काठमाडौँ– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन दुई दिनका लागि तय भएकोमा थप एक दिन लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चल्दा र नयाँ नेतृत्व समेत चयन हुने हुँदा महाधिवेशन पुस २९ गतेसम्म लम्बिने भएको हो । यसअघि सो अधिवेशन आज अर्थात पुस २८ गते सक्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।
विशेष महाधिवेशन भोलिसम्मका लागि लम्बिएको प्रचार–प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बताउनु भयो । उहाँका अनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम भोलिसम्म पनि चल्नेछ ।’ उहाँले भन्नुभयो ‘त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’
नेतृत्व चयन भोलि मात्र : केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस
विशेष महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा चलिरहेको छ । बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमाथि छलफल नसकिएपछि लम्बिन गएको हो । स्रोतका अनुसार पार्टीको विवादबारे सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय थापा र शर्माबीच वार्ता हुने भएपछि आजका लागि बन्दसत्र स्थगित गरिएको छ ।
दोस्रो विशेष महाधिवेशनको बन्द सत्रले कार्यविधिलाई पारित गरेको छ । बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको सचिवालयले जानकारी दिएको छ । यही कार्यविधि अनुसार बन्द सत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने छन् ।
पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो। बैठक काठमाडौँ ५ का महाधिवेशन प्रतिनिधि श्यामबहादुर खड्काको अध्यक्षतामा सुरु भएको हो ।
बन्दसत्रमा मौजुदा केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव पनि पेस गरिएको छ । यसले पार्टीलाई फुटको डिलमा पुर्याएको धेरैको आंकलन छ ।
गगन–विश्वलाई पछि नहट्न बन्दसत्रमा प्रतिनिधिको दबाब :
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय बढी प्रतिनिधि सहभागी भएर नीति र नेतृत्व परिवर्तनमा सामूहिक छलफल भइरहेको छ । बन्दसत्रमा प्रतिनिधिहरूले गगन–विश्वलाई पछि नहट्न दबाब दिएका छन् ।
तर महाधिवेशनले वर्तमान केन्द्रीय समिति विघटन गरी नयाँ कार्यसमिति चयन गर्ने प्रस्ताव पेस गरिएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई नेतृत्व सम्हाल्न दबाब दिँदै पुस्तान्तरण र समन्वय आवश्यक रहेको प्रतिनिधिहरूले बताएका छन् । बन्दसत्रमा नीति र नेतृत्वबारे सामूहिक छलफल चलिरहेको छ । छलफलमा पार्टीमा पुस्तान्तरण र हस्तान्तरण हुनुपर्नेमा प्रतिनिधिहरू एकमत छन् ।
‘नीति पनि नयाँ र नेतृत्व पनि नयाँ हुनुपर्छ । सधैं एउटै अनुहार भयो । जेनजी आन्दोलले पनि परिवर्तन खोजेको छ,’ सोलुखुम्बुबाट आएका मनोज खड्का भन्नुहुन्छ, ‘यो बन्दसत्रको हलमा पुस्तान्तरणको आवाज उठिरहेको छ । महामन्त्रीद्वयले नेतृत्व सम्हाल्नुपर्छ । उहाँहरूलाई अब ब्याक हुने छुट छैन ।’
पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा
यसैबीच, कांग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् । काठमाडौंमा डा. शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गर्नु भएको हो । तर संस्थापन पक्षसहितका शीर्ष नेताहरू महाधिवेशनमा सहभागी छैनन् ।
उता डा. कोइराला पक्षधर नेताहरूले भने छुट्टै भेला गरेका छन् । उनीहरूले पार्टी फुट्न दिन नहुने भन्दै कोइरालालाई पहल गर्न आग्रह गरेका छन् । शर्माले भन्नुभयो, ‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने ढंगले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ ।’
शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताउनु भयो ।
शेरबहादुरलाई शेखरले भन्नु भो : ‘पार्टी विभाजन रोक्नुस्’
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । शेखर कोइरालाले देउवासँग आधा घण्टा छलफल गर्नुभएको छ र विभाजन रोक्न तत्काल कदम चाल्न भनिएको छ ।
शेखरले देउवालाई यस्तो आग्रह गरेको भेटमा सहभागी एक नेताले भने, ‘शेखर दाइको नेतृत्वमा हामी सभापतिलाई भेट्न आयौँ । थुप्रै नेताहरू हुनुहुन्थ्यो, उहाँ (शेखर)ले विभाजनबाट रोक्न के गर्न सकिन्छ तत्काल गर्नुस्’ भन्नुभयो ।’
विशेष महाधिवेशन पारित कार्यविधिमा के छ ?
यसैबीच, कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रबाट ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरिएको छ । बन्दसत्रबाट पारित कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश छ ।
कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन ०७८ (मंसिर २४ देखि २८)देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका निम्ति नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ ।
विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्नेछन्, निज अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था उल्लेख छ ।
ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष केन्द्रीय महाधिवेशनको बन्दसत्र सञ्चालन भएको अवस्थामा बन्दसत्र कार्यक्रमको सहजता र निरन्तरताका निम्ति महाधिवेशन प्रतिनिधिमध्ये पाँच सदस्यीय अध्यक्षतामण्डल गठन गरिने कार्यविधिमा उल्लेख छ ।
गगन थापाका तीन व्याख्या :
कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको आवश्यकताबारे तीन व्याख्या छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा कानुनी, व्यावहारिक र परम्परागत आधारमा विशेष महाधिवेशनको आवश्यकता औँल्याउनु भएको छ ।
थापाले नवयुवाको आह्वानमा भएको विद्रोहको मर्म नीतिमा परिवर्तन, अपनाइरहेको तरिका फेरबदल खोजेकाले विशेष महाधिवेशन आयोजना गरिएको उल्लेख गर्नु भएको छ । ‘हामी आफैँले पार्टीको विधान मानेनौँ भने हामी संविधान र कानुनको शासनमा विश्वास गर्छौँ भनेर आमनेपाली जनतालाई कसरी आश्वस्त तुल्याउने ?,’ भन्ने प्रश्न गर्दै थापाले ‘हामीले जनताको विश्वास बढाउने विन्दु पनि यही हो ।’ भन्नुभएको छ । विशेष महाधिवेशन वैधानिक रहेको उहाँको तर्क छ ।
नयाँ नेतृत्व चयनतर्फ अघि बढ्यो विशेष महाधिवेशन :
देउवा नेतृत्वको कार्यसमिति विघटन गरी नयाँ कार्यसमितिको निर्वाचन गर्ने कांग्रेसको दोस्रो विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्नेतर्फ अघि बढेको छ । जारी बन्द सत्रले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्दै नयाँ कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरेसँगै कांग्रेस अब नेतृत्व परिवर्तनको दिशातर्फ बढेको हो ।
कार्यविधिमा विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचन गर्न एक जना संयोजक सहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने प्रस्ताव गरेको छ । कांग्रेसको विशेष महाधिवेनले पारित गरेको कार्यविधिमा चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ ।
विशेष महाधिवेशनले पुस २७ र २८ मा बोलाइएको केन्द्रीय महाधिवेशन वैधानिक रहेको प्रस्ताव पनि पारित गर्ने कार्यविधिमा उल्लेख छ ।
नेपाली कांग्रेसको २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको चौधौं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको थियो ।
मंसिर १५ को केन्द्रीय समितिले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो ।
प्रकाशित मिति २०८२ पुष २८, सोमबार १९:०६ गते