बडागाउँ(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले सञ्चालन गर्दै आएको ‘ठाडोभाका मेला’ यो वर्ष बडागाउँमा हुने भएको छ । तीन दिवसीय रुपमा हुने सो मेला लमजुङको मर्स्याङदी गाउँपालिका– ८ को बडागाउँमा सञ्चालन गर्ने बारेमा यसअघि नै प्रतिष्ठानका अध्यक्ष र आमा समूहका अध्यक्षका बीचमा कुराकानी भइ निश्चित भएको थियो ।
तथापि त्यसको स्वरुप, सञ्चालन विधि तथा व्यवस्थापनका पक्षका बारेमा प्रतिष्ठान र बडागाउँ स्थित शान्ति आमा समूह तथा सो गाउँका बाबाहरूसँग संयुक्त वैठक गरी चैत ३ गते विविध पक्षमा छलफल र सहमति भएबाट मेलालाई बढी आकर्षक र थप उपलब्धिपूर्ण बनाउने निर्णय गरिएको छ ।
ठाडोभाका मेला यही चैत महिनाको २०, २१ र २२ गते हुने भएको छ । सो प्रयोजनका लागि संयुक्त बैठकमा भाग लिनका लागि ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, कोषाध्यक्ष सीता गुरुङ, कार्यकारी सदस्य रमाराज खनियाको तीन सदस्यीय टोली बडागाउँमा जानु भएको थियो । आमा समूहकोतर्फबाट आमा समूहका अध्यक्ष कुशमाया गुरुङ, सचिव यमकुमारी गुरुङ, बाबा समूह एवम् बडागाउँका सामाजिक अगुवा तुलसी प्रसाद गुरुङ तथा कृष्ण गुरुङ स्थानीय लामालगायत सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा भएको छलफल अनुसार व्यवस्थापन पक्षमा आमा समूहका तर्फबाट मेलामा आउने पाहुना तथा दर्शकहरूका लागि खाना, खाजा तथा बासको सकेसम्म सरल मूल्यमा प्रवन्ध गर्ने निर्णय भएको छ । त्यसका लागि आयोजक एवम् पाहुना टिमका लागि कुपन सिस्टम चलाउने र कार्यक्रमको अन्त्यमा हिसाब गर्ने, अन्य दर्शक तथा स्रोतहरूका लागि बिक्रिको प्रवन्ध गर्ने निर्णय भएको छ ।
मेलाको कार्यक्रम आमा समूहकै भवनमा गर्ने र त्यसको प्रयोगका लागि निःशुल्क व्यवस्थापन पक्षबाट प्रवन्ध गर्ने सहमति भएको छ ।
तीनै दिनको कार्यक्रमको छाँयांकनको काम प्रतिष्ठानको तर्फबाट गर्ने सहमति भएको छ ।
यसैगरी मेलाका अवसरमा हुने ठाडोभाका, बाघचाल एवम् पात बजाउने कला प्रतियोगिताको सकेसम्म धेरै रुपमा प्रचार प्रसार गरी बढी सहभागी हुने प्रवन्ध गर्ने समेत सहमति भएको प्रतिष्ठानका कार्यकारी सदस्य रमाराज खनियाले बताउनु भयो । उहाँका अनुसार बैठकमा सहभागीहरू यो ठाउँमा कार्यक्रम लग्नु पर्छ भन्ने के कसरी निर्णय गर्नु भएको हो ? तपाईहरूले गरेका काम के कस्ता छन् ? आदि बारेमा जिज्ञासा राख्नु भएको थियो ।
सो अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको स्थापनाकालदेखिका मुख्य मुख्य गतिविधिका बारेमा अध्यक्ष नवराज पहाडीले जनकारी दिनु भएको थियो ।
उक्त अवसरमा सहजिकरणको भूमिका कृष्ण गुरुङले गर्नु भएको थियो ।
शान्ति आमा समूहका अध्यक्ष लगायतका पदाधिकारी तथा बाबा समूहका सहभागीले आफ्नो ठाउँमा कार्यक्रम ल्याइदिने सोच र योजना अनुसार प्रचारको काम समेत थाल्नु भएकोमा खुशी व्यक्त गर्नु हुँदै प्रतिष्ठानको टोलीलाई धन्यवाद दिनु भएको थियो ।
प्रकाशित मिति २०८२ चैत्र ४, बुधबार १०:४१ गते