
खुदी(लमजुङ)– लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङदी गाउँपालिका– ३ खुदीस्थित खुदी युथ क्लबको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यता एवं क्लबका कावा अध्यक्ष रविन लामाको अध्यक्षतामा माघ १७ गते भएको हो ।
क्लबको पाँचौँ साधारण सभासमेत संयुक्त रुपमा गरिएको अधिवेशनको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले युवाहरू एकजुट भएर आफ्नो क्षेत्रमा खासगरी लागुऔषध दुव्र्यसनी तथा वृत्ती विकाससम्बन्धी सचेतनामूलक कार्य गर्न सुझाव दिनभयो । उहाँले रचनात्मक कार्यका लागि पालिकाले आर्थिक रुपमा सहयोग गर्दै आएको र भोलिका दिनमा पनि गरिहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले युवाहरूको सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने भन्दै क्लबले समुदायमा अनुकरणीय भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले युवाहरूलाई गलत बाटोबाट जोगाउन खेलकुद, सांस्कृतिक कार्यक्रम, सामाजिक अभियान तथा सिर्जनात्मक गतिविधिहरू संचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले युवाहरूले आत्मनिर्भर बन्ने सोच विकास गरी कृषि, पर्यटन, उद्यमशीलता लगायतका क्षेत्रमा अवसर खोज्नुपर्ने उल्लेख गर्नुभयो ।
पालिकाले युवामैत्री कार्यक्रम तथा तालिमहरूलाई प्राथमिकतामा राखेर आगामी दिनमा अझ प्रभावकारी सहयोग गर्ने अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभयो । युवाहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बन्न प्रेरित गर्दै समाज रुपान्तरणमा युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सो अवसरमा वडा नं. ३ का वडा अध्यक्ष दुतमान तामाङ, सोही वडाका निर्वतमान अध्यक्ष प्रेम बस्नेत, खुदी टोल विकास समितिका अध्यक्ष जगबहादुर तामाङलगायतले क्लबले समाजमा सकारात्मक योगदान पुर्याउँदै आएको स्मरण गर्दै आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
क्लबका कोषाध्यक्ष विशाल रावलले क्लबले हरेक वर्ष एकादशीको अवसरमा आयोजना गरिने एकादशी मेला तथा खुदी युथ क्लबको अन्य गतिविधिको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
क्लबका कार्यबहक अध्यक्ष रविन लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सचिव अविनाश भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
अध्यक्षमा विशाल रावल चयन :
खुदी युथ क्लबको तेस्रो अधिवेशनले अध्यक्षमा बिशाल रावल सर्वसम्मत चयन गरेको छ । सम्पन्न क्लबको तेस्रो अधिवेशनबाट तत्काल ८ सदस्यीय कार्यसमिति चयन गरिएको र छिट्टै बैठक बसेर कार्यसमितिलाई विस्तार गर्दै १५ सदस्यीय बनाइने नवनिर्वाचित अध्यक्ष रावलले जानकारी दिनु भयो ।
कार्यसमितिको नवनिर्वाचित प्रथम उपाध्यक्षमा रविन लामा, दोस्रो उपाध्यक्षमा पूर्णसिङ तामाङ, सचिवमा अर्जुन श्रेष्ठ, कोषाध्यक्षमा शुष्मा भण्डारी, सहकोषाध्यक्षमा मिरन गुरुङ र सदस्यमा देवेन्द्र लामा चयन हुनु भएको छ ।
क्लबलाई अझ प्रभावकारी बनाउँदै युवाहरूलाई सामाजिक सेवा, खेलकुद, सिर्जनात्मक गतिविधि तथा सामुदायिक विकासमा सक्रिय गराउने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष रावलले प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा नयाँ कार्यक्रमहरू सञ्चालन गर्दै क्लबको गरिमालाई थप उचाईमा पुर्याउने बताउनु भयो ।
उक्त अधिवेशन तथा साधारण सभामा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति थियो ।
प्रकाशित मिति २०८२ माघ १९, सोमबार ०७:३८ गते