सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार स्थित लमजुङ कृषि क्याम्पसमा चौथो र छैटौं सत्रान्त्रका सम्पूर्ण विद्यार्थीहरू सुरु गरेको आन्दोलन डिन कार्यालयमा धाउदा पनि समाधान हुन सकेको छैन । डिन कार्यालयले विद्यार्थीलाई अचानोका मासु बनाउने काम गरेबाट चैत ५ गतेबाट सुरु भएको आन्दोलन आज १६ गते बितिसक्दा पनि समाधानतर्फ भन्दा जटिलतातर्फ उन्मुख भएको अनुभूति भएको छ ।
समयमा पढाएर कोर्ष नसक्ने तर परीक्षा तालिका भने समयमै निकाल्ने गरेका कारण मर्कामा परेका विद्यार्थीहरूले गत महिना १४ दिनसम्म उक्त क्याम्पसमा ताला लगाउने काम समेत गरेका थिए । चैत ५ गतेबाट सो क्याम्पसको चौथो सेमिष्टरमा अध्ययनरत १०५ जना विद्यार्थी आन्दोलन(रिले अनसन)मा उत्रिएका थिए । पछि त्यस्तै समस्यामा छैटौं सेमिष्टरका विद्यार्थीहरू पनि परेपछि अनसनको छैटौं दिन चैत १० गतेबाट उनीहरू समेत सहभागी भई विद्यार्थीहरूले आन्दोलनको स्वरुप परिवर्तन गरी धर्नामा परिणत गरेका थिए । छैटौं सेमिष्टरमा ९२ जना विद्यार्थी रहेका छन् ।
सोही क्रममा आन्दोलनको सातौं दिन चैत १२ गते केही विद्यार्थी मागको सम्बोधनका लागि डिनको कार्यालय काठमाडौंमा गएका थिए भने बाँकी विद्यार्थीले क्याम्पस प्रमुख बिनाको उहाँको कार्यकक्षमा धर्ना चैत १० गते पनि जारी राखेका थिए ।
विद्यार्थीको आन्दोलनका दिन लम्बिदै जाँदा क्याम्पस भित्रका कमजोर पक्ष पनि एक पछि अर्को गर्दै उजागर हुँदै आएका छन् । हिजो कोर्ष नसकिएको कारणले गर्दा समयमा परीक्षा हुन नसकेको भनिएको थियो । तर किन भन्ने खासै खुलेको थिएन । तर यतिबेला कोर्ष नसकिनुमा सो क्याम्पसका शिक्षकले पाउने पारिश्रमिक पुरा नपाएको कारणले कोर्ष सक्न बाधा परेको खुलेको छ । दैनिक दुई कक्षा पढाउने शिक्षकले पुरा पैसा नपाएको भन्दै एउटा कक्षा र एक सेक्सनलाई मात्र पढाउने गरेको हुँदा पनि समस्या बल्झिएको हो आन्दोलनरत विद्यार्थी प्रतिनिधि एवम् स्ववियु सदस्य प्रकृति पाण्डेले बताउनु भयो । उहाँका अनुसार केही साथीहरू डिन कार्यालयमा समस्या समाधानका लागि गएका छन् । उनीहरूलाई हामी सबैले २÷२ सय रुपैयाँ उठाएर गाडी रिजर्भ गराई पठाएको हौं ।
डिन कार्यालयमा जानेमा स्ववियूका सभापति आशिष पौडेलसमेत आन्दोलनरत विद्यार्थीको साथमा उहाँहरूको माग जायज भएको बताइरहनु भएको छ ।
यो बीचमा तीन दिनको विदा पनि हिजो १५ गते डिन डा. किशोर दाहालसँग आन्दोलनरत विद्यार्थीका बीच वैठक भएको थियो । उहाँले परीक्षा शुल्क वापतको २५ सय नलिने प्रवन्ध गर्ने तर त्यसका लागि तीन ओटा परीक्षामा पास भएको खाण्डमा भन्नु भयो ।
कक्षा नियमति सुचारु नभएको, कोर्ष नसकिएको समस्याको समाधानका लागि छानबिन समिति गठन गर्ने र दोषीलाई कारबाही गर्ने डिनले भन्नुभएको थियो । उहाँले चौथो सेमेष्टरको नतिजा आउनुअघि नै पाँचौं सेमेष्टरको quiz र curriculum सक्ने र अधूरो रहेको चौथो सेमेस्टरको curriculum पनि छिट्टै पूरा गरिने निष्कर्ष निकालनु भएको थियो । तर त्यस्तो गतिविधिका लागि विद्यार्थीहरूलाई मात्र पूर्ण दोषी भएको देखाएको कारणले सहमति हुन सकेन अर्को विद्यार्थी प्रतिनिधि अवसर अधिकारीले बताउनु भयो ।
यसैगरी, आज १६ गते हामी अनुगमन निर्देशनालयका कार्यकारी प्रमुख डा. याम बहादुर गुरुङसंग बस्यौं उहाँले विद्यार्थी माथि अन्याय भएको रहेछ regural मा परीक्षा हुन पर्छ भन्ने सकारात्मक कुरा गर्नु भयो । त्यसपछि हामी त्रिवि रजिष्टारसंग बस्यौँ त्यहाँ हामी डिन लगायत अन्य निकायसंग छलफल गर्छौं भन्नु भयो । हामी विना निष्कर्ष निस्कियौं अर्को विद्यार्थी प्रतिनिधि विवेक सिंहले बताउनु भयो ।
चैत १२ गते काठमाडौं डिन कार्यालयमा लमजुङबाट धाएको टोली काठमाडौंमा माग पुरा गराउन यता उता भौतारी रहेको छ । मागको सम्बोधन बिना नफर्कने अडानमा रहेको अर्का विद्यार्थी प्रतिनिधि अधिति ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँहरूले डिन कार्यालयबाट समस्या समाधान हुने नदेखेपछि त्योभन्दा माथिल्लो निकाय गुहार गर्दैछौं । उहाँले भन्नुभयो, ‘आज पनि हामी त्यो प्रयासमा रह्यौं, हामी सरकारका प्रतिनिधिहरूसँग आफ्ना कुरा राख्ने योजनामा छौं, भोलि शिक्षा मन्त्रालय जाने तयारी छ ।’
यस सम्बन्धमा क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठसँग सम्पर्क गर्दा यहाँले आफू नफर्केको जानकारी दिनुभयो । विद्यार्थीहरूको माग कता पुगेको छ ? भन्ने जिज्ञासामा त्यही समस्या समाधान भएपछि फर्कदा सहज हुने भन्ने लागेर बसेको हुँ भन्नुभयो । हिजो डिन कार्यालयमा कुरा मिल्यो, मिल्यो भन्ने भइसकेको थियो तर अन्तिममा उहाँ(विद्यार्थी)हरूले हुन्न भनेर उठ्नु भयो उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार आज फष्ट आवरमै आउन डिन सरले विद्यार्थीहरूलाई भन्नु भएको थियो, हामी १० बजेदेखिनै उहाँहरूको प्रतिक्षामा रह्यौं तर उहाँहरू आउनु भएन, पछि बुझ्दा उहाँहरू माथिल्लो निकाय खोज्दै हुनु हुन्छ भन्ने सुन्नमा आयो । उहाँले भन्नुभयो, ‘यी सबै घट्नाक्रममा प्रत्यक्ष म संलग्न छैन तर आफ्नो क्याम्पसको समस्या भएकोले अपडेट हुने प्रयासमा छु र मैले थाहा पाएको यही हो ।’
स्मरणीय छ, विद्यार्थीहरूले सुन्दरबजार महोत्सव तथा सुन्दरबजार कपमा १०/१० दिन र ल्होसारको समयमा तीन दिन गरी आफूहरूको २३ दिनसम्म पढाई डिस्टभ भएका कारणले कोर्ष नसकिएको र कोर्ष नसकिएकै कारणले समयमा परीक्षा दिन नसकेको बताउँदै आएका छन् । त्यसैले यस्तो कार्यक्रमका आयोजकहरूले अब वैकल्पिक स्थलको खोजी गर्नु पर्ने स्थिति सिर्जिएको छ ।
प्रकाशित मिति २०८२ चैत्र १६, सोमबार २२:०२ गते