लमजुङ– ठाडोभाका गायिका एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’का गायन जोडी सीतादेवी दुरालाई ‘ठाडोभाका महातारा’ उपाधिद्वारा सम्मान गर्ने निर्णय गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठानले आफ्नो दशौं स्थापना दिवसको तीन दिवसीय मेलाको उदघाटनका अवसरमा यही चैत २० गते सीतालाई सो उपाधि सहितको सम्मान समर्पण गर्ने निर्णय भएको हो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालकी उपाध्यक्ष समेत रहनु भएकी सीतादेवी दुरा वर्तमानमा ठाडोभाकाको महिला गायकमा अग्रणी हुनुका साथै ठाडोभाकाको प्रशिक्षक समेतको भूमिकामा अब्बल हुँदै आउनु भएको छ । उहाँले प्रतिष्ठानको अभियानमा विगतको आठवर्षदेखि निरन्तर रुपमा नेतृत्वदायी भूमिकाका साथ आवश्यक पर्दा आर्थिक सहयोग समेत गर्र्दै आएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार सीतादेवीसँग कार्यक्रम स्थलको परिवेश, विषय वस्तु बुझ्ने र त्यसकै आधारमा तत्कालै गीत रचना गरी ठाडोभाकाको लयमा गाउने क्षमता छ । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानको उपाध्यक्षका हैसियले समय, ज्ञान, सीपका अतिरिक्त आवश्यक पर्दा प्रतिष्ठानको संस्थागत विकासका लागि आर्थिक सहयोग समेत गर्दै आउनु भएको छ, उहाँको सोही योगदानको उच्च मूल्यांकन गर्दै त्यो योगदानको कदर स्वरुप ‘ठाडोभाका महातारा’ उपाधि, सम्मानपत्र, दोसल्ला र नगद २३ हजार रुपैयाँसहितले सम्मान गर्ने निर्णय भएको हो ।
ठाडोभाका कार्यक्रम स्थलको स्थानीय परिवेश र कार्यक्रमको विषयवस्तुमा आधारित रहेर गाउने प्रचलन छ । त्यसैले पनि यो भाकाको विशेषता भनेको ट्याकमा गाउन नमिल्नु पनि एक हो भन्ने गरिन्छ ।
प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारीको संयोजकत्वमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी सदस्य रहेको समितिले सो निर्णय गरेको हो ।
प्रकाशित मिति २०८२ चैत्र १४, शनिबार १८:३८ गते