
बेसीशहर– लमजुङमा आउँदो फागुन २१ गतेका लागि घोषित संघीय सांसद निर्वाचनका लागि लमजुङमा एक स्वतन्त्र, एक महिलासमेत १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मनोनयन गर्नेमा जिल्लाका विगतका दिनमा काम गरी आएका पार्टीहरू पाँच वटा मात्र रहेका छन् ।
ती पार्टी हुन् नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी । लमजुङमा संगठन नभए पनि पुरानो दलका रुपमा परिचित हुँदै आएको नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुुर जिल्ला भक्तपुर नगरपालिका– १० की गुजेश्वरी प्रजापतिले महिलाको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ ।
त्यस्तै, नेकपा एमालेका उपसभापति पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले आफै उपस्थित भएर उम्मेदवारीमा नाम गर्दा गराउनु भएको छ । उहाँको यो नवौं चुनावी लडाइँ हो, उहाँले यसअघि तीन पटक मात्र निर्वाचन जित्नु भएको छ । चौथो नंबरमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय संगठन विभागका सदस्य धर्म केसीले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले बताउनु भयो ।
केसी वायो इञ्जिनिर हुनुका साथै शिक्षामन्त्रीका प्रमुख सल्लाहकार समेत हुनुहुन्थ्यो भने उहाँ रास्वपाका संस्थापक जिल्ला संयोजक पनि हुनुहुन्छ ।
मनोनयन गर्दा गर्ने अन्य दलमा नेपाली काँग्रेसबाट पूर्वजिल्ला सभापति गमप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीबाट हरिजङ तामाङले आफ्नो उम्मेदवारी दर्ता भएको छ ।
उता, राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापति केवेन्द्रजंग गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी, नेशनल रिपब्लिकन नेपालबाट दोर्दी गाउँपालिका– ४ का भरत गुरुङ, जनादेश पार्टीबाट राइनास नगरपालिका– ३ का मिलन बास्कोटाले,

मंगोल एसोसिएसनबाट पोखरा महानगरपालिका– १०, कास्कीका विकास गुरुङले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत गौतमले जानकारी दिनु भयो ।
उहाँका अनुसार १२ नंबरमा श्रम शक्ति पार्टीबाट दोर्दी गाउँपालिका– ७ का कोषलाल गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनासाथ विहानै व्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले पनि उम्मेदवारी दर्ता गराएको जानकारीमा आएको छ । सहायक निर्वाचन अधिकृत गौतमले भन्नुभयो, ‘अब यो नै अन्तिम होला, कोही आइहाले त दर्ता गर्छौंै नै तर आउने सम्भावना कम छ, नाम चलेका पार्टीहरू आइसकेका छन् ।’
पार्टीका उम्मेदवारको मनोनयन दर्ता गर्न जानु अघि जिल्लामा क्रियाशील रहेका पाँच दलहरू काँग्रेस, एमाले, रास्वपा, नेपाली कम्युनिष्ट पार्टीराप्रपाले जुलुस सहित जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
मनोनयन दर्ता पछि भलाकुसारी गर्दै एमालेका उपाध्यक्ष पृथ्वीसुब्बका गुरुङ र रास्वपाका केन्द्रीय संगठन विभाग सदस्य धर्म केसी जिल्ला निर्वाचन कार्यालय परिसरमा ।

प्रकाशित मिति २०८२ माघ ६, मंगलवार १७:५० गते