सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार स्थित लमजुङ कृषि क्याम्पसमा चौथो सत्रान्त्रका सम्पूर्ण विद्यार्थीहरू सुरु गरेको रिले अनसन सोमबारदेखि धर्नामा परिणत भएको छ । आजको धर्नामा छैटौं सेमिष्टरका विद्यार्थी पनि सहभागी भएका छन् । रिले अनसनको पाँचौं दिन चैत ९ गते विद्यार्थीहरूले आन्दोलनको स्वरुप परिवर्तन गरी धर्नामा परिणत गरेका हुन् ।
डिन कार्यालयले आफ्ना मागको वेवास्ता गरेकोले आन्दोलनको स्वरुप बदलेर थप निरन्तरता दिन बाध्य हुनु परेको भन्दै यसअघि क्याम्पस प्रमुख तथा प्रध्यापकहरूको कक्षा कोठामा अनसन बसेका थियौं तर आजदेखि क्याम्पस गेटमा धर्नारत रहेका छौं, ती विद्यार्थीहरूले बताएका छन् । यसअघिको सहमति पालना हुनु प¥यो, हामीलाई धर्ना बस्ने रहर होइन धर्नारत विद्यार्थी प्रतिनिधि अवसर अधिकारीले बताए ।
लमजुङ क्याम्पसमा जेनजी आन्दोलनका बेला सबै प्रकारका विद्यार्थी संघ संगठन खारेज गरिएको घोषणा गरिएको हुँदा यतिबेला उक्त क्याम्पसमा कुनै पनि राजनीतिक दलको भातृ संघसंगठन कार्यरत छैनन् । सो क्याम्पसको चौथो सेमिष्टरमा १०५ जना विद्यार्थी र छैटौं सेमिष्टरमा ९२ जना विद्यार्थी रहेको क्याम्पस प्रशासनको भनाइ छ ।
आजदेखि धर्ना सुरु गरेका छैटौं संकायका विद्यार्थी प्रतिनिधि विवेक ठकुरीले समस्याको जड भनेको समयमा पढाएर कोर्ष नसकिनु हो भन्नुभयो । उहाँका अनुसार कुनै कुनै विषयको १५ लेक्चर लाग्ने पढाई पाँचै लेक्चरमा सक्ने गरिएको समेत हामीले सहेका छौं । ‘सुन्दरबजार महोत्सवमा १० दिन, सुन्दरबजार कपको प्रतियोगितामा १० दिन, ल्होसारमा तीन दिन पढाई भएन, शिक्षकहरूको परीक्षा, उनीहरू अन्यत्र पढाउन जाने जस्ता समस्याका कारणले गर्दा समयमा पढाइ नसकिने स्थिति भएको हो ।’ उहाँले भन्नुभयो, ‘गत मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म खासमा दिनमा १, २ पिरियडभन्दा पढाइनै भएन, पछि मतदान केन्द्रसमेत हाम्रो क्याम्पसमा रह्यो, हामी पनि भोट हाल्न घरघरमा गयौं ।’ त्यो बेलामा फागुनको १, २ गते हुने भनेको परीक्षा ९ र १० मा हुने गरी पुनः रुटिङ आयो, कोर्ष नसकिएको र चुनावले छोपेको कारण त्यस परीक्षामा पनि हामी सरिक हुन सकेनौं, त्यो जानकारी हामीले क्याम्पस प्रशासन र डिन कार्यालयलाई गराएको हो, त्यो स्थितिका बारेमा डिन किशोर दाहाल यहाँ आउनु भएको बेलामा गत माघ ५ गते लिखित जानकारी समेत गरेका हौं उहाँले भन्नुभयो ।
हाम्रो परीक्षाको एडमिसन कार्ड नै फागुनको २४, २५ गते चुनाव पछि मात्र आएको हो उहाँले थप भन्नुभयो । ऐले क्याम्पस प्रशासन र डिन कार्यलयले विद्यार्थीहरूलाई ब्याक पेपर दिन निर्देशन गरेको छ । तर विद्यार्थीहरू ‘हामी नियमित परीक्षामै सहभागी भएका छैनौं कसरी व्याक परीक्षा दिने ?’ भन्ने अडानमा छन् ।
हामी दुई सय जनाको जीवनमा खेलवाड भएको कसरी सहन गर्ने ? उहाँको प्रति प्रश्न छ । उहाँले भन्नुभयो, ‘हामीले डिनसँग, सहायक डिनसँग बारम्बार फोनमा पनि कुरा गरेका छौं, डिनको कार्यालय र क्याम्पस प्रशासनले हामी उपर इगो साध्ने जस्तो कुरा गरिरहेको छ, जो सैह्य छैन ।’
यसबारेमा क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठसँग सम्पर्क गर्दा क्याम्पसलाई परीक्षा तालिका निकाल्ने अधिकार छैन । त्यो काम डिन कार्यालय काठमाडौंबाट हुन्छ, मैले विद्यार्थी र डिन कार्यालयका बीचमा समन्वयात्मक भूमिका निभाएको छु तर समस्या समाधान हुन सकेको छैन उहाँले भन्नुभयो । उहाँका अनुसार यो प्रकृतिका क्याम्पस सरकारी र निजी गरी देशभर आठ वटा छन्, अन्य सात वटा क्याम्पसमा परीक्षा हुने त्यहाँ मात्र किन भन्ने ? डिन कार्यालयको चासो रहेको छ । डिन कार्यालय र विद्यार्थी दुवैलाई चित्त बुझाउन सकेको अवस्था छैन, प्रयास भने जारी छ, समाधान निस्कला क्याम्पस प्रमुख डा. श्रेष्ठले आशावादी हुदै उल्लेख गर्नुभयो ।
प्रकाशित मिति २०८२ चैत्र ९, सोमबार १९:५३ गते