भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा ‘ह्याट्रिक’ गरी निर्वाचित हुनु भएको छ । लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई साढे १४ हजार बढी मतान्तरले पराजित गर्दै जितको ‘ह्याट्रिक’को दौड पुरा गर्नु भएको फागुन २३ गते घोषणा गरिएको हो ।
अन्तिम मत परिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्नु भयो भने उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेललाई ३९ हजार ८३८ मतको भारी अन्तरले पराजित गर्नु भएको हो । कांग्रेसकी खरेलले १४ हजार ५६४ मतले पछि पर्नु भएको छ ।
यसैगरी, नेकपा एमालेका अस्मिन घिमिरे छ हजार ९९२ मत, नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरूङ चार हजार ९६९ मत पाउनु भएको घोषणा गरिएको छ । सो निर्वाचन क्षेत्रमा सदर मत ८७ हजार २८ रह्यो भने बदर मत दुई हजार ७९६ मत रहेको छ ।
रविको तीन वर्षमा तीनै पटक जित ः
रास्वपाका सभापति रविले यसअघि २०७९ को आम निर्वाचन र २०८० को उपनिर्वाचनमा पनि यही क्षेत्रबाट भारी मतान्तरले जित हासिल गर्नु भएको थियो । यसपटकको जितसँगै उनले चितवन– २ मा आफ्नो पकड झन् मजबुत बनाउन सफल हुनु भएको छ ।
यो जितले रास्वपाको राष्ट्रिय राजनीतिमा बढ्दो प्रभावलाई पुनः पुष्टि गरिदिएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २३, शनिबार १०:२७ गते