चामे(मनाङ)– हिमाल पारीको जिल्ला मनाङको दुर्गम नार्पाभूमि गाउँपालिकाका तीन वडामा खटिएको निर्वाचनको टोली आज मात्र निर्धारित स्थानमा पुग्ने भएको छ । सो गाउँपालिकाको नार गाउँका तीन वडामा निर्वाचन टोली आज फागुन १९ गते पुग्ने भएको हो ।
पाँचवटा वडा रहेको सो गाउँपालिकाको फू गाउँमा रहेका दुई वडानं– ४ र ५ मा हिजै निर्वाचन टोली पुगेको मनाङका जिल्ला अनुगनम अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनु भयो । उहाँका अनुसार नार्पाभूमि गाउँपालिकामा पाँच वटा वडा रहेका छन् । सो पालिकाको नार गाउँमा वडानं– १, २ र ३ रहेका छन् । मनाङ जिल्लाको सबैभन्दा दुर्गम वडा ती तीन वटा हुन् नार्पाभूमि गाउँपालिका वडानं १ का वडाध्यक्ष फूर्पा ठेले लामाले बताउनु भयो । उहाँका अनुसार अब त मौसम खुल्यो ।
‘गाउँले जनताहरू पनि आउँदैछन्, निर्वाचनमा खटिएको टोली पनि भोलि आपुग्ने खबर छ ।’ उहाँले भन्नुभयो, ‘यहाँका तीनवटा वडामा खटिएको निर्वाचनको टोली आज नेटा आइपुगेको छ भन्ने खबर छ, बाँकी सबै भोलि आइपुग्छन् ।’
जिल्लाको मौसम सफा रहेको र त्यस्तो समस्या हुने नदेखिएको मनाङका जिल्ला अनुगनम अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनु भएको छ । उनका अनुसार अन्य पालिकाहरूमा खटिएका निर्वाचन टोली सबै ठाउँमा हिजै पुगिसकेको छ ।
पौडेलले थप भन्नुभयो, ‘जिल्लाको सबैभन्दा दुर्गम क्षेत्रमा गाउँपालिका नार्पाभूमि हो ।’ त्यो गाउँपालिकामा पाँच वटा वडा छन् र मतदान स्थल पनि पाँच वटै छन् । वडानं ४ र ५ मा खटिएको निर्धारित स्थलमा हिजै पुगेको जानकारी आएको छ पौडेलले बताउनु भयो । बाँकी तीनवटा वडाका लागि खटिएको टोली आज पुग्छ भन्ने छ उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार यो समाचार तयार गर्दासम्म आचारसंहिता उल्लंघनको एउटै पनि उजुरी परेको छैन ।
पौडेलका अनुसार मौसम ऐलेसम्म ठीक छ, हिउँ पग्ली सकेको छ, बाटो हिड्न कुनै समस्या छैन । निर्वाचनका लागि खटिएको टोलीका लागि लग्नु पर्ने खाद्यान्न बोकेको टोली पाँचवटै वडामा पुग्यो भन्ने खबर छ मनाङका जिल्ला अनुगनम अधिकृत पौडेल भन्नुभयो ।
मनाङ जिल्लामा कुल मतदाता संख्या सात हजार रहेको छ । नार्पाभूमि गाउँपालिकाका पाँचै वडाको कुल मतदाता संख्या ४८८ रहेको छ मनाङका जिल्ला अनुगनम अधिकृत पौडेलले जानकारी दिनुभयो । उक्त गाउँपालिकाको पाँच वडाका लागि पाँचैवटा मतदान केन्द्र रहेका छन् ।
मतदान स्थल २८ वटा रहेका छन् भने एक अस्थायी मतदान केन्द्र गरी २९ मतदान केन्द्र रहेका छन् । चार गाउँपालिका रहेको मनाङ जिल्लामा नासो र मनाङ निसाङ गाउँपालिकामा ९÷९ वटा केन्द्र रहेका छन् । जिल्ला सदरमुकाम रहेको चामे र जिल्लाको दुर्गम भेकमा रहेको नार्पाभूमि गाउँपालिकामा ५÷५ वटा मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान केन्द्र जिल्ला सदरमुकाम चामेमा रहेको जिल्ला अनुगनम अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मनाङमा तीन दल मात्र चुनावी मैदानमा छन् । ती दलमा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मंगोल नेसनल अर्गनाइजेसन रहेका छन् । नेपाली काँग्रेसबाट टेकप्रसाद गुरुङ उम्मेदवार हुनुहुन्छ भने नेपाली कम्युनिष्ट पार्टीबाट यशोदा सुवेदी गुरुङको चुनावी मैदानमा हुनुहुन्छ । मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर गुरुङ उम्मेदवार बनेको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन १९, मंगलवार १०:०९ गते