कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र ऐले बिहान ९ बजेबाट पुनः सुरु हुने, नयाँ नेतृत्व चयन अनिश्चित !

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र ऐले बिहान ९ बजेबाट पुनः सुरु हुने, नयाँ नेतृत्व चयन अनिश्चित !

एजेन्सी

@antaranganews

२०८२ पुस २९ गते मङ्गलबार ०७:२२

विशेष महाधिवेशन पक्षका नेता मनोजमणि आचार्यले भन्नुभयो, ‘केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिए नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने छ ।’

काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान ९ बजेबाट पुनः सुरु हुनेछ । नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुने र सहमति जुटाउने प्रयास जारी छ ।

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज पुस २९ गते बिहान ९ बजेबाट पुनः सुरु हुने भएको छ । दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन गरिएको आयोजकको भनाइ छ ।
हिजो बन्दसत्र सुरु भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बताउनु भयो । उहाँका अनुसार आजसमेत महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर रहने छ । विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या सत्तरी प्रतिशत पु¥याउने दाबी गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरूको संख्या पहिलो दिन २ हजार ६ सय ६२ रहेकोमा भोलिपल्ट ६.२४ प्रतिशतले बढेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘६३ प्रतिशत हस्ताक्षर कट्यो । प्रतिनिधि अझै आउनेक्रम जारी छ । हामी ७० प्रतिशत पु¥याएर देखाइदिन्छौं ।’
उहाँले थप भन्नुभयो, ‘आज नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुने छ, निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समितिहरू भङ्ग गर्ने तयारी छ ।’
उता संस्थापन पक्षलाई पनि सहमतिमा ल्याउने प्रयास जारी छ । यसका लागि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताबिच आज पनि छलफल हुने भएको छ । जारी विशेष महाधिवेशसँगै उत्पन्न संकट समाधानको प्रयासस्वरूप विशेष महाधिवेशन पक्षधरको तर्फबाट सभापति शेरबहादुर देउवा समूहसँग औपचारिक वार्ता गर्न चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे रहेको एक नेताले जानकारी दिए ।
देउवा समूहको तर्फबाट स्वयम् सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का वार्तामा सहभागी हुने तय भएको छ । दुवै पक्षबीच छिट्टै वार्ता गरेर सहमतिको खोज्ने र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने प्रयास गरिने जनाइएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले सभापति शेरबहादुर देउवा अन्तिमसम्म पनि हलमा आउने दाबी गरेका छन् । हिजो बन्द सत्र सकिएपछि आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षका नेता मनोजमणि आचार्यले विशेष महाधिवेशनको समापनसम्म पार्टी नेतृत्व आउने दाबी गर्नु भएको छ । ‘महाधिवेशनको समापनसम्म कांग्रेस नेतृत्व आउँछ, आउनुपर्छ । शेरबहादुर दाइ आउनुहुन्छ । पूर्णबहादुर दाइ आउनुपर्छ, आउनुहुन्छ, यसको अपनत्व लिनुपर्छ, लिइदिनुस् भनेर अहिले पनि भनिरहेका छौं ।’
उहाँले थप भन्नुभयो, ‘केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिए नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने छ ।’
समापन अघिसम्म नआएको खण्डमा नियमित महाधिवेशनले गर्ने काम विशेष महाधिवेशनले गर्ने उहाँको भनाइ छ ।
सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय नेताहरूले असहमति राखिरहेका छन् ।
यता विशेष महाधिवेशनमा बन्दसत्रको काम अघि बढिसकेको छ ।

प्रकाशित मिति २०८२ पुष २९, मंगलवार ०७:२२ गते
हजुरको प्रतिक्रिया