गोरखा बजार– गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका– ३ कान्टारमा भएको उक्त दुर्घटनामा मृत्यु हुने सबैजना भारतीय नागरिक रहेको फागुन ३० गते प्रहरीले जनाएको छ ।
बा प्र ०१–००६ ख ८४३० नम्बरको ईभी माइक्रोबस साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले बताउनु भयो । उहाँका अनुसार माइक्रोबसमा १४ जना यात्रु सवार थिए । उहाँले भन्नुभयो, ‘बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । मृतकको सनाखत हुन बाँकी छ ।’
सात जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य ७ जना घाइतेको उपचारार्थ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनु भयो । उहाँका अनुसार चालक र सहचालक बाहेक सबै भारतीय नागरिक मनकामना दर्शनका लागि गएका र फर्किने बेलामा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा परेकाहरूको प्रहरी र स्थानीयको समन्वयमा उद्धार गरिएको हो ।
प्रकाशित मिति २०८२ चैत्र १, आईतवार ०७:१६ गते