ठूलीबेसी(लमजुङ)– मर्स्याङदी गाउँपाालिका– ६ को ठूलीबेसीमा माघी मेलाका आयोजकद्वारा ठाडोभाकाको टिमलाई भव्य विदाई गरिएको छ । ठूलीबेसीमा आयोजना गरिएको सप्ताहव्यापी ३० औं सिर्जना कप फुटबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रममा ठाडोभाका प्रस्तुतिका लागि आमन्त्रित ठाडोभाका लोककला प्रतिष्ठान नेपालको टोलीलाई आयोजकद्वारा माघ १ गतेका दिन भव्य विदाई गरिएको हो ।
विदाई कार्यक्रम चलिरहदा पनि ठाडोभाकाको प्रस्तुति रोकिएको थिएन । आयोजक ठूलाबेसीका बासिन्दाबाट ठाडोभाका छोप्ने र नाच्ने कार्यले विदाईलाई थप भावनात्मक, संवेदनशील तथा आपसी सम्बन्धलाई प्रगाढ बनाउने काम गरेका थिए । आयोजक सिर्जना युवा क्लबका अध्यक्ष देवीराम अधिकारीलगायतका पदाधिकारीहरू तथा जनप्रतिनिधि तारा थापा, सिर्जना युवा क्लबका संस्थापक अध्यक्ष एव्म प्रतिष्ठानका आजीवन सदस्य बेलबहादुर थापालगायतका समाजसेवीहरूले टिका, खदा, मायाको चिनो प्रदान गरी विदाई गर्नु भएको थियो ।
त्यसो त पुस मसान्तको दिन साँझ ठाडोभाकाको टिम ठूलीबेसी पुग्दा पञ्चैबाजाका साथमा ठाडोभाकाको टिमलाई भव्य स्वागत गरिएको थियो । साँझको खाना स्थलमा पञ्चैबाजाका साथमा नाचगान गरिएको थियो भने सो स्थलदेखि कार्यक्रम स्थलसम्म पञ्चैबाजाका साथमा ठाडोभाकाको टिमलाई लग्ने काम आयोजकबाट भएको थियो ।
विदाई मन्तव्यका क्रममा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले सिर्जना क्लबले सप्ताहव्यापी माघी मेला– २०८२ जारी रहेको बेलामा मघेसंक्रान्ति जस्तो चाडको बेलामा आफ्नो टिमलाई सम्झेर आमन्त्रण गरेकोमा कृतज्ञता व्यक्त गर्नु भएको थियो । उहाँले माघी मेलाको आयोजक सिर्जना युवा क्लबले नाम जस्तै सिर्जनशील काम गर्दै आएको आफूले विगतका वर्षमा, यहाँ नआए पनि पेशागत(पत्रकार)का कारण जानकार रहदै आएको र कतिपटक समाचार लेख्ने काम समेत गरेको स्मरण गर्नु भयो ।
उहाँले ठूलीबेसी जस्तो दुर्गम ठाउँमा बसेर लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धन तथा खेलकुदका विविध आयामहरू सञ्चालन गरेकोमा आयोजक र सिंगो ठूलोबेसीका गाउँबासीलाई बधाई दिदै यस्तो काम गर्न सजिलो छैन, तर पनि यहाँहरूको निष्ठा र प्रयासको प्रशंसा लायक शब्द आफूले पाउन नसकेको उल्लेख गर्नु भयो । प्रतिष्ठानको टिमलाई आयोजक तथा सिंगै गाउँबाट पाएको आतिथ्यता, यहाँहरूले दिएको माया र सम्मान प्रति आफूहरू आभारी रहेको उल्लेख गर्नु भएको थियो । उहाँले यो कार्यक्रमले लमजुङको लोक संस्कृतिको क्षेत्रमा कोशेढुंगाको काम गर्नेछ भने लोक संस्कृतिको इतिहासमा सुनौलो अक्षरले लेखिने र नयाँ पाना थप्ने काम भएको उल्लेख गर्नुभयो । यस कार्यलाई निरन्तरता दिन आयोजकलाई आग्रह गर्दै हातेमालोका लागि आफूहरू सदैव तयार रहेको अध्यक्ष पहाडीले बताउनु भयो ।
कार्यक्रमको सुरुमा आयोजक टिमकोतर्फबाट सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरिएको थियो । त्यसपछि ठाडोभाका प्रस्तुति गरिएको थियो । त्यसको बीचमा आफ्नो जीवन नै लोक कला संगीतमा समर्पण गर्नु भएकी ६३ वर्षीया वरिष्ठ लोकगायिका माया गुरुङले आफ्ना भोगाईका साथमा आफूले सिर्जना गरेका गीतहरू संक्षेपमा प्रस्तुत गर्दै ‘गाउँशहरमा लमजुङ दरबार …….. ’ बोलको गीत पुरा प्रस्तुति दिएर मनोरञ्जन प्रदान गर्नु भएको थियो । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङमा निवर्तमान अध्यक्ष अनुज अधिकारी र ठाडोभाका गायिका एवम् ठाडोभाका लोककला प्रतिष्ठानकी आजीवन सदस्य सावित्री शाहीका बीचमा चलेको दोहोरीले पनि दर्शकहरूलाई उत्तिकै मनोरञ्जन दिएको थियो ।
सोही वडाध्यक्ष मिनराशी गुरुङको प्रमुख अतिथ्यतामा सांस्कृतिक कार्यक्रम भएको थियो । ठूलीबेसीको विभिन्न टोलका आमा समूह तथा जटेश्वर आविका छात्राहरू तथा युवतीहरूले समेत तँ भन्दा म के कम शैलीमा नृत्यको बजोड प्रस्तुति गरेर दर्शकको मनहर्ने काम गरेका थिए । उनीहरूका नृत्यबाट मोहित भएका कतिपय दर्शकले कलाकारहरूको प्रोत्साहनका लागि हजार, पाँच सयका नोट फूल लगाउने काम समेत गरेका थिए ।
उक्त अवसरमा सुलिजा थापा र राधिका थापाको प्रस्तुति अत्यन्तै प्रभावकारी एवम् सजीव रहेको भन्दै दर्शकहरूले उनीहरूको कलाकारिताको प्रशंसा गरेका थिए । आयोजक टिमबाट तयार गरिएको ‘वारी जमुना, पारी जमुना …….. ’ बोलको गीतका प्रस्तुतकर्ताहरूको ढल्कदो उमेरको कला प्रस्तुति पनि उत्तिकै रोचक रहेको थियो ।
कालिका आमा समूहकोतर्फबाट स्वागत नाचमार्र्फत थालिएको सांस्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्नेहरूमा प्रगतिशील आमा समुह, सित्तलादेवी आमा समूह, शिवशक्ति आमा समूह आदिको प्रस्तुती रहेको आयोजक सिर्जना युवा क्लबका अध्यक्ष देवीराम अधिकारीले बताउनु भयो । उहाँका अनुसार कला प्रस्तुत गर्नु हुनेमा किशोरी तथा युवतीहरू रचना थापा, मुस्कान थापा तथा जटेश्वर आविका छात्राहरू लगायत थिए ।
सो अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र उहाँको गायन जोडी प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराको प्रस्तुतिबाट ठाडोभाका गायन सुरु भएको थियो । त्यसपछि प्रतिष्ठानका उपमहासचिव आशबहादुर विक र आजीवन सदस्य रमाना भण्डारी, प्रतिष्ठानका आजीवन सदस्यद्वय सावित्री शाही र कृष्णकुमार श्रेष्ठका बीच तथा कार्यकारी सदस्य मीना गुरुङ र हरि रानाभाटले ठाडोभाका गयन गर्नु भएको थियो । यसैगरी, स्थानीय खुशीराम अधिकारी, तारालाल थापा, ईन्द्रबहादुर थापा, श्रीमाया थापा र रत्नमाया थापाको ठाडोभाका प्रस्तुतिलाई पनि दर्शकहरूले मन पराएका थिए ।
माघी मेलाका अवसरमा सांस्कृतिक कार्यक्रमका अतिरिक्त छेलो प्रतियोगिता, मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भइसकेका छन् भने खुला फुटबल प्रतियोगिता जारी रहेको अयोजक क्लबका सचिव राम परियारले बताउनु भयो । उहाँका अनुसार फुलबल प्रतियोगिताको भोलि सेमी फाइनल खेल हुने र पर्सी फाइनल खेलका साथमा माघी मेलाको समापन हुने सम्पन्न छ ।
अक्षयकोषका लागि १० हजार रुपैयाँ हस्तान्तरण :
विदाईकै अवसरमा आयोजक क्लबका सल्लाहकार एवम् महादेव स्थान सामुदायिक वनका अध्यक्ष काजी थापाले प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई प्रतिष्ठानको अक्षयकोषका लागि १० हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो । 
ठाडोभाकाको टिम बेसीशहर उत्रिएपछिको दृश्य ।
प्रकाशित मिति २०८२ माघ १, बिहीबार २०:०१ गते