काठमाडौं– देउडाका सम्राट नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । कालीभक्त– कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवम् नेपालको सुदूर प्रश्चिममा प्रख्यात देउडाका सम्राट नन्दकृष्ण जोशीलाई माघ २४ गते प्रदान गरिएको हो ।
प्रतिष्ठानले आफ्नो ३४ औँ स्मृति दिवसको अवसरमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा एक भव्य समारोह गरी उक्त पुरस्कार प्रदान गरिएको हो ।
प्रमुख अतिथि तथा सभापतिलगायत मञ्चासीन अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक तथा कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक साहित्यकार तथा संगीतकार महेश्वर पन्त, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.लगायतबाट जोशीलाई खादा माला दोसल्ला र सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नु भएको हो ।
समारोहमा उपस्थित अतिथिहरूलाई कालीभक्त पन्त स्मृति प्रतिष्ठानको तर्फबाट परमेश्वर पन्तले प्रतिष्ठान र पुरस्कारहरूको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । हरेक फागुन ६ गते हुने गरेको स्मृति दिवस तथा पुरस्कार वितरण समारोह यस वर्ष देश काल परिस्थितिका कारण अगाडि गर्नुपरेको बताउँदै पन्तले प्रतिष्ठानद्वारा प्रदान गरिने अन्य छात्रवृत्ति पुरस्कार तथा कृष्णा पन्तको सम्मानमा स्थापित आमा पुरस्कारका विषयमा जानकारी दिनु भएको थियो ।
समारोह प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्व कालीभक्त पन्तको जीवनीका विषयमा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले बूँदागत रुपमा प्रकाश पार्नु भएको थियो । उहाँले धार्मिक सांस्कृतिक, राजनैतिक, सामाजिक विषयमा कालीभक्त पन्तले गरेका योगदानका विषयमा जतिनै वर्णन गरे पनि नसकिने बताउँदै ४१२ पृष्ठको कालीभक्त पन्त स्मृतिग्रन्थमा दर्जनौँ लेखकहरूले उहाँको योगदानको बारेमा चर्चा गरिसकेको उल्लेख गर्नुभयो । उहाँले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने आठौँ स्रष्टा नन्दकृष्ण जोशीलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
समारोहमा पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक तथा कालीभक्त पन्तका नाति साहित्यकार महेश्वर पन्तले ‘नेपाल, अब नेपालमा मात्र सीमित रहेन’ शीर्षकको कविता वाचन गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँले कालीभक्त पन्तको लोकगीतलाई संगीतसहित तीनओटा गजल गाएर समारोहमा रौनकता थपेका थिए ।
समारोहमा बाल कलाकार श्रीयङ्का बस्नेतले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् । अनेसास गण्डकी प्रदेश समितिका संयोजक देवु के.सी. देवेन्द्रले समसामयिक कविता वाचन गर्नु भएको थियो ।
पुरस्कृत व्यक्तित्व नन्दकृष्ण जोशीले आफूले प्राप्त गरेको यो पुरस्कार पुरस्कार मात्र नभई पितृको आशीर्वाद रहेको बताउँदै यति ठूलो राशिको पुरस्कार पहिलो पटक पाएको बताउनु भएको थियो । जोशीले आफ्नो संघर्षका कथा बताउँदा समारोह स्तब्ध भएको थियो भने ड्यासबाट ओर्लिएर देउडा गीत गाउँदै उपस्थित सबैलाई नचाउनु भएको थियो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.ले पुरस्कृत व्यक्ति जोशीलाई शुभकामना तथा बधाई दिँदै प्रतिष्ठानले गरेका कार्यहरूको प्रशंसा गर्नु भएको थियो ।
समारोहका प्रमुख अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले कालीभक्त पन्तको व्यक्तित्व र कृतित्वका विषयमा उहाँद्वारा लिखित हाम्रो सांस्कृतिक इतिहासको विषयमा थप चर्चा गरेका थिए भने पुरस्कृत व्यक्तिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
यसैबीचमा सञ्चालक ऋषभदेव घिमिरेले कालीभक्त– कृष्णा पन्त छात्रवृत्ति एवं कृष्णा पन्त महिला सम्मान पुरस्कार प्राप्त व्यक्तिहरूको नाम घोषणा गर्नु भएको थियो । पुरस्कृत हुनेहरूमा– (१) प्रशंसा पाण्डे, लिमिठाना माध्यमिक विद्यालय, लिमिठाना, पर्वत (२) सहनशीला पौडेल, शारदा माध्यमिक विद्यालय फलेवास नपा– १० कुर्घा, पर्वत (३) स्वर्णिमा घिमिरे, जनता माध्यमिक विद्यालय देवीस्थान, पर्वत (४) कृष्णा पन्त महिला संम्मान पुरस्कार घोषणा– ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, फलेवास शाखा पर्वत रहनु भएको छ ।
सभापति तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले प्रतिष्ठान स्थापनादेखि कालीभक्त पन्तको विषयमा संक्षिप्त चर्चासहित उपस्थित सबैलाई धन्यवाद दिँदै सभा विसर्जन गर्नु भएको थियो ।
जिपी तिमिल्सिना फाउण्डेशनको सभा हलमा भएको समारोहमा कालीभक्त पन्तका सन्ततिलगायत विशिष्ट व्यक्तित्वहरू शेषराज सिवाकोटी, धर्मराज थापा प्रतिष्ठानका प्रतिनिधि, अनेसास नेपाल च्याप्टरका प्रतिनिधिहरू, कलाकार, साहित्यकार, संगीतकार, प्राध्यापक, डाक्टरलगायत विविध क्षेत्रका मानिसहरूको उल्लेख्य उपस्थित रहेको थियो ।
प्रकाशित मिति २०८२ माघ २५, आईतवार ०८:१८ गते