बेसीशहर(लमजुङ)– जिल्ला सदरमुकाममा १३ दिवसीय नवौं लमजुङ महोत्सवको सुरु भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले सो महोत्सवको एक समारोहका विच माघ ८ गते उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री डा. गुरुङले स्थानीय उत्पादन, घरेलु उद्योग र पर्यटनको प्रवद्र्धनमा यस्ता महोत्सवहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । मेला महोत्सवको महत्व प्रतिदिन बढीरहेको भन्दै उहाँले लमजुङको आर्थिक समृद्धिका लागि प्रदेश सरकार निजी क्षेत्र र स्थानीय तहसँग सहकार्य गर्न सधैं तयार रहेको उल्लेख गर्नुभयो ।

‘स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन प्रवद्र्धन समग्र लमजुङको सम्वृद्धि’ भन्ने नाराका साथ नवौं लमजुङ महोत्सव २०८२ सुरु भएको हो । महोत्सव माघ ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री मुध अधिकारी गुरुङ, गण्डकी प्रदेश सभा सदस्य योशोदा रिमाल, नेकपा एमाले लमजुङका उपाध्यक्ष जितबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति अशोक सापकोटा, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ तथा प्रदेश अस्पताल लमजुङका अध्यक्ष विजय गुरुङलगायतले महोत्सव सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
महोत्सव अवधिभर मस्र्याङ्दी नदीमा र्याफ्टिङ, हेलिकोप्टर उडानमार्फत जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन, महोत्सव परिसरमै कोसेली घर सञ्चालन, कृषि, पशुपंक्षी तथा हस्तकला प्रदर्शनी, होमस्टे प्रवद्र्धन कार्यक्रम तथा दैनिक सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन हुने आयोजकको भनाइ छ ।
महोत्सवमा २ सय २० वटा व्यापारिक स्टल, प्रवेशद्वार, लण्डन ब्रिज र वाल उद्यानका संरचनाहरु, मर्स्याङ्दी नदीमा र्याफ्टिङ गराउनुका साथै हेलिकोप्टर उडान मार्फत् जिल्लाका पर्यटकीय स्थलहरुक अवलोकन गराउने, कोसेली घर सञ्चालन गर्ने लगायतका कार्यक्रम राखिएको छ । जिल्लाको स्थानीय व्यापार व्यवसाय सँगै कृषि, पर्यटन, जडीबुटी, हस्तकला, लोक कला, संस्कृति प्रवद्र्धन, स्थानीय प्रतिभा पहिचान गर्नुक साथै, कृषि, पशुपंक्षी, हस्तकला प्रदर्शनी, होमस्टे तथा पर्यटन प्रवर्धनात्मक कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । महोत्सवमा झण्डै डेढलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
आयोजकका अनुसार महोत्सव अवधिभर झण्डै डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवले जिल्लाको व्यापार– व्यवसाय चलायमान बनाउँदै लमजुङको पर्यटन प्रववर्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
महोत्सव स्थलमा मुख्य स्टेज, सचिवालय, करिब २२० वटा व्यापारिक स्टल, आकर्षक प्रवेशद्वार, वाल उद्यान तथा विशेष संरचनाका रूपमा यस वर्ष ‘लण्डन ब्रिज’ निर्माण गरिएको छ । संरचनागत हिसाबले यसपटकको महोत्सव अघिल्ला संस्करणहरूभन्दा फरक, व्यवस्थित र थप आकर्षक बनेको आयोजकको दाबी छ ।
प्रति टिकट १० रुपैयाँ सामाजिक सेवामा :
महोत्सवमा विक्रीबाट प्राप्त हुने प्रति टिकट १० रुपैयाँ सामाजिक सेवा कोषको लागि छुट्याउने विगतको झैं यसवर्ष पनि कायमै गरिएको छ । जसमध्ये दैवीप्रकोप उद्धारकोषमा दुई रुपैयाँ, आदर्श महिला तथा बालबालिका विकास केन्द्रलाई दुई रुपैयाँ, मानवसेवा आश्रमलाई दुई रुपैयाँ, सर्वोदय जेष्ठ नागरिक आरोग्य आश्रमलाई दुई रुपैयाँ र पत्रकार महासंघ सचिवालय सञ्चालन सहयोगमा दुई रुपैयाँ छट्याईने भएको आयोजक लउवा संघका महासचिव विपिन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार हाम्रो लक्ष्य, उद्देश्य र विश्वासलाई सार्थक बनाउन सबैपक्षको उत्तिकै सकरात्मक, रचनात्मक र महत्वपूर्ण साथ, समर्थन र सहकार्यको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रम उद्घाटन पूर्व बेसीशहरको सेराबजारबाट निस्किएको विभिन्न जातजाति, समुदाय, आमा समूह तथा विद्यार्थी लगायतको झाँकी जुलुस बेसीशहर बजार परिक्रमा गरी बेसीशहर नगरपालिका– ७ स्थित सहजी खेलमैदानमा पुगेको थियो । प्रर्दशन गरिएको झाँकी र्यालीमा बेसीशहर नेवा खल प्रथम भएको छ । त्यस्तैगरी प्रगती टोल समुदाय छों झों धि द्धितीय, नेपाल मगर जिल्ला समन्वय समिति तृतीय, नमुना सामुदायिक आमा समूह बेसीशहर नगरपालिका– १ र नेपाल तामाङ घेदुङ बेसीशहर इकाई सान्त्वना भएका छन् ।
उद्घाटन समारोह लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा मूल समारोह समितिका संयोजक भरतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष विकास श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम सञ्चालन संघका महासचिव विपिन श्रेष्ठ र उपमहासचिव मानकृष्ण आचार्यले संयुक्त रूपमा गर्नु भएको थियो ।
महोत्सवमा झण्डै डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकको भनाइ छ ।
प्रकाशित मिति २०८२ माघ ९, शुक्रबार १३:३४ गते