बेसीशहर– लमजुङमा जारी मतदानको गणना कार्यको नतिजा अनुसार काँग्रेस र रास्वापका बीच उछिनपाछिन चलिरहेको छ । ऐलेसम्म एक गाउँपालिकाको मत गणना सकिएर अर्को पालिका थालिएको छ । यो क्रममा काँग्रेस र रास्वपा बीच टक्कर देखिएको छ भने एमाले पछि पछि रहेको छ ।
दूधपोखरी गाउँपालिकाबाट सुरुभएको मतगणनाको सुरुवाती चरणमा पनि काँग्रेसका गमप्रसाद गुरुङले अग्रता लिनु भएको थियो । बीचमा उहाँलाई रास्वपाका धर्मराज केसीले उछिन्नु भएको थियो । तर पछिल्लो अपडेट अनुसार केसीलाई फेरि पछि पारेर काँग्रेसका गुरुङ अघि बढ्नु भएको छ ।
घोषित परिणाम अनुसार रुखमा एक हजार ९०१, घन्टीमा एक हजार ८६४ र सूर्यमा एक हजार एक ७९९ मत रहेको घोषणा जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । त्यसैगरी, तारामा ४२५, माटो ७१, कुखुराको भाले ५७, हलो ४९, माहुरी १४, केबलकार(स्वतन्त्र) १०, गोलाभित्र दुई पात भएको गुलाफको फूल आठ र मोवाइलमा दुई मत परेको छ ।
यो निर्वाचनमा ५६.११ प्रतिशत अर्थात ७६ हजार ९३८ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार ४ः३० बजेको अपडेट अनुसार छ हजार ४४५ मत गणना भएको छ । त्यसमा २४४ मत बदर भएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार १६:५७ गते