
काठमाडौं– नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाएको छ । नइ एकेडेमीद्वारा यहाँ आयोजना गरिएको विजय मल्ल शताब्दी महोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ठ योगदान गर्नु भएका ४६ जना प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई सम्मान गर्दै फागुन १७ गते विजय मल्ल शताब्दी महोत्सव मनाएको हो ।
महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदानका लागि ४६ जना प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई विजय मल्ल नइ शताब्दी पुरस्कार र पदकबाट विभूषित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित गर्नुभएको थियो ।
समारोहका प्रमुख अतिथि महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले प्राज्ञहरूमा डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्रा.डा. कृष्णराज घतानीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत गर्नुभएको हो ।
कार्यक्रममा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई प्राज्ञिक कार्य गरेबापत नेपाल तथा भारतका सात जना प्राज्ञलाई उक्त सम्मान समर्पण गरिएको छ । सो सम्मानको राशि जनही २५–२५ हजार रुपैयाँ रहेको नइ एकेडेमी सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।
यसैबीच, सोही समारोहमा विजय मल्लका सिर्जनात्मक कृतिमा आधारित नाट्यमञ्चन तथा चलचित्र निर्माणमा उल्लेखनीय योगदान दिएबापत ३८ जनालाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिएको छ । सो पदकबाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा.केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहारी, प्रा.डा. दयाराम श्रेष्ठ, डा. दुर्गाबहादुर घर्तीमगर, प्रा.डा. देवीप्रसाद गौतम, प्रा.डा. देवीप्रसाद सुवेदी, नगीना जोशी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा.डा. महादेव अवस्थी, मुरलीधर, मोतीशोभा श्रेष्ठ, रवीन्द्र खड्का, राधेश्याम प्रधान, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, सूर्यमालन शर्मा, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा.हेमचन्द्र नेपाल हुनुहुन्छ ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कृष्णराज घतानी, चैत्यदेवी, मदनदास श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, हरिहर शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईले स्रष्टा विजय मल्लको योगदानबारेमा प्रकाश पार्नुभएको थियो ।
प्रकाशित मिति २०८२ फाल्गुन १६, शनिबार १९:३५ गते