साझा प्रकाशनले मनायो ११३औँ वार्षिकोत्सव

साझा प्रकाशनले मनायो ११३औँ वार्षिकोत्सव

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २ गते आईतबार ०६:०६

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार माया ठकुरीले साझा प्रकाशनले बिस्तारै लय समातिरहेको छ । यस संस्थाले गुणस्तरीय प्रकाशन, सम्पादन, डिजाइन तथा पाठकमैत्री स्वरूपमा अझ ध्यान दिन उहाँको आग्रह थियो ।

साझा प्रकाशन नेपाली भाषा, साहित्य, कला, संस्कृति र शिक्षाको प्रवद्र्धनमा लामो समयदेखि सक्रिय रहँदै आएको संस्था हो ।

पुलचोक(ललितपुर)– साझा प्रकाशनले आफ्नो गौरवमय इतिहासलाई जोड्दै ११३औँ वार्षिकोत्सव मनाएको छ । अभिलेख तथा ऐतिहासिक कागजातहरूको अध्ययनपछि अबदेखि १९९० फागुन २ गते गोरखा भाषा प्रकाशिनी समिति स्थापना भएकोले फागुन २ गतेलाई नै निरन्तरताको आधार मानेर स्थापना दिवस मनाइने प्रकाशनले जनाएको हो ।
साहित्यकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाँले संस्था पुनः सम्हालिँदै अघि बढिरहेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले कर्मचारीहरूको निष्ठा र प्रतिबद्धताको खुलेर प्रशंसा गर्दै भन्नुभयो, ‘साझा प्रकाशनले बिस्तारै लय समातिरहेको छ । यस संस्थाले गुणस्तरीय प्रकाशन, सम्पादन, डिजाइन तथा पाठकमैत्री स्वरूपमा अझ ध्यान दिन उहाँको आग्रह थियो । पुस्तकहरूको अक्षर आकार सानो भएको गुनासो गर्दै त्यसमा सुधार अपेक्षित रहेको धारणा उहाँले राख्नुभयो ।
कार्यक्रममा साझा प्रकाशन प्राज्ञिक सल्लाहकार समितिका संयोजक डा. तुलसीप्रसाद भट्टराईले यो निर्णयले संस्थाको इतिहासलाई संस्थागत, प्रमाणित र गौरवपूर्ण बनाएको बताउनुभयो । उहाँले अब साझा प्रकाशनले आफ्नो यात्रालाई स्पष्ट ऐतिहासिक आधारसहित अघि बढाउने बाटो पाएको छ । उहाँले भन्नुभयो, ‘आजबाट हामीले साझा ११३औँ वर्षमा पुगेको सामूहिक बोध गरेका छौँ ।’
सल्लाहकार एवम् पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यति लामो विरासत बोकेको संस्थालाई वर्तमान पुस्तासँग जोड्दै कसरी जीवन्त राख्ने भन्ने विषयमा व्यापक बहस आवश्यक रहेको उल्लेख गर्नुभयो । रणनीतिक योजना, व्यावसायिक दक्षता र स्रष्टाको सहभागिताबाट मात्र संस्था बलियो बन्ने उहाँको भनाइ थियो । आफू साझा प्रकाशनका पुस्तक पढेर हुर्केको उल्लेख गर्दै उहाँले ‘साझा प्रकाशन नेपाली भाषा र साहित्यको स्पन्दन हो’ भन्नुभयो ।
अध्यक्ष शेखर गिरीले अभिलेख खोजी र अध्ययनबाट संस्थाको इतिहासलाई नयाँ ढंगले पुनःस्थापित गरिएको जानकारी दिनुभयो । साझा प्रकाशन अब ११३ वर्षे परम्परासँग जोडिएको प्राज्ञिक संस्थाका रूपमा उभिएको उहाँको दावी थियो । कुनै मन्दिरको बाहिरी रूप हेरेर मात्र त्यसको वास्तविकता थाहा हुँदैन, गर्भगृहमा पुगेपछि मात्रै थाहा हुन्छ भन्ने उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘हामीले पनि साझा प्रकाशनको गर्भगृह खोज्दा गोरखा भाषा प्रकाशिनी समिति भेट्यौँ ।’ आगामी दिनमा संस्था सुधार, पूर्वाधार विकास, प्रकाशन विस्तार र बजार प्रतिस्पर्धामा उभिन सरकारको सहयोग आवश्यक रहने उहाँले उल्लेख गर्नुभयो ।
निमित्त महाप्रबन्धक भेषराज घिमिरेले ऐतिहासिक तथ्य प्रस्तुत अब हरेक वर्ष फागुन २ मा स्थापना दिवस मनाइने जानकारी दिनुभयो ।
स्थापनाकालदेखि नै यस संस्थामा पुष्कर शमशेर राणा, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भीमनिधि तिवारी र माधवप्रसाद घिमिरेजस्ता अग्रणी स्रष्टाहरूको प्रत्यक्ष संलग्नता रहेको स्मरण कार्यक्रममा गरिएको थियो । अक्षरमार्फत नेपाली वाङ्मयको विकास, विस्तार र उन्नयनमा साझा प्रकाशनले उच्च भूमिका निर्वाह गर्दै आएको वक्ताहरूले बताएका छन् ।
यो संस्थालाई नेपालको इतिहासमा सबैभन्दा लामो समयदेखि क्रियाशील प्रकाशन संस्थामध्ये एक मानिन्छ निमित्त महाप्रबन्धक भेषराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार साझा प्रकाशन नेपाली भाषा, साहित्य, कला, संस्कृति र शिक्षाको प्रवद्र्धनमा लामो समयदेखि सक्रिय रहँदै आएको संस्था हो ।

प्रकाशित मिति २०८२ फाल्गुन ३, आईतवार १८:०६ गते
हजुरको प्रतिक्रिया