काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन विशेष बन्ने भएको छ । त्यसका लागि ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको आयोजकले दाबी गरेका छन् । सञ्चालकले विशेष महाधिवेशनको उद्घाटनसत्रमा पुस २७ गते त्यस्तो जानकारी दिएका हुन् । सो अधिवेशनको महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले उदघाटन गर्नु भएको हो । उदघाटन सत्रका केही हाइलाइट भनाइहरू :
यहाँ प्रश्न मरेको छैन । यहाँ कुनै बा छैन : महामन्त्री गगन थापा
कांग्रेसका महामन्त्री गगन थापाले दोस्रो विशेष महाधिवेशन उद्घाटन मन्तव्यमा अहिले यहाँ विशेष महाधिवेशन हुँदै गर्दा शीर्ष नेताहरू छलफलमा रहेको सुनेको छु । त्यो छलफलमा नेताहरूले हामी दुई जना महामन्त्रीको विषयमा नकारात्मक कुराहरू सुनाउनुभएको हुनसक्छ । उहाँहरू भनेको हुन सक्छ, ‘शेरबहादुर दाइ, नेताहरूले के भनिरहनुभएको होला भने यी दुइटा महामन्त्रीले नचाहिने काम गरिरहेका छन् । अराजनीतिक काम गरेर तपाईंलाई दुःख दिइरहेका छन् । तर सम्झनुस्, भदौ १८ गते यिनै दुइटा महामन्त्री तपाईं कहाँ आएका थिए । भदौ २२ गते पनि तपाईंकहाँ आएका थिए । २४ गते बिहान पनि सबभन्दा पहिला तपाईंसँग सम्पर्क गर्ने यिनै दुइटा महामन्त्री थिए । भदौ २५ गते घटना भइसकेपछि सबभन्दा पहिले वक्तव्य निकाल्न आँट गर्ने पनि यिनै दुइटा महामन्त्री थिए ।’
थापाले भन्नुभयो, ‘शेरबहादुर दाइ, प्रजातन्त्रका लागि तपाईंको योगदान ठूलो छ । तर समय आएको छ; अब तपाईंले आराम गर्नुपर्छ, छाड्नुपर्छ, मार्गप्रशस्त गर्नुपर्छ ।’
भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाहरूको मात्र होइन, देशभरका लाखौं लाख नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको हो । राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर देशभरका लाखौं लाख मानिस रिसाएका हुन् । र, आम नागरिकको त्यही रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो थापाले भन्नुभयो । जेनजी आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए । त्यो सरकारमा को थिए ? हामी थियौं । उनीहरू संसदसँग रिसाएका थिए । त्यो संसदमा को थिए ? हामी थियौं । उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन् थापाको कथन छ । यो विशेष महाधिवेशनले एउटा कुरा स्थापित गरेको छ, कांग्रेस दास र लासहरूको पार्टी होइन, ज्युँदा मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन । यहाँ कुनै बा छैन, जसले नबोल भन्दा बोल्न छाड्ने कोही पनि छैन। हामी सबै बराबर छौं । यहाँ प्रश्नहरू छन् । जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न सक्दैन । प्रश्न गर्न नसक्नेले उत्तर खोज्न सक्दैन, समाधान दिन सक्दैन उहाँको तर्क थियो ।
विश्वप्रकाशका संकल्प :
यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका तीन संकल्प सुनाउनु भयो । यो संकल्प पार्टीमात्रै नभएर राष्ट्रको रूपान्तरण हो भन्नुभयो । जेनजी आन्दोलनपछि देखापरेको मनोवैज्ञानिक द्वन्द्व समाधान गर्नु पनि यसको संकल्प रहेको बताउनु भयो । मुलकलाई नवीन विश्वासमा लिएर जाने संकल्पका साथ आफूहरू अघि बढेको उहाँको धारणा छ ।
विशेष महाधिवेशनको औचित्यमा प्रकाश पार्दै भन्नुभयो, ‘पुरानो मनस्थिति बोकेर नयाँ परिस्थिति सिर्जना हुँदैन । हामी राष्ट्रलाई प्रधान ठानेर अघि बढिरहेका छौँ । पुरानै ढंगले नयाँ यात्रा गर्नसकिँदैन पुरानो आनिबानि राखेर नयाँ अवस्था बन्न सक्दैन ।’ बदलिएको परिस्थितिअनुसार कांग्रेस बदल्न विशेष महाधिवेशन आयोजना भएको उहाँको दावी छ ।
१० वर्षदेखि कांग्रेस खोज्दै हिँडेको थिएँ, आज भेटेँ : ओमकार श्रेष्ठ
कांग्रेसका नेता ओमकार श्रेष्ठले आफूले १० वर्षदेखि कांग्रेस खोज्दै हिँडेको भए पनि आजमात्रै भेटेको बताउनु भयो । उहाँले पहिलो विशेष अधिवेशन सभापतिले बोलाएको विशेष अधिवेशन भए पनि यसपाली प्रतिनिधिले बोलाएको स्मरण गर्नुभयो ।
देउवा, खड्कालाई विशेष महाधिवेशनमा घिमिरेद्वारा आमन्त्रण :
त्यस्तै, कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको विशेष महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका छन् । उद्घाटनसत्रमा स्वागत मन्तव्यका क्रममा उहाँले यसलाई सय प्रतिशतको महाधिवेशन बनाउन आग्रह गर्नु भएको थियो ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई जिताउन अहिलेको क्षणलाई नजरअन्दाज नगर्न उहाँको आग्रह थियो । विशेष महाधिवेशनलाई उत्सव बनाउन उहाँले नेता–कार्यकर्तालाई आग्रह गर्नु भयो ।
नेतृत्व परिवर्तन गरेरै छाड्छौँ : केदार कार्की
यसैगरी, कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेरै छाड्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले छानेको नेतृत्व हामिले परिवर्तन गर्न पाउनुपर्छ । परिवर्तन गरेरै जान्छौँ ।’ विशेष महाधिवेशनले यस अभियानमा नभएकाहरूलाई सँगै लिएर हिँड्ने उहाँको कथन छ ।
बन्दसत्रको अध्यक्षता ओमकार श्रेष्ठले गर्ने :
बन्दसत्रको अध्यक्षता ललितपुरका महाधिवेशन प्रतिनिधि ओमकार श्रेष्ठले जेष्ठ सदस्यको हैसियतमा गर्नु हुनेछ ।
कांग्रेसमा देशभर कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि छन् । यसअघि गत असोज २९ गते ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेका थिए ।
कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको आयोजकले दाबी गरेका छन् ।
प्रकाशित मिति २०८२ पुष २८, सोमबार ०९:५६ गते