभाव बलियो मानिँदै आएको छ ।
विपक्षमा उभिए ४ जिल्ला :
प्रदेशका चार जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै यसको विपक्षमा देखिका छन् । म्याग्दीका खम्बिर गर्वुजा, मनाङका शंकर गुरुङ, बागलुङका जीत शेरचन र स्याङ्जाका राजु थापाले संयुक्त विज्ञप्ति नै जारी गरेर महाधिवेशनको विरोध गरेका हुन् । उनीहरूले अहिले विशेष महाधिवेशनमा लाग्नुभन्दा नियमित महाधिवेशनको तयारी गर्न र आसन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई जिताउन केन्द्रित हुनुपर्ने तर्क गरेका छन् ।
३ जिल्ला अनिर्णीत :
विशेष महाधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि ३ जिल्लाका सभापतिहरू अझै तटस्थ देखिएका छन् । लमजुङ, तनहुँ र मुस्ताङका सभापतिहरू अझै तटस्थ देखिएका हुन् । तनहुँका जीतप्रकाश आले र मुस्ताङका रोमी गौचन थकाली अहिलेसम्म कतै नखुलेको बताइन्छ । लमजुङका डा टकराज गुरुङ नखुलेको भनेता पनि विशेषको पक्षमा हस्ताक्षर नगरेको हुँदा संस्थापन पक्षमै रहेको मानिएको छ । लमजुङका २७ जना महाधिवेशन प्रतिनिधिहरूमा २२ गत विशेषको पक्षमा खुलेका छन् ।
विशेष महाधिवेशन पक्षधरले सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरेका छन् तर उहाँ सहभागी नहुने बताइएको छ ।
कांग्रेसका ४७ जिल्ला सभापति विपक्षमा :
नेपाली कांग्रेसका ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । अहिलेको बेला आमचुनावको तयारीमा जुट्नुपर्ने भएको उनीहरूले बताएका छन् । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका जिल्ला सभापतिहरू विशेष महाधिवेशन पक्षमा नखुलेका हुन् । उनीहरूले वैशाखमा १५ औं महाधिवेशन गर्नुपर्ने पनि बताएका छन् ।
विशेष महाधिवेशनमा पार्टीका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८२ पुष २७, आईतवार ०९:३२ गते

हजुरको प्रतिक्रिया