लमजुङ– जिल्ला सदरमुकाम, बेसीशहर नगरपालिका– ७ को सातबीसेमा रहेको भुपु सैनिक भुपुसैनिक आवासीय माध्यमिक विद्यालयका कक्षा आठका विद्यार्थीहरूद्वारा विद्यालय परिसरमा आठौं food festival आयोजना गरी उक्त कार्यक्रमबाट प्राप्त आम्दानीमध्ये पाच हजार ५५५ रुपैयाँ बालविकास केन्द्रलाई सहयोग स्वरूप माघ १६ गते प्रदान गरेका छन् ।
प्रिन्सिपल विनोद गुरुङले विद्यार्थीहरूको यस्तो प्रशंसनीय कार्यले समाजसेवा, सहयोग र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । उहाँले यस कार्यका लागि सम्बन्धित सबै विद्यार्थीहरूलाई विद्यालय परिवारकोतर्फबाट हार्दिक धन्यवाद तथा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
विद्यार्थीको उक्त सकारात्मक, सिर्जनात्मक र सामाजिक उत्तरदायित्वपूर्ण कार्यबाट प्रेरित भई यस विद्यालयका प्रिन्सिपलले व्यक्तिगत तर्फबाट दुई हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।
व्यवहायरिक ज्ञानका लागि खाना उत्सव :
उक्त आवसीय माध्यमिक विद्यालयमा खाना महोत्सव सञ्चालन गरिएको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले व्यवहारिक सिकाइ तथा व्यवसायिक सोच विकास गर्ने उद्देश्यले उक्त उत्सव माघ १५ गते आयोजना गरिएको हो ।
विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान, समुहगत कार्यको अभ्यास र आत्मनिर्भर बन्ने सीप सिकाउने उद्देश्यले खाना उत्सव आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विनोद गुरुङले बताउनु भयो । उहाँका अनुसार विद्यार्थीहरूले व्यवहारिक रुपमा सिकेका कुरा कहिल्यै नबिर्सिने र दिनभरको पढाइको थकानबाट पनि मुक्त गराउने र समुहमा काम गर्ने बानी बसाल्ने उद्देश्यले सो कार्य गराइएको हो । उहाँले भन्नुभयो, ‘विद्यालयले बिगत ८ वर्षदेखि निरन्तर रुपमा खाना उत्सव आयोजना गर्दै आएको छ ।’
यसले विद्यार्थीहरूलाई सानै उमेरदेखि सिर्जनशील बनाउने र व्यवहारिक जीवनका लागि तयार पार्ने काम गरेको प्रिन्सिपल गुरुङले बताउनुभयो । खाना उत्सवमा सहभागी विद्यार्थी साथीहरूले समुहगत रुपमा विभिन्न परिकार तयार गरेको सन्ध्या गुरुङले बताइन् । सो अवसरमा मःम, ससेज, गुन्द्रुकको अचार, कोदोको सेलरोटी, आलु फ्राई, पकौडा, कालो तथा दुध चिया, दुध कफि लगायतका परिकारहरू पकाइएको अर्का छात्र अंशु गुरुङले जानकारी दिइन् । खाना महोत्सवका क्रममा धेरै प्रकारका नयाँ परिकार बनाउने सीप सिक्न पाएको र साथीहरूसँग मिलेर काम गर्दा रमाइलो अनुभव भएको सुदिन गुरुङले उल्लेख गरे ।
विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहयोगमा आयोजना गरिएको उक्त उत्सवले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र समुहगत कार्य क्षमतामा थप वृद्धि गरेको सो कार्यमा विद्यार्थीलाई उत्प्रेरित गर्नु हुने शिक्षिका अनुकला गुरुङ र गुनामाया गुरुङले बताउनु भयो ।
आगामी दिनमा यस्ता व्यवहारिक कार्यक्रमहरूलाई अझ निरन्तरता दिने योजना रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८२ माघ १७, शनिबार १२:१३ गते