
काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचार निश्चित हुने भएको छ । सो प्रयोजनका लागि २४ घण्टामै झण्डै डेढ करोड रूपैयाँ संकलन गरी सरकारी निरीहताको कडा जवाफ दिएका छन् । त्यस पछि साम्बाले उत्साहित हुँदै थप संकलन नगर्न, रकम नदिन फागुन १२ गते आग्रह गर्नु भएको हो ।
साम्बाको दाहिने घुँडामा चोट बोकेकी साम्बाले आफ्नो उपचार गराउनका लागि सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग नपाएको भन्दै सहयोगका लागि आह्वान गर्नुभएको थियो । उहाँको सो आह्वानपछि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । साम्बाको उपचारमा एक करोड रुपैयाँ लाग्ने बताइएको छ ।
उहाँले भन्नुभयो, ‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ–संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।’
सरकारी स्तरबाट पनि सहयोगका लागि पहल भइरहेको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले आफूले आम समर्थकमाझ सहयोगको अपिल गर्नुपरेको भण्डारीले बताउनुभएको थियो ।
साथै साम्बाले सबैलाई धन्यवाद दिँदै छिटै नेपालको जर्सीमा मैदान फर्कने बाचा समेत गर्नु भएको छ ।
उहाँले भन्नुभएको छ, ‘यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो । तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ । म एक्लो छैन भन्ने विश्वास दिएको छ । म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।’
अस्ट्रेलियाको ‘निन्जा ए– लिग’ क्रममा स्ट्राइकर साम्बालाई गत पुस तेस्रो साता गम्भीर चोट लागेको थियो । लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा आबद्ध साम्बाको दाहिने घुँडाको ‘एसिएल’ पूर्ण रूपमा च्यातिँदा सिजनका सबै खेल गुमाउनु परेको थियो ।
ब्रिस्बेन रोअर विरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा साम्बा घाइते हुनु भएको थियो । यो चोट निको भएर पुनः मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ ।
साम्बा र वेलिङ्टन फोनिक्सबीच दुई वर्षको सम्झौता छ । उहाँ चोटबाट फर्किएपछि क्लबमा फेरि आबद्ध हुने क्लबको भनाइ छ ।
एन्फाबाट वाचा गरिएअनुसार सहयोग नपाएको गुनासो भण्डारीले गर्नु भएको थियो ।
अघिल्लो साता एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग गर्ने प्रस्ताव गरेको भण्डारीले बताउनुभयो । यस बीचमा अघिल्लो प्रक्रिया रोकिंदा झण्डै दुई महिनापछि मात्र पुनः शल्यक्रियाको मिति तय गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
हाल भण्डारी न्युजिल्यान्डस्थित क्लबमा आबद्ध रहनु भएको छ । क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि आफ्नो चोट गम्भीर रहेकाले उच्चस्तरीय उपचारका लागि कतारको अस्पेटार अस्पतालमै उपचार गराउने इच्छा भण्डारीको रहेको छ ।
यसैबीच, नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले साम्बाको उपचार खर्च पुरै बेहोर्ने बताउनु भएको छ ।
त्यस्तै, भावि प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन साहले साम्बा ‘तिमीले हार्न हुन्न’ भन्दै हौस्याउने काम गर्नु भएको छ । त्यस्तो सामाजिक अभियन्ता आशिका तामाङले पनि साम्बाको उपचारार्थ पाँच लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ ।
प्रकाशित मिति २०८२ फाल्गुन १४, बिहीबार ०८:५४ गते