पोखरा–३३ मा अकला मन्दिरको ट्रस्ट भवन र खानेपानी ट्याङ्की उद्‍घाटन

पोखरा–३३ मा अकला मन्दिरको ट्रस्ट भवन र खानेपानी ट्याङ्की उद्‍घाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २९ गते शनिवार ०७:२५

पोखरा, फागुन ३० गते । पोखरा-३३, आँपुभन्ज्याङमा नवनिर्मित अकला मन्दिर ट्रस्ट भवनको शनिवार उद्‍घाटन गरिएको छ । पोखरा महानगरपालिका, वडा नम्बर ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले ट्रस्टसँगै खानेपानी ट्याङ्की, सिँढी बाटो र शौचालयको...

पोखरा, फागुन ३० गते । पोखरा-३३, आँपुभन्ज्याङमा नवनिर्मित अकला मन्दिर ट्रस्ट भवनको शनिवार उद्‍घाटन गरिएको छ । पोखरा महानगरपालिका, वडा नम्बर ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले ट्रस्टसँगै खानेपानी ट्याङ्की, सिँढी बाटो र शौचालयको एकसाथ उद्‍घाटन गरेका हुन् ।

कार्यक्रममा वडाअध्यक्ष अधिकारीले सामाजिक तथा सामुदायिक विकासका कार्यहरूमा स्थानीय सरकार, जनप्रतिनिधि तथा स्थानीय समुदायबिचको सहकार्यमा जोड दिए । उनले सामूहिक प्रयासबाट मात्र स्थानीय विकास र यसको दीर्घकालीन संरक्षण सम्भव हुने बताउँदै यस्ता सफल सामाजिक कार्यहरू समाजका लागि अत्यन्त अर्थपूर्ण र प्रेरणादायी रहेको धारणा व्यक्त गरे ।

निर्माण समितिका अध्यक्ष होमबहादुर श्रेष्ठले स्थानीय सरकारको सीमित बजेटलाई प्रभावकारी रूपमा सदुपयोग गर्दै आफ्नै नेतृत्वमा सफलतापूर्वक योजना सम्पन्न गर्न पाएकामा खुशी व्यक्त गरे ।

पोखरा महानगरपालिका, वडा नं. ३३ का वडासचिव मोहनप्रसाद ढुङ्गानाले सामाजिक संरचना निर्माणलाई पोखरा महानगरपालिकाको नमुना विकास कार्यका रूपमा हेरिएको उल्लेख गरे ।

उपाध्यक्ष नरबहादुर श्रेष्ठको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव बलबहादुर श्रेष्ठले गरेका थिए । निर्माण समितिकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले निर्माण कार्यको आय-व्यय प्रस्तुत गरेकी थिइन् । उनले ५ लाख रुपियाँ वडा कार्यालयका तर्फबाट र अन्य रकम स्थानीय समुदायको सहयोगमा जुटाएर योजना सम्पन्न गरेको जानकारी दिइन् ।

निर्माण भएको ट्रस्ट तथा अन्य संरचनाहरू केवल भौतिक पूर्वाधार मात्र नभई सामुदायिक एकता, सेवा भावना र विकासको प्रतीक भएको उल्लेख गरिएको छ । यसले धार्मिक आस्था संरक्षण, पर्यटन प्रवर्धन तथा स्थानीय समुदायको सुविधा अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वासका साथै भविष्यमा विवाह, परम्परागत संस्कार तथा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्नसमेत उपयोग गर्न सकिने गरी दीर्घकालीन सोच र स्थानीय आवश्यकतालाई ध्यानमा राखी निर्माण गरिएको स्थानीय रेशमलाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति २०८२ फाल्गुन ३०, शनिबार १९:२५ गते
हजुरको प्रतिक्रिया