बेसीशहर– लमजुङमा मतगणना कार्य जारी छ । गणनाको पछिल्लो अपडेट नतिजा अनुसार आफ्नो गृह क्व्होलासोथार गाउँपालिकाको मत गणनामा भने यसअघि पछि पर्दै तेस्रो स्थानमा रहनु भएका एमालेका उपाध्यक्ष एवम् निवर्तमान सूचना तथा सञ्चारप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अग्रता हासिल गर्नु भएको छ ।
पछिल्लो नतिजा अनुसार हालसम्म ८ हजार १ सय ३५ मत गणना हुँदा पृथ्वीसुब्बा गुरुङले २ हजार ६ सय ८५ मत ल्याउनु भई चार सय १० मतले अघि हुनु भएको छ । क्व्होलासोथार गाउँपालिका कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङको पनि गृह पालिका हो । तर उहाँले आफ्नै ठाउँमा पनि खासै मत बढाउन सकेको देखिएन । तर पनि उहाँ २ हजार २ सय ७५ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । उहाँ पृथ्वीसुब्बा गुरुङभन्दा चार सय १० मतले पछि र रास्वपाका धर्म केसी भन्दा ९२ मतले अघि हुनुहुन्छ ।
त्यसो त मतगणनाको सुरुवाती चरणमा गमप्रसाद गुरुङले अग्रता हासिल गर्नु भएको थियो । दूधपोखरी गाउँपालिकाको मत गन्दा रास्वपा र कांग्रेसले पछि पारेका पृथ्वीसुब्बा गुरुङ क्व्होलासोथार गाउँपालिका– ३ पुग्दा अघि बढ्न थाल्नु भएको हो । क्व्होलासोथार गाउँपालिका– २, ३, ५, ६, ७ र ८ को गणना भइसकेको छ ।
रास्वपाका उम्मेदवार धर्मराज केसीले २ हजार १ सय ८३ मत पाउनु भएको छ ।
नेकपा उम्मेदवार हरिजङ तामाङले ४ सय ३८ मत ल्याउनु भएको छ ।
मतगणनाको क्रममा ३ सय १९ मत बदर भइसकेको घोषणा गरिएको छ ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार १८:०२ गते