रास्वपालाई दुईतिहाईका लागि दुई सिट कम

रास्वपालाई दुईतिहाईका लागि दुई सिट कम

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २७ गते बिहिबार ०६:१५

आयोगका अनुसार रास्वपाले ५१ लाख ६७ हजार ४२९ मत पाएको छ । समानुपातिकमा यो निकटतम दलभन्दा झन्डै तेब्बर मत हो । समानुपातिकतर्फ दोस्रोमा १६.२ प्रतिशत अर्थात् १७ लाख ५५ हजार ४७९ मत नेपाली काँग्रेसले ल्याएको छ ।

जेनजी आन्दोलनपछि भएको निर्वाचनले रास्वपा र हर्क साम्पाङ नेतृत्वको दललाई मतदाताले अनुमोदन गरेको पुष्टि भएको देखिन्छ ।

काठमाडौं– नेपाली जनताले मतदानमार्फत गरेको विद्रोहले राजनीतिक स्थिरताको सन्देश दिएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको ११० सिटको अन्तिम मतगणना आउदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई दुईतिहाई बहुमतका लागि दुई सिटमात्र कमी देखिएबाट फागुन २७ गते पुष्टि भएको हो ।
प्रतिनिधिसभा निर्वाचन परिणामले सुशासन र विकासको चाहनाका लागि भएको जेनजी विद्रोह अनुमोदन गर्दै मतदाताले ब्याटलेमार्फत् एउटै पार्टीलाई ढुक्कको बहुमत पुग्ने अवस्था बनाइदिएका हुन् । रास्वपाले स्थिर सरकार सञ्चालनका लागि सुरक्षित एकल बहुमत र समन्वय गर्दा आवश्यक परेको खण्डमा सहज दुईतिहाइको म्यान्डेट पाएको छ ।
कुन दलको मत कति ?
फागुन २१ गते भएको मतदानमा एक करोड ८ लाख ३० हजार ८१५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार छ वटा पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै समानुपातिक सिट हात पारेका छन् । आयोगले मतगणना गरी अन्तिम परिणाम सार्वजनिक गरेसँगै रास्वपाले सुदृढ बहुमतसहित निकट दुईतिहाइको अनुमोदन पाएको हो ।
समानुपातिकतर्फको अन्तिम परिणामअनुसार रास्वपाले कुल सदर मतको ४७.८ प्रतिशत मत पाएको निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगका अनुसार रास्वपाले ५१ लाख ६७ हजार ४२९ मत पाएको छ । समानुपातिकमा यो निकटतम दलभन्दा झन्डै तेब्बर मत हो । समानुपातिकतर्फ दोस्रोमा १६.२ प्रतिशत अर्थात् १७ लाख ५५ हजार ४७९ मत नेपाली काँग्रेसले ल्याएको छ ।
तेस्रो दलको हैसियत नेकपा एमालेले १४ लाख ५२ हजार ६३७ अर्थात् १३.४ प्रतिशत ल्याएको नेकपा एमालेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पछ्याउँदै चौथो भएको छ । नेकपाले ८ लाख ९ हजार ५३० अर्थात् ७.५ प्रतिशत मत ल्याएको छ । नयाँ राजनीतिक दलको रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७०८ अर्थात् ३.५ प्रतिशत ल्याएर पाँचौँ दलको हैसियत बनाउन सफल भएको छ ।
छ दललाई राष्ट्रिय मान्यता :
छ दलले मान्यता पाएको प्रत्यक्षमा सबैभन्दा कम सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमै पनि ३ लाख ३० हजार २२७ अर्थात् ३ प्रतिशत मत पाएका छन् । ‘थ्रेसहोल्ड’ गणनामा आएका ६ वटा पार्टीको जम्मा मतलाई आधार मानेर ११० सिट छुट्ट्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै ५२ प्रतिशत सिट अर्थात् ५७ सिट पाउने भएको छ ।
कांग्रेसले १७.७५ प्रतिशत अर्थात् २० सिट, नेकपा एमालेले १४.७ प्रतिशत अर्थात् १६ सिट पाउँछ । संसद्मा अर्को कम्युनिस्ट दलको रूपमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ प्रतिशत अर्थात् ९ सिट, श्रम संस्कृति पार्टीले ३.८ प्रतिशत अर्थात् ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.३ प्रतिशत अर्थात् ४ सिट पाउने भएको आयोगको भनाइ छ ।
जेनजी आन्दोलनपछि भएको निर्वाचनले रास्वपा र हर्क साम्पाङ नेतृत्वको दललाई मतदाताले अनुमोदन गरेको पुष्टि भएको देखिन्छ ।
कम्तीमा ३ प्रतिशत समानुपातिक मत वा १ सिट प्रत्यक्ष जित्ने दलमा ६ वटा दल भएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता रास्वपाले निर्वाचनमा सहभागी भएको दोस्रोपटकमै झन्डै दुईतिहाइ जनमत पाएको छ भने पाँच महिनाअगाडि स्थापना भएको श्रम संस्कृति पार्टीले राष्ट्रिय दल बन्ने सफलता पाएको हो ।

प्रकाशित मिति २०८२ फाल्गुन २८, बिहीबार ०६:१५ गते
हजुरको प्रतिक्रिया