पोखरा– कास्कीको एक मतदान केन्द्रमा शतप्रतिशत मतदान भएको छ । कास्की कारागारमा यसपटक फागुन २१ गते शतप्रतिशत मतदान भएको हो ।
अस्थायी मतदान केन्द्रको रूपमा स्थापना गरिएको कारागारभित्र नामावलीमा सूचीकृत सबै ३७ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेसँगै शतप्रतिशत मतदान भएको मतदान अधिकृत गोविन्द श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया करिब साढे दुई घण्टामै सम्पन्न भएको हो । उहाँले भन्नुभयो, ‘कारागारभित्र रहेका ३८ जनाको नाम मतदाता नामावलीमा समावेश थियो तर एक जना धरौटी राखेर तारेखमा छुटेको हुँदा ३७ जनाले मात्रै मतदान गरेका हुन् ।’
३७ जनामध्ये दुई जना महिला कैदीबन्दी रहेको श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सो केन्द्रमा ३ जना कर्मचारीले पनि मतदान गरेकाछन् । यसप्रकार उक्त अस्थायी मतदान केन्द्रमा कुल ४० मत खसेको मतदान अधिकृत श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, ‘उनीहरूले समानुपातिकतर्फमात्र मतदान गरेका हुन् ।’
उक्त कारागारमा हाल ६ सय ९७ जना कैदीबन्दी रहेका छन् तर पनि निर्वाचन आयोगबाट प्रमाणित भई नामावलीमा समावेश भएका व्यक्तिहरूले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ । प्रदेश निर्वाचन कार्यालयमा आफ्नो विवरण उपलब्ध गराएका र आधिकारिक सूचीमा नाम भएका कैदीबन्दीले मात्रै मत हाल्न पाएका हुन् मतदान अधिकृत श्रेष्ठले भन्नुभयो ।
यसैबीच, प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले प्रदेशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउनु भएको छ । उहाँका अनुसार मतदान कार्य शान्त, मर्यादित र उत्साहपूर्ण रहेको छ ।
कास्की जिल्लाभर दुई अस्थायी मतदान केन्द्रसहित ३ सय ६५ मतदान केन्द्र र १ सय ५३ मतदान स्थल रहेका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ । मतदान सम्पन्न भई मत पेटिका संकलन कार्य सकिना साथ आजैदेखि मतगणना कार्य थालिने तयारी छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २१, बिहीबार ११:१६ गते