साधिखोला, दोर्दी(लमजुङ)– लमजुङको स्थानीय दोर्दी गाउँपालिका– ४ को साधिखोलामा एउटा अपत्यारिलो घट्ना भएको छ । एक ४९ वर्षीय पुरुषले ४५ वर्षीया श्रीमती, १० वर्षीय भतिजा र ७१ वर्षीय काकाको बञ्चरो प्रहार गरी हत्या प्रयास गरेको रहस्य खलेको छ । त्यो घट्ना चैत ११ गते विहान भएको सो गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो ।
साविकको घर दोर्दी गाउँपालिका– ५ को छैलुङ गाउँमा रहेका उनीहरू १६ वर्ष अघि साधिखोलामा घर बनाई बसाई सरेर बसोबास गर्दै आएका थिए । चिजामायाको माइती दोर्दी गाउँपालिका– ५ को वाक्सर गाउँ हो । आज विहान करिब ४ बजेको समयमा अचानक झगडा हुँदा ४९ वर्षीय बगन गुरुङले बञ्चरोले प्रहार गर्दा श्रीमती चिजामायाको देब्रे हात नाडीमा छिनालिएको छ । त्यस्तै दायाँ हातको हत्केलामा बञ्चरोको चोटले चिरिएको छ भने बुढी औंला काटिएको चिजाकी नन्द मपु गुरुङले बताउनु भयो । उहाँका अनुसार चिजाको पेटमा प्रहार गरेको बञ्चरोको चोटले आन्द्रा भुडी समेत बाहिर निस्केको थियो । उहाँले भन्नुभयो, ‘चिजाको प्रदेश अस्पताल बेसीशहरमा आइसियुमा उपचार भइरहेको छ ।’
अर्का घाईते बालक १० वर्षीय अमन गुरुङ ठूली आमाको घरमा गएका रहेछन । मर्स्याङदी गाउँपालिका– ८ को बडागाउँका घर भएका अमन गुरुङको चिजा ठूला आमा हुन् मपु गुरुङले बताउनु भयो । उहाँका अनुसार अमनको सिएमसी अस्पताल चितवनमा आइसियुमा उपचार भइरहेको छ । उनको घित्रोमा बञ्चरो प्रहार गरिएको रहेछ ।
त्यस्तै, बञ्चरोले खप्परमा प्रहार गरिएका ७१ वर्षीय गर्भलाल गुरुङको अवस्था चिन्ताजनक छ । चितवनका लागि रिफर गरिएका उहाँको त्यहाँ पनि उपचार हुन नसक्ने भनि फिर्ता गरिएपछि भरखरै प्रदेश अस्पताल बेसीशहरमा ल्याएर आइसियुमा उपचार थालिएको सो गाउँपालिकाका – ५ की सामाजिक कार्यकर्ता तैमाया गुरुङले जानकारी दिनुभयो ।
सो घट्ना थाहा पाउनासाथ विहानैदेखि दिनभर अस्पतालमा तिनै विरामीको रेखदेख गर्ने, उनीहरूको आफन्तसँग सम्पर्क गर्ने गर्दैमा दिन बित्यो तैमाया गुरुङले बताउनु हुन्छ । उहाँका अनुसार चितवन पठाएका बिरामीको उपचार खर्च छैन भन्ने खबर आयो, त्यसपछि त्यही वरपर गरेर ५० हजार जति चन्दा संकलन भएकोमा ३० हजार चितवन पठाएर अरु यही राखेको छ ।
श्रीमती, काका र भतिजालाई बञ्चरो प्रहार गर्ने बगन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बगनले करिब १५ वर्ष अघि पनि श्रीमतीलाई ह्याम्बरले कुट्दा १०– १२ वटा टाँका लगाउने पर्ने स्थिति बनेको र अहिलेकै तत्कालीन जिल्ला अस्पतालमा उपचार गरिएस्को समेत खुल्न आएको छ ।
सिम्बोलिक तस्वीर गुगलबाट ।
प्रकाशित मिति २०८२ चैत्र ११, बुधबार २३:१३ गते