पूर्वप्रधानाध्यापक भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

पूर्वप्रधानाध्यापक भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २१ गते आईतबार ०७:५३

पोखरा, चैत २२ गते । समाजसेवी तथा नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष विजयराज भण्डारीले आफ्नो जन्मदिनका अवसरमा पोखरा-३०, खुदीस्थित त्रिभुवनशान्ति माध्यमिक विद्यालयमा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गरेका छन् । ट्रेड...

पोखरा, चैत २२ गते । समाजसेवी तथा नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष विजयराज भण्डारीले आफ्नो जन्मदिनका अवसरमा पोखरा-३०, खुदीस्थित त्रिभुवनशान्ति माध्यमिक विद्यालयमा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गरेका छन् ।

ट्रेड युनियन काङ्ग्रेस, कास्कीका समेत पूर्वअध्यक्ष भण्डारीले आफ्नो ६८ औँ जन्मदिनको अवसर पारेर शनिवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच श्रीमती सीता भण्डारीसँगै उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक सोमतकुमारी लामिछाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रेग्मीलाई हस्तान्तरण गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्य, वडा नम्बर ३० निवर्तमान वडाअध्यक्ष श्रीराम पोखरेल, शिक्षा सङ्घ, रूपाका अध्यक्ष चन्द्रमणि पौडेल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, नेपाली काङ्ग्रेस, वडा नम्बर ३० का सभापति ध्रुवराज न्यौपानेले भण्डारीको समाजसेवाको कार्यको प्रशंसा गरेका थिए । नेपाल शिक्षक महासङ्घ, कास्कीका निवर्तमान सचिव तथा शान्ति आधारभूत आविका प्रधानाध्यापक मनिराम कडेलले भण्डारीको परिचय प्रस्तुत गरेका थिए । उक्त अक्षयकोषबाट विद्यार्थीको हौसला बढाउनका लागि आवश्यकताअनुसार छात्रवृत्ति प्रदान गरिने भण्डारीले जानकारी दिए । हाल उनी जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष रहेका छन् ।

यसअगि भण्डारीले जनप्रकाश बहुमुखी क्याम्पसमा दुई लाख, सिर्जना बहिरा माविमा एक लाख, लक्ष्मी आदर्श माविमा एक लाख, रत्नशोभा माविमा एक लाख पचास हजार रुपियाँको अक्षयकोष स्थापन गरिसकेका छन् । उनले विभिन्न समयमा कास्कीका विद्यालयहरूमा विद्यार्थीका लागि पोसाक तथा शैक्षिक सामग्री वितरण गर्दै आएका छन् । आफूले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूको वास्तविक अवस्था प्रत्यक्ष देखेर आएको भन्दै भण्डारीले कुनै विद्यार्थी आर्थिक कारणले पढाइबाट बन्चित हुन नपरोस् भन्ने हेतुले सक्दो प्रयास गर्दै आएको बताए । उनी नवप्रभात माविका पूर्वप्रधानाध्यापकसमेत हुन् ।

प्रकाशित मिति २०८२ चैत्र २२, आईतवार १९:५३ गते
हजुरको प्रतिक्रिया